क्यान्सर रोगीको सेवामा समर्पित गायिका

-  |   दीपेन्द्र राई

क्यान्सर रोगीको सेवामा समर्पित गायिका

सस्तो लोकप्रियता मन पर्दैन । गरेको कामको प्रचार÷प्रसार गरिरहनुपर्छ भन्ने पनि लाग्दैन । गर्नेले गरिरहेकै छन् । उनी भने कामलाई पूजा गर्छिन् । कर्ममा अद्भुत विश्वास छ । १७ वर्षदेखिको संगीतकर्मले पूजा गुरुङको परिचय गायिका भनेर थपिएको छ ।

गायिका गुरुङले समाजसेवीका रूपमा समेत आफ्नो परिचय फराकिलो बनाउँदै लगेकी छन् । संस्था खोलेर समाजसेवामा लाग्नेको ‘क्याराभान’ देखिन्छ । उनको समाजसेवा गर्ने आफ्नै शैली र मान्यता छ । भनिन्, ‘सामाजिक काम गर्न संस्था खोलेकी छैन । तर पनि गरिरहेकी छु ।’

काठमाडौंको लाजिम्पाटमा रहेको मितिनी क्याफेमा कुराकानी चलिरहँदा उनी एकाएक भावुक भनिन् । उनले थुप्रैलाई सहयोग गरेकी छन् । सबैको नाम सम्झन गाह्रै हुन्छ । नाम बिर्से पनि ओखलढुंगीकी एक दिदी सम्झेर उनी भावुक बनेकी थिइन् । अतीत सुनाइन्, ‘ओखलढुंगाकी दिदी घरबाट लडेछिन् । लड्दा आगोमा परिन् । उपचारक्रममा दुवै हात काट्नुपर्यो । सहोदर भाइले उपचारका लागि दिदीलाई वीर अस्पताल पुर्याएर छाडिदिएछन् । अविवाहित दिदीको अवस्था देखेर समय/समयमा अस्पताल पुगेर नुहाइदिन्थें । कहिलेकाहीं घरबाटै खाना लगिदिन्थें । ती दिदी अहिले कहाँ होलिन् । सम्झनामा आइरहन्छिन् ।’


ब्ल्याक कफी सुरुप्प पार्दै गुरुङले परशुराम खड्काको नाम लिइन् । खड्का हिजोआज पनि वीर अस्पतालअघि सडकमा बस्छन् । तालाबाङ–९ रोल्पानिवासी उनको देब्रेखुट्टा हात्तीको पाइलाजस्तै देखिन्छ । त्यही हात्तीपाइले खुट्टो देखाएर उनले जीविकोपार्जन गर्दै आएका छन् । दुई दिन परशुराम खड्काको पीडा बोलेर सहयोग संकलन गरिन् । उनले खुसी व्यक्त गरिन्, ‘पहिलो दिन झन्डै चार हजार रुपैयाँ संकलन गरेकी थिएँ । दोस्रो दिन त्यस्तै आठ सय संकलन गरेर उनको हातमा थमाउँदा कम्ती खुसी लागेको थिएन ।’

दोस्रोपटक कफी थपियो । कुराकानीक्रममा उनले अर्पणा निरौला, प्रियांशु नेपाली, कान्छा तामाङ र पूर्णबहादुर विकको नाम लिइन् । निरौला, नेपाली र तामाङ ब्लड क्यान्सर रोगी बालबालिका हुन् । निरौला, नेपाली, तामाङ र विक बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा भेटिएका हुन् । चारैजनाले गायिका गुरुङको सहयोग पाए । सहयोग पाएका कतिको ज्यान जोगियो । कतिको अहँ ।

समाजसेवी पूजा गुरुङ हिजोआज पनि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवन पुगिरहन्छिन् । उनकी सासुआमासमेत क्यान्सर रोगी हुन् । उनले सासुआमालाई उपचारका लागि अस्पताल पुर्याउँदा त्यहाँ उपचार गराइरहेका बिरामीलाई कहिले कपडा, कहिले खानेकुरा त कहिले फलफूल बाँड्न कन्जुस गर्दिनन् ।

गुरुङको सामाजिक काम देखेर डा. कृष्णसागर शर्माले भनेका थिए, ‘पूजाजी तपाईंले त्यस्तो बिरामीलाई मात्रै सहयोग गर्नुहोस्, जसको आउटपुट आओस् ।’ मनले मान्दैन । आउटपुट आए पनि नआए पनि उनले सहयोग गर्न छाडेकी छैनन् । अप्ठ्यारोमा परेका बिरामीलाई केमोमात्रै होइन, रगत उपलब्ध गराउँदा खल्ती रित्तो भए पनि गुनासो छैन । आफूले गरेको सहयोग पाएर अप्ठ्यारोमा परेकाको हाँसो देख्दा उनलाई आनन्द लाग्नु स्वाभाविकै हो ।

उनको मुहारमा एकाएक उज्यालो पोतियो । कारण सोधें । भनिन्, ‘उनले गरेको याचना मैले बुझ्नै सकिनँ । उनी भित्री तराईको हुनुपर्छ । उनको बच्चाको मलद्वारमा ट्युमर भएको रहेछ । भरतपुर अस्पतालमा भेटिइन् । क्यान्सर अस्पतालमा उनको याचना कसले बुझ्ने । सबै आ/आफ्नै तनावमा हुन्छन् । मैले त्यही रोगी बच्चा बोकेर अस्पतालभरिकासँग सहयोग माग्दा तीन हजार पाँच सय संकलन भएको थियो । संकलित रुपैयाँ बोकेर ती महिला र बच्चालाई काठमाडौं पठाएँ । सुनें तिनको उपचार सफल भयो रे ।’

यसैगरी, उनले १० लाख रुपैयाँ सहयोग गरेर त्यतिबेला सहारा केयर हस्पिटलमा उपचार गराइरहेका मनबहादुर गुरुङलाई ठूलो गुन लगाएकी थिइन् । स्पाइनल इन्जुरी भएको गुरुङलाई सामाजिक सञ्जालबाट सहयोग आह्वान गरेर उल्लिखित रुपैयाँ संकलन गरेकी थिइन् । दुखेसो पोखिन्, ‘मैले आफूलाई जति माया गर्छु, त्योभन्दा धेरै माया गर्ने क्यान्सर रोगी प्यारो मान्छे क्यान्सर गुमाएकी छु ।’

उल्लिखित व्यक्ति प्रतिनिधि पात्रमात्रै हुन् । जसलाई गायिका तथा समाजसेवी गुरुङले सहयोग गरेकी थिइन् । कुराकानीक्रममै उनलाई श्रीमान्ले फोन गरे । पूजाले श्रीमान्लाई खानपानमा ध्यान दिने तरिका सुझाइन् । कुराकानी जोड्यौं । ३२ वर्षीया उनले गाउन थालेको १७ वर्ष पुगेछ । १५ टेक्दानटेक्दै गाउने थालेकी उनको १७ वर्षे अवधिमा ‘आबेला’ नामक गीतिएल्बम सार्वजनिक भएको छ । ७० बढी गीत गाएकी उनलाई गीत गाएर खानुपर्छ भन्ने बाध्यता छैन । गायनमा व्यावसायिकता नखोजेकी उनले गीत÷संगीत र समाजसेवा गरेबापत पाएको इज्जतलाई अमूल्य सम्पत्ति ठानेकी छन् । छुट्टिनेबेला उनले भनिन्, ‘समाजसेवा र गीत÷संगीतबाट टाढा रहनै सक्दिनँ ।’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल