यसरी बन्दैछ धोबीखोला कोरिडोर

  |   फागुन ३०

यसरी बन्दैछ धोबीखोला कोरिडोर

एसके लामा

काठमाडौँ उपत्यकाको भित्री रिङरोड विकास गरी सवारी व्यवस्थापन तथा सहरी विकासका लागि धोबीखोला कोरिडोरको निर्माण भइरहेको छ । यसको विकास निर्माणको काम धोबीखोला कोरिडोर सुधार आयोजनाले गरिरहेको छ ।

काठमाडौँ महानगरपालिका लगायत उपत्यकामा बढ्दै गइरहेको शहरी विकास सँगसँगै बढ्दो सवारी चापलाई व्यवस्थित गर्न यस कोरिडोरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जानकारहरु बताउँछन् ।

विकास समितिकी सदस्य सीता घिमिरे ओली लगायत अन्य सदस्यहरुले पनि उपत्यकाको सवारी चाप अत्यधिक रहेको भन्दै यसको व्यवस्थापन गर्न यस्ता कोरिडोरको चाँडोभन्दा चाँडो विकास गर्नका लागि आवाज उठाउँदै आएका छन् ।

त्यस्तै गरी, धोबीखोलामा हाल भइरहेको खोलाको अनियन्त्रित अतिक्रमण र बस्ती विस्तारलाई व्यवस्थित गरी वातावरणीय सुधार गर्ने ध्येय रहे पनि निर्माणको काम भने धिमा गतिमा अघि बढी रहेको छ ।

यस कोरिडोर निर्माणको कामले १३ वर्ष वितिसके पनि काम भने सन्तोषजनक देखिँदैन । आयोजनाले दिएको जानकारीअनुसार हालसम्म समग्र आयोजनाकै कामको प्रगति ४० प्रतिशत सकिएको छ भने यस आर्थिक वर्षमा गर्नुपर्ने काम भने ५५ प्रतिशत सम्पन्न भइसकेको छ ।

यसको निर्माण कार्य २०५९ सालदेखि नै थालिएको थियो । तर आर्थिक वर्ष २०६७/०६८ देखि मात्रै निर्माणको कामले केही गति लिन थाल्यो । काम उही कछुवाकै गतिमा हिँडिरह्यो ।


समयमै बजेटको अभाव, स्थानीयको अवरोध, अन्तरनिकायबीच समन्वयको अभावलगायतले गर्दा यस कोरिडोरको निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख दीपक श्रेष्ठले बताए ।

जापानी सहयोगी संस्था जाइकाकोे सन् १९९३ को अध्ययन प्रतिवेदन अनुसार भित्री रिङरोडको पूर्वतर्फको अंशको रुपमा धोबीखोला कोरिडोर सुधार आयोजनालाई प्रस्ताव गरिएको थियो ।

कपन भँगाल पुलसम्म–चावहिलको बैजनी पुलसम्म–खैरो पुल (बाग्मती दोभान) सम्म खोलाको दुवैतर्फ गरी जम्मा १९ किमि कोरिडोरको सडकखण्ड बन्नेछ । त्यसतै यस कोरिडोरको निर्माण कार्य आर्थिक वर्ष २०७५/०७६ सम्म सम्पन्न गरिसक्ने जनाएको छ ।

धोबीखोला कोरिडोरको इतिहास

तत्कालीन काठमाडौँ उपत्यका नगरविकास समितिले धोबीखोला कोरिडोर सुधार आयोजना व्यवस्थापन उपसमिति गठन गरी यस कोरिडोरको निर्माण कार्यका लागि काठमाडौँ महानगरपालिकालाई जिम्मा दियो ।

महानगरले आफूले निर्माण गर्ने भन्दै त्यस ताका समितिसँग माग राखेको थियो । २०५९ वैशाख १७ देखि महानगरले यस आयोजनालाई सञ्चालनमा ल्यायो ।


करिब ६ वर्ष सञ्चालन गरेपछि पूर्वाधार विकासका लागि बजेट अभाव जस्ता कारणहरु देखापर्न गई महानगरबाट कार्य हुन नसकेपछि पुनः २०६४ पुस २ देखि तत्कालीन काठमाडौँ उपत्यका नगर विकास समितिबाट नै आयोजनाको कार्य सञ्चालन हुन थाल्यो ।

काठमाडौँ उपत्यका नगरविकास समिति, काठमाडौँ उपत्यका विकास प्राधिकरणमा परिणत भएपछि यो आयोजना सहरी विकास मन्त्रालय अन्तर्गत रहेर सञ्चालित छ ।

धोबीखोला कोरिडोर निर्माण गर्नुको उद्देश्यः

१) काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको मध्य शहरी भागको उत्तर दक्षिण लिङ्क रोड तयार गर्ने ।

२) नदीका दुवै किनारामा सडक निर्माणपश्चात सहरको भित्री भागको यातायात व्यवस्थापनमा सुधार गर्नेे ।

३) नदीको अतिक्रमणमा रोकथाम तथा नदी नियन्त्रण गर्ने ।

४) धोबीखोलाको प्रदूषित वातावरणमा सुधार गरी सहरी सौन्दर्यतामा वृद्धि गर्ने ।

५) नदीको दुवैतर्फ व्यवस्थित व्यापारिक तथा अवासीय क्षेत्रको विकास गरी स्थानीय उपभोक्ताहरुको सामाजिक तथा आर्थिक व्यवसाय वृद्धि हुन जाने ।

६) स्थानीय उपभोक्ताहरुलाई समेत सहभागी बनाई सम्बन्धित क्षेत्रको संरक्षण स्थानीयलाई नै जिम्मा लगाउने ।

आयोजनाको कार्य क्षेत्रः

पहिलो चरणः
यस आयोजनाको क्षेत्र उत्तरमा वैजनी पुल (चावहिल) देखि दक्षिणमा खैरोपुल (वाग्मती दोभान) सम्म खोलाको दायाँ बायाँ दुवै तर्फ ५.५ कि.मि. गरी जम्मा ११ कि.मि. लम्बाइ रहेको छ ।
का.म.न.पा वडा नं. ४, ५, ७, ९, १०, ११, ३२ र ३३ गरी जम्मा ८ वडा यस आयोजना क्षेत्रमा पर्दछन् । उक्त क्षेत्रमा खोलाको चौडाइ १२, १४ र १७ मि.सम्म र पुलको छेउमा विद्यमान खोलाको चौडाइ नै कायम गरिनुका साथै खोला किनारबाट दुवैतर्फ ९/९ मिटर कोरिडोरसमेत निर्माण गरिएको ।

दोस्रो चरणः

आर्थिक वर्ष ०७१/७२ देखि धोबीखोला कोरिडोर सुधार आयोजनाको क्षेत्र उत्तरमा कपन भँगाल पुलदेखि दक्षिणमा बैजनी पुल चावहिलसम्म विस्तार गरिएको छ ।
दोस्रो चरणको आयोजना क्षेत्र उत्तरमा कपन भँगाल पुलदेखि दक्षिणमा बैजनी पुलसम्म धोबीखोलाको दायाँबायाँ दुबै तर्फ ४/४ गरी जम्मा ८ किमि लम्बाई रहेको छ ।
महानगरको वडा नं. ४, ७ र बूढानीलकण्ठ नगरपालिकाको वडा नं. ९, १०, ११ र १२ आयोजनामा समेटिएका छन् । उक्त क्षेत्रमा खोलाको चौडाइ १२ र १० मि. सम्म र पुलको छेउमा विद्यमान खोलाको चौडाइ नै कायम गरिनुका साथै खोला किनारबाट दुवैतर्फ ९/९ मिटर कोरिडोर ट्रयाक खोल्न कार्यसमेत गरिएको ।

तेस्रो चरणको सम्भाव्यता अध्ययन गर्दै

आयोजनाले आफ्नो तेस्रो चरणको कामका लागि सम्भाव्यता अध्ययन गर्न गृहकार्य थालेको छ । जसअनुरुप यस आयोजनाको कार्य क्षेत्र दक्षिणमा कपन भँगाल पुलदेखि करिब २.७ कि.मि. उत्तरतपर्m राम मन्दिर क्षेत्रसम्म विस्तार गर्ने लक्ष्य रहेको छ । सम्भाव्यता अध्ययन गर्न परामर्श कार्य भइरहेको छ ।

आयोजनाको आर्थिक अवस्थाः
यस आयोजनामा योजना सञ्चालनका लागि द्विपक्षीय लगानी नीति अपनाइएको छ । आयोजना क्षेत्रमा निर्माण हुने पूर्वाधारका कार्यहरुमा नेपाल सरकारबाट लगानी भइरहेको छ ।

हालसम्म यस आयोजनाले ३५ करोड निकासी गरेर २० करोड खर्च गरिसकेको छ भने आयोजनालाई वार्षिक ६० करोड आवश्यक रहेको आयोजना प्रमुख दीपक श्रेष्ठले जानकारी दिए ।

आयोजना क्षेत्रभित्र पर्ने धोबीखोलाको दुवैतर्फ ९।९ मिटर सडक र खोला चौडा गर्दा खोलामा परेको आवश्यक जग्गाहरु सम्बन्धित उपभोक्ताहरुबाट योगदान भइरहेको आयोजनाले जनाएको छ ।

आयोजनाको प्रगति विवरणः

पहिलो चरण अन्तर्गतको खैरोपुल (बाग्मती दोभान) देखि वैजनी पुल (चावहिल रिङरोड) सम्म

–वैजनी पुल (चावहिल रिङरोड) देखि खैरोपुल (वाग्मती दोभान) सम्म खोलाको दुवैतर्फ ५.५/५.५ गरी जम्मा ११ कि.मि. लम्बाइको ९ मिटर चौडा सडक ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ ।

–९ कि.मि. फुटपाथ निर्माण कार्य सम्पन्न भएको छ ।

–८ कि.मि. रेलिङ निर्माण कार्य सम्पन्न भएको छ ।

–७ कि.मि. सडक कालोपत्रे गर्ने कार्यको बोलपत्र आह्वान गरी निर्माण कार्य सुरु हुने अवस्थामा रहेको छ । यसका लागि कान्छाराम–सामानान्तर–कमलजी जेभी निर्माण कम्पनीले कालोपत्रे गर्ने ठेक्का पाएको छ ।

दोस्रो चरणअन्तर्गतको वैजनी पुलदेखि कपन भँगाल पुलसम्म

–वैजनी पुलदेखि कपन भँगाल पुलसम्म खोलाको दुवैतर्फ ४.०/४.० गरी जम्मा ८ कि.मि. लम्बाइको ९ मिटर चौडा सडक ट्रयाक खोल्ने कार्य ८० प्रतिशत काम सम्पन्न भएको छ । ‘
–वैजनी पुलदेखि कपन भँगाल पुलसम्मको क्षेत्रमा (दुवैतर्फ) ९५ प्रतिशत नदी नियन्त्रणको कार्य सम्पन्न भएको छ । यस सडक खण्डमा भने धर्मया–गौरिगणेश र जावबाला जेभीले काम गरिरहेको छ ।

–चोक तथा मोड सुधारतर्फ हरियो पुल (बिजुली बजार पुल), सिम्रिक पुल (हनुमानस्थान), सेतोपुल, रातोपुल, कालोपुल र पहेंलो पुल (भत्केको पुल) मा मोड सुधारका लागि ५.६२ रोपनी जग्गा अधिग्रहण गरी मोड सुधारको कार्य सम्पन्न भएको छ ।

–खैरो पुलदेखि वैजनी पुलसम्मको विभिन्न स्थानमा वातावरणीय सुधार गर्ने कार्यको लागि रुख बिरुवा रोप्ने कार्य गरिएको छ ।

यो पनि पढ्नुहोस्

रुपन्देहीका ठूला पूर्वाधारमा झन्डै ४० अर्बको बजेट

भैरहवामा यसरी बन्दै छ, मुलुकको सबैभन्दा ठूलो विमानस्थल

लुम्बिनी अञ्चलका यी हुन् ठूला पाँच सडक आयोजना

अब यस्तो बन्नेछ बागमती !

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल