काठमाडौं महानगरपालिका पूर्वकार्यकारी प्रमुख रुद्रसिंह तामाङले परिकल्पना गरेको काठमाडौं

दीपेन्द्र राई

काठमाडौं महानगरपालिका पूर्वकार्यकारी प्रमुख रुद्रसिंह तामाङले परिकल्पना गरेको काठमाडौं

इच्छाशक्ति भयो भने एक व्यक्तिले समेत धेरै काम गर्न सक्दारहेछन् भनेर काठमाडौं महानगरपालिका पूर्वकार्यकारी प्रमुख रुद्रसिंह तामाङले प्रमाणित गरिदिएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सहसचिवसमेत रहेका तामाङले महानगरपालिकामा २१ महिना रहँदा ५० बढी काम एकसाथ थालेका थिए । कतिपय काम उनी महानगरपालिकामै रहँदा पूरा गरे लगाए भने कतिपय कार्यान्वयन प्रक्रियामा छन् ।

काठमाडौंलाई अन्तर्राष्ट्रियस्तरमा नमुना बनाउन उनले थालेको काम सराहनीयमात्रै होइन त्यत्तिकै प्रशंसनीय छ । यस्तो छ– काठमाडौं महानगरपालिका पूर्वकार्यकारी प्रमुख रुद्रसिंह तामाङले परिकल्पना गरेको काठमाडौं ।


साना विस्थापित, ठूला स्थापित

काठमाडौंमा ठूलाभन्दा साना सवारीसाधन अत्यधिक गुड्ने गर्छन् । ट्राफिक व्यवस्थापनमा समस्या देखिएपछि सानालाई विस्थापित गरेर ठूला सवारीसाधन स्थापित गर्नुपर्छ भन्ने मान्यतासहित रुद्रसिंह तामाङ काठमाडौं महानगरपालिका कार्यकारी प्रमुख रहँदा महानगरपालिकाले साझाबसमा पहिलोपटक १० करोड रुपैयाँ लगानी गरेको थियो । महानगरपालिकाले पछि पाँच करोड थपिसकेको छ । सानालाई विस्थापित गरेर ठूला सवारीसाधन स्थापित गर्दा ट्राफिक व्यवस्थापन चुस्त हुनुका सडक रहरलाग्दो देखिन्छ ।

‘सरकारले साझाबसमा लगानी गरेपछि साझाबसभन्दा स्तरीय सेवा दिने भन्दै चार/पाँच बस कम्पनीले महानगरपालिकासँग सहकार्यका लागि प्रस्ताव राखेको थियो,’ तामाङले सुनाए, ‘सरकारले बाटो देखाइदियो भनेमात्रै काम गर्न चाहने निजी क्षेत्र सरकारसँग जोडिन चाहने रहेछन् ।’

चौडा सडक

काठमाडौंको सडकको क्षेत्रफलभन्दा सवारीसाधन चाप बढी छ । अस्तव्यस्त काठमाडौंलाई व्यवस्थित गर्न सडक क्षेत्रफल बढाउनुको विकल्प छैन । चौडा सडकमा सवारीसाधन सहज तरिकाले गुड्नुका साथै ट्राफिक व्यवस्थापनका लागि सहज हुन्छ । आफू महानगरपालिका रहँदा तामाङले त्यो काम अघि बढाएका थिए ।

अर्थ मन्त्रालयले कामनपालाई एक अर्ब रुपैयाँबराबर खर्च गर्नेगरी सहमति दिएको छ । उल्लिखित रुपैयाँ सडक विस्तारका लागि खर्चिने हो भने काठमाडौंको सडक विस्तार गर्न महानगरपालिकाले अरूसँग हारगुहार माग्नै पर्दैन । इतिहासमा स्थानीय तहको कुनै निकायले त्यति धेरै बजेट पाएको थिएन । उनले प्रस्ट्याए, ‘मैले काम गर्ने सेड्युलसहित फ्रेमवर्क पेस गरेपछि अर्थ मन्त्रालय सकारात्मक भएको हो । महानगरपालिकाको नयाँ टिमले सडक विस्तार काम अघि बढाओस् भन्ने मेरो चाहना छ ।’

फोहोरबाटै बिजुलीबत्ती

नेपालमा पहिलोपटक फोहोरबाट बत्ती बालिएको छ । फोहोरबाट बिजुली बाल्ने भनेर प्रचार/प्रसार नभएका होइनन् । फोहोरलाई मोहर बनाउन सकिन्छ भन्नेको कमी थिएन/छैन । व्यवहारमा लागू गर्ने कोही भएनन् । रुद्रसिंह तामाङ कामनपा कार्यकारी प्रमुख बनेपछि फोहोरबाट बत्ती बाल्ने काम सम्पन्न भयो ।

युरोपियन युनियनको सहयोगमा ‘पाइलट प्रोजेक्ट’ बनाएर मोडलका रूपमा टेकुमा राख्ने र फोहोर व्यवस्थापनसम्बन्धी मानिस पुगेर हेर्न मिल्नेगरी १४ किलोवाटबराबरको बत्ती बाल्ने गरिन्छ । कुहिने फोहोर टेकुमा राखिन्छ, मिसिनले डाइजेस्टरमा ग्यास बनाउँछ, ग्यास फर्मेसन भएर बत्ती बल्छ ।

अन्तर्राष्ट्रियस्तरको बसपार्क

काठमाडौंको बालाजुमा रहेको नयाँ बसपार्कको स्वरूप क्रमशः बदलिँदै छ । पाँच महिनाअघि र पछिको नयाँबसपार्कको स्वरूपमा आकाश÷पाताल फरक देखिन्छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आफ्नै कार्यकक्षमा सहसचिव तामाङ उत्साहित भए, ‘वर्ष दिनपछि झन् फरक देख्नुहुनेछ । नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाइनेछ । काम जारी छ ।’

सुविधासम्पन्न पार्किङस्थल

काठमाडौंकामा पार्किङ समस्या नयाँ होइन । समस्या दृष्टिगत गर्दै खुलामञ्चमा ‘अन्डरग्राउन्ड पार्किङ’ बनाइनेछ । ठमेलको ट्राफिक व्यवस्थापनका लागि लैनचौर र न्युरोडका लागि धर्मपथमा पार्किङस्थल बनाउने प्रक्रिया थालिएको छ । गोरखा भूकम्पले पाठ पढाउँदै नयाँ काम गर्ने आधार बनाइदिएको थियो ।

स्टील स्ट्रक्चर बिल्डिङ

संवत् २०४५ मा उदयपुरको मुर्कचीलाई केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा काठमाडौंपूर्वमा ठूलै क्षति पुगेको थियो । भूकम्प जानुअघिका काठमाडौंका घर ‘लोड बेयरिङ सिष्टम’ मा बनेका थिए । भूकम्पपछि ‘पिलर सिष्टम’ मा घर बनेका हुन् ।
गोरखा भूकम्पपछि स्टील स्ट्रक्चर सिष्टममा भवन निर्माण थाल्न इन्टरनेसनल बिडिङ प्रक्रियामा छ । खालि इँटाको वालबाट बनेका घरभन्दा स्टील स्ट्रक्चर सिष्टमबाट निर्मित घर त्यत्तिकै सुन्दर र बलिया हुन्छन् ।


फोहोरमैला दिगो व्यवस्थापन

काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन चुनौतीका रूपमा रहेको छ । चुनौतीबीच समाधान खोज्नुको मज्जा अरूसँग तुलना गर्नै सकिँदैन । फोहोरमैला दिगो व्यवस्थापनका लागि महानगरपालिका कार्यकारी प्रमुख रहँदा तामाङले लगानी बोर्डमार्फत काम अघि बढाएका थिए । उनी महानगरपालिकामा रहँदा सडकमा एक दिन पनि फोहोर रहेन ।

दमकल व्यवस्थापन

न्युरोडबाहेक काठमाडौंको अन्य ठाउँमा दमकल राख्ने व्यवस्था छैन । पहिलोपटक सर्वसाधारणको पहलमा उनीहरूलाई नै सहभागी गराएर बौद्धको रामहिटीमा दमकल स्थानान्तरण प्रक्रिया सुरु भइसकेको छ ।

विनाखर्च काठमाडौंमा उज्यालो

सरकारको आफ्नै नीति तथा कार्यक्रममार्फत तीन हजार सडक बत्ती बाल्न लागेकोमा दुई हजारजति ‘इन्स्टल’ भइसकेको छ । निजी क्षेत्रले अर्को पीपीपी मोडलमा काठमाडौंको मुख्य÷मुख्य सडकमा एक हजार दुई सय ४५ सौर्यबत्ती जडान गर्दै छ । सौर्यबत्ती बाल्न सरकारको एक पैसा खर्च हुँदैन । उल्टै एक करोडभन्दा बढी राजस्व संकलन हुनेछ ।

स्मार्ट ट्राफिक पोस्ट

ट्राफिक सुरक्षा र सहरी सुन्दरताका लागि निजी÷सार्वजनिक साझेदारीमा काठमाडौंका प्रमुख चोक/चोकका पुराना हटाएर स्मार्ट ट्राफिक पोस्ट राखिएका छन् । पोस्ट राख्नेक्रम जारी छ । पहिले सिमेन्टको फाउन्डेसन र टिनको छानो रहेकोमा अहिले गोलो आकारको स्टीलको पोस्टमा पानी र कपडा राख्ने बाकस र प्राथमिक स्वास्थ्य उपचार सामग्री राख्ने सकिन्छ ।

स्मार्ट इलेक्ट्रिक डस्टबिन

सुन्दरता बढाउन दुई महिनाभित्रै सिंहदरबारमा सोलारजडित इलेक्ट्रिक स्मार्ट डस्टबिन राखिँदै छन् । कामनपा कार्यकारी प्रमुख रहँदा रुद्रसिंह तामाङले यो कामसमेत गर्न भ्याए ।

आकर्षक बस बिसौनी

पछिल्लो समय काठमाडौंका विभिन्न ठाउँमा आकर्षक बस बिसौनी देखिन्छन् । कतिपय ठाउँमा बन्दै छन् । त्यसले सडकको सुन्दरता बढाएको छ । यो कामको जस तामाङलाई नै जान्छ । बस बिसौनी निर्माणका लागि सरकारले एक रुपैयाँ खर्च गर्न परेको छैन ।

२२ हजार कुकुर व्यवस्थापनमा ४ करोड

काठमाडौं उपत्यकामा २२ हजार रैथाने कुकुर छन् । त्यसलाई व्यवस्थापन गर्न सिंहदरबारलाई कुकुर व्यवस्थित क्षेत्र भनेर पहिलोपटक घोषणा गरिएको थियो । परिवारनियोजन गरेर १० वर्षभित्रमा संख्या कुकुरको घटाउँदै लैजाने लक्ष्य रहेको छ ।

ती कुकुरले टोके पनि रेबिज भ्याक्सिन लगाउन नपर्ने व्यवस्था मिलाइएको छ । ह्युमन सोसाइटी इन्टरनेसनल नामक अन्तर्राष्ट्रिय संस्थाले तीन करोड र कामनपाको १ करोड लगानीमा कुकुर व्यवस्थापनका लागि परियोजना तयार पारी काम सुरु भइसकेको छ ।


काठमाडौंमा रेल

काठमाडौंलाई अन्तर्राष्ट्रिय तहमा चिनाउने काठमाडौं महानरपालिका कार्यकारी प्रमुख रहँदा तामाङले थुप्रै काम गरेका छन् । चिनियाँ सरकारले काठमाडौं–लान्जो–सिगात्से लक्षित गरेर रेल्वे सेवा थाल्ने भएपछि उनले नेपालको तर्फबाट ‘अफिसियल’ उद्घाटन गरेका थिए ।

‘इतिहासमा कुन दिन काठमाडौंमा रेल गुड्छ, गुडेको दिन सबैभन्दा खुसी म हुनेछु । चीन पुगेर उद्घाटन गर्दा नेपालको तर्फबाट मेरो हातले बटन थिचेको छ,’ उनले खुसी व्यक्त गरे, ‘जीवनमा काठमाडौंमा रेल गुडेको हेर्ने रहर छ । त्योसँग मेरो सेन्टिमेन्ट गाँसिएको छ ।’

खाल्डाखुल्डीरहित सडक

काठमाडौंको सडकमा खाल्डाखुल्डी नभएको ठाउँ नै छैन । खाल्डाखुल्डीले सडकको सुन्दरतामात्रै बिगारेको छैन, चालक र यात्रुलाई समस्या पारेको छ । सडकको सुन्दरता नै बिगार्नेगरी परेका खाल्डाखुल्डी काठमाडौं महानगरपालिका र सडक विभागले तुरुन्तै टाल्ने समझदारी भएको छ । काम कार्यान्वयनमा ल्याउने बेला तामाङ महानगरपालिकाबाट मन्त्रालय फर्केका छन् । उनी मन्त्रालय फर्के पनि काम हुनेमा विश्वस्त छन् । देखिन थालेपछि यो काम पनि रहरलाग्दो देखिन्छ ।

रत्नपार्कमा निःशुल्क वाइफाइ

काठमाडौंको रत्नपार्कमा निःशुल्क वाइफाइ व्यवस्था गर्ने परिकल्पना तामाङले नै गरेका हुन् । सुन्दा सामान्य लागे पनि त्यही कामले ‘पब्लिक’ हेर्ने सरकारको दृष्टि थाहा पाउन सकिन्छ ।

बालाजुमा रहेको पार्कमा समेत निःशुल्क वाइफाइ सेवा सुरु हुन लागेको छ । साइबरको एउटा कोठामा दुई÷तीन घन्टा बस्नुभन्दा वाइफाइ चलाउँदै पार्कमा बस्नुको मज्जा प्रयोगकर्तालाई मात्रै थाहा हुनेछ ।

मसानघाट सुधार

महानगरपालिकामा रहँदा कसैले ध्यान नदिएको काममा रुद्रसिंह तामाङको आँखा पथ्र्यो । काठमाडौंमा रहेका मसानघाटका जग्गा दिनप्रतिदित कब्जा गरिँदै छ । कब्जा गरिएको जग्गामा घर ठड्याइएका छन् । त्यसबारे धेरैलाई थाहा छैन । तर, उनले पहिले/पहिलेको मसानघाटको लगत लिँदै जग्गा फिर्ता गराएर मसानघाट जोगाउने प्रयत्न गरेका थिए ।

मेट्रोपोलिटन इमर्जेन्सी अपरेसन सेन्टर

युएसआईडी र विभिन्न संघ/संस्थासँग मिलेर ‘मेट्रोपोलिटन इमर्जेन्सी अपरेसन सेन्टर’ निर्माण गरिएको छ । आपतकालीन अवस्थामा कहीं न कहींबाट नेतृत्व त गर्नुपर्छ । नेपाल सरकारअन्तर्गत गृह मन्त्रालयले मात्रै गर्ने होइन, भोलिका दिनमा स्थानीय तह आइसकेपछि ‘मेट्रापोलिटन गभर्नेन्ट’ पनि बलशाली हुनुपर्यो । राष्ट्रिय सभागृहमा रहेको इमर्जेन्सी अपरेसन सेन्टरले ‘फङ्सनिङ’ गर्दै छ । केही जनशक्ति तालिम लिएर फर्कंदै छन् भने केही तालिमका लागि जाँदै पनि छन् ।

राष्ट्रिय आपतकालीन उद्धार केन्द्रजस्तै नगरपालिकास्तरमा मेट्रोपोलिटन इमर्जेन्सी अपरेसन सेन्टर निर्माण गर्दा राष्ट्रिय आपतकालीन उद्धार केन्द्र ध्वस्त भयो भने ‘मेट्रोपोलिटन इमर्जेन्सी अपरेसन सेन्टर’ त रहन्छ ।

मोबाइल एप्स

आफू महानगरपालिकाम रहँदा कार्यकारी प्रमुख तामाङले काठमाडौं मेट्रो मोबाइल एप्स सुरु गरे । एप्ले स्थानीय तह अधिकारबारे जान्न सेवाग्राहीलाई सघाउ पुर्याउँछ ।

काठमाडौंमा स्काइ रेल

काठमाडौं महानगरपालिकाबाट बिदा हुने समयमा तामाङले काठमाडौंमा स्काइ रेलसम्बन्धी अध्ययन थालेका थिए । रिपोर्ट केही समयमै आउँदै छ ।

मेयरलाई सजिलो

६ दशकपहिले स्थापित स्थानीय निकाय स्थानीय तहमा परिणत भएको छ । स्थानीय तहको निर्वाचनपछि कामठमाडौं महानगरपालिकाले मेयर पाउनेछ । तामाङले भविष्यका मेयरलाई काम गर्न सजिलो बनाइदिएका छन् । तामाङले यति धेरै काम थाले पनि कतिपय पूरा गरेर मन्त्रालय फिर्ता भए भने कतिपय कार्यान्वय तह र कतिपय कामै थालिएको छैन । भविष्यका मेयरले तामाङले थालेको कामलाई प्राथमिकतासाथ अघि बढाए भनेमात्रै पनि उनको कार्यकाल उदाहरणीय र सफल बन्नेछ । काम गर्ने इच्छाशक्तिचाहिँ हुनुपर्यो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल