गोर्खाज आन्दोलन निर्णायक बनाउन गेसोले अघिसारेका दर्जन नयाँ योजना

गोर्खाज आन्दोलन निर्णायक बनाउन गेसोले अघिसारेका दर्जन नयाँ योजना

दीपेन्द्र राई

गोर्खा भूतपूर्व सैनिक संघले २०४७ देखि बेलायत सरकारविरुद्ध आन्दोलन गर्दै आएको छ । आन्दोलन जारी छ । आन्दोलन जारी रहेकै बेला संघको नेतृत्व परिवर्तन भएको छ । २७ वर्षसम्म पदमबहादुर गुरुङले सम्हालेको संघ तात्कालिक उपाध्यक्ष कृष्णकुमार राईले नेतृत्व गरेका छन् ।

२७ वर्षसम्म उपाध्यक्षको भूमिका निर्वाह गरेर नेतृत्वमा पुगेका राईले गोर्खाज आन्दोलनलाई निर्णायक बनाउन दर्जन मुद्दा अघि सारेका छन् । गेसोले थालेको आन्दोलनले आवासीय र ‘एडल्ट चाइल्ड’ मुद्दा किनारा लागेको छ । पेन्सनमा केही हदसम्म सुनुवाइ भएको थियो । उसले विश्वमान्यताअनुसार समान ज्याला माग गर्दै आए पनि सुनुवाइ भएको छैन । गोर्खा आन्दोलनलाई निर्णायक बनाउन गेसो सभापति कृष्णकुमार राई अघिसारेका दर्जन नयाँ योजनाबारे रातोपाटीले बुझ्ने प्रयास गरेको छ :

 
अन्तर्राष्ट्रियकरण गरिँदै गोर्खा आन्दोलन
विभिन्न संघ/संगठनका नामबाट लाहुरेका हक/हितका लागि आन्दोलन जारी छ । त्यसमध्येकै गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) पनि एक हो । उसले लाहुरे समुदायलाई जागरुक बनाउँदै थालेका आन्दोलनबाट थुप्रै उपलब्धि हात लागेको छ । त्यतिले मात्रै, लाहुरे समुदायको माग सम्बोधन भएको छैन । अधिकार मागेर होइन, खोसेर लिनुपर्ने विश्वमान्यता भएकाले २७ वर्षदेखि जारी आन्दोलन अन्तर्राष्ट्रियस्तरमा सशक्त बनाइनेछ ।

गोर्खा आन्दोलन एकीकृत गरिँदै

गेसो स्थापना भएको २७ वर्ष भएको छ । पदमबहादुर गुरुङले २७ वर्षसम्म गेसोको नेतृत्व गरेका थिए । २७ वर्षपछि दोस्रो सभापतिका रूपमा तात्कालिक उपाध्यक्ष कृष्णकुमार राई नेतृत्वमा आएका छन् ।

‘मेरो नेतृत्वले गोर्खा आन्दोलन एकीकृत गर्नेछ,’ नवनिर्वाचित गेसो सभापति राईले भने, गर्दै जाँदा हिजो हामीबाट केही कमीकमजोरी भयो होला । त्यही भएर विभिन्न नाममा संस्था खोलेर आन्दोलित भयौं । छरिएरभन्दा एकीकृत भएर आन्दोलन गर्दा बलशाली हुन्छ । नयाँ नेतृत्वले यो काम प्राथमिकतामा राखेको छ ।’ चुनौतीपूर्ण रहे पनि गोर्खा आन्दोलन एकीकृत गर्न गेसोको नयाँ नेतृत्वले अवसरका रूपमा लिएको छ ।


पुनःजागरणको पक्षमा

संवत् २०४७ मा स्थापित गेसो विगत नौ÷दस वर्षयता निष्क्रियजस्तै रहेको थियो । बेलायत केन्द्रित आन्दोलन गरेकाले उसले नेपालमा त्यति धेरै गतिविधि गर्न सकेन । उसलाई बेलायत सरकारसँग लड्नु थियो । बेलायत पुगेका वृद्धवृद्धाको व्यवस्थित बसोबास गराउनु थियो । उनीहरूले पाउने सेवा÷सुविधा पाउने अवस्थामा पुर्याउनु थियो ।

तसर्थ, उसले नेपालमा गतिविधि गर्न सकेन । गेसो नवनिर्वाचित राई नेतृत्वले निष्क्रिय रहेको नेपालका गेसो गतिविधिलाई निरन्तरता दिन मेची/महाकालीसम्म संघ/संगठन गठन, पुनःगठन गर्दै हिँडेको छ । निष्क्रिय संघ/संगठनलाई जागरुक बनाउँदै सक्रिय बनाउने अभियान थालिसकेको छ ।

आफ्नो इतिहास आफैं लेख्न प्रशिक्षण

ब्रिटिस गोर्खाको इतिहास पराईले मात्रै लेखिदिएका छन् । जहाँ काम गर्दै आएका छन्, त्यहाँका गोरा साहेबले मात्रै उनीहरूको इतिहास लेखिदिएका हुन् । राईले दाबी गरे, ‘गोर्खाजका इतिहास पुनःलेखन हामीले थाल्नेछौं । पराईले लेखिदिएको इतिहासमा गोर्खाजका अँध्यारो पाटोमात्रै उजागर गरिएको छ । गोर्खाजलाई युद्धपिपासुमात्रै होइन उनीहरूलाई मार्न र मर्न तयार हुने भनेर आरोप लगाइएको छ । तर, हाम्रा उज्याला पाटो पनि त छन् नि ।’ त्यही उज्यालो पाटो समेटेर लाहुरेको इतिहास लाहुरे आफैंले लेख्न लागेका छन् ।

२००७ सालको क्रान्तिमात्रै होइन, त्यसयता मुलुकमा भएका राजनीतिक परिवर्तनका लागि गोर्खाजको योगदानलाई कम आँक्न मिल्दैन । उनीहरूले शैक्षिक परिवर्तनका लागि समेत अमूल्य योगदान गरेका छन् । पल्टनमा सिकेका सीप साटासाट गरेर मुलुककै हितमा सदुपयोग भएको छ । पराईले लेखेको इतिहासमा उल्लिखित काम लेखिँदैन लेखिएन । त्यसो भएपछि आफ्नो इतिहास पुनःलेखन गर्न आफैं लाग्नुको विकल्प छैन ।


इतिहास अभिलेखकरण गरिने

आफ्नो समुदायको हक/हितका लागि गेसोले थालेको आन्दोलनबाट थुप्रै सफलता हात लागेको छ । ती उपलब्धि अभिलेखीकरण गरिएन भने आउने पुस्ताले बिर्सनेछन् । त्यसो हुन नदिन इतिहास अभिलेखीकरण गर्नु अनिवार्य छ ।

लाहुरेले हात पारेका उपलब्धिले मुलुकलाई के÷कति फाइदा पुगेको छ, त्यसको लेखोजोखा गरिएन भने एउटा इतिहास मेटिनेटछ । लाहुरेले बीओडब्लुको मुद्दा जित्दा खर्बौं रकम नेपाल भित्रिएका छ । २००८ सेप्टेम्बर ३० को मुद्दा जित्दा भूपू वृद्धवृद्धा बेलायत पुगेका छन् । पेन्सन उनीहरूका आश्रितले नेपालमै थाप्छन् भने बेलायत पुगेका वृद्धवृद्धाले पेन्सन क्रेडिट बेनिफिट पाउँछन् । प्रत्येक वृद्धवृद्धाले मासिक ५०/६० हजार रुपैयाँ नेपाल पठाउन सक्छन् । हिजोआज पनि खर्बौं रुपैयाँ नेपाल भित्रेकै छ । तर, यो काम व्यवस्थित गर्न अभिलेखीकरण जरुरी छ । अभिलेखीकरण गरियो भने इतिहासमै दस्तावेजीकरण हुनेछ ।

गोर्खाजको तथ्यांकसम्बन्धमा

लाहुरेका सन्तान डाक्टर, इन्जिनियर, पाइलट छन् । अन्य विभिन्न क्षेत्रमा उच्च ओहोदामा पुग्न सफल छन् । कहाँ÷कहाँ र कति छन् भन्ने तथ्यांक छैन । गोर्खा भूपू सैनिक परिवार र तिनका सन्तान कुन÷कुन क्षेत्रमा के÷के गर्दै छन् भनेर पहिचान गर्न तथ्यांक संकलन गर्न आवश्यक छ । यो कामसमेत प्राथमिकतामा राखेर गर्न गेसो सभापति कृष्णकुमार राई प्रतिबद्ध छन् ।

लाहुरेका छोराछोरी जुन/जुन क्षेत्रमा सम्बद्ध भए पनि उनीहरूलाई देश विकासमा परिचालन गर्ने मान्यताले तथ्यांक संकलनमा जोड दिइएको राईले प्रस्ट्याए ।

छुटेका काम प्राथमिकतमा

गेसोले २७ वर्षे आन्दोलनमा गर्न छुटाएको काम पहिचान गरी थालिहाल्नेछ । उसले नचाहेरै पनि कतिपय काम गर्न सकेन । त्यसमाथि हिजो गेसो नेतृत्व गर्नेको आफ्नैखालको कार्यशैली र नेतृत्व गर्ने मान्यताले गर्नैपर्ने कामले प्राथमिकता पाएन । राईको नयाँ नेतृत्वले छुटेका काम पूरा गर्ने जिम्मेवारी पाएको छ ।


लाहुेरेका सन्तानलाई राजनीतिक प्रशिक्षण

लाहुरेका सन्तान राजनीतिक क्षेत्रमा कमै देखिन्छन् । ‘हाम्रा छोराछोरीलाई राजनीतिक प्रशिक्षण दिन्छौं,’ गेसो सभापति राईले सुनाए, ‘राजनीति किन गर्ने, गर्दा के फाइदा हुन्छ ? राजनीतिक रूपमा सशक्त भए के÷के गर्न सकिन्छ भनेर प्रशिक्षण दिने तयारी थालेका छौं ।’ राईका अनुसार गाउँदेखि केन्द्रसम्म राजनीतिक प्रशिक्षण अभियान थालिनेछ । उनको मान्यता छ, ‘जबसम्म हामी नेतृत्वमा पुग्दैनौं, तबसम्म निर्णायक कुरा हामीबाट हुँदैन । अरूले गरेको निर्णयले हाम्रो माग सम्बोधन सम्भव छैन । लाहुरेका छोराछोरीलाई निर्णायक तहमा पुर्याइयो भने मात्रै गोर्खाजका आवाज बुलन्द हुनेछन् ।’

मुलुककै समृद्धिका लागि

लाहुरेले विशेषगरी पहिलो, दोस्रो विश्वयुद्ध र अनेकौं क्षेत्रीय युद्ध लडे । त्यो लडाइँ कसका लागि थिए । नेपालका लागि पक्कै होइन । बेलायतका लागि थियो । विश्वशान्तिका लागि थियो । गोर्खाली अग्रपंक्तिमा नभएको भए सायद युद्ध अझै सकिने थिएन ।

त्यति ठूलो इतिहास बोकेका गोर्खालीले विश्वशान्तिका लागि योगदान पुर्याए । तर, अब भने आफ्नै मुलुक समृद्धिका लागि पनि केही न केही गर्ने दीर्घकालीन योजना बनाएको छ । मुलुकलाई विश्वमानचित्रमा समृद्ध र शक्तिशाली बनाउन लाहुरेको सीप, बुद्धिविवेकलगायत जे/जे छ, सबै प्रयोग गरेर लाहुरे समुदायलाई प्रोत्साहित प्रेरित गरिनेछ ।

शैक्षिक समृद्धिबारे

लाहुरेका सन्तान बेलायत, हङकङ, ब्रुनाई, सिंगापुर र भारतमा पढ्ने गर्छन् । उनीहरू जहाँ पढ्छन्, त्यहीं रहनुहुँदैन । आफ्नै मुलुक फर्केर मुलुकका निम्ति योगदान गर्नुपर्छ । लाहुरेका सन्तानले सिकेका सीप सही ढंगले सदुपयोग गर्न सकेनौं भने फेरि पनि अर्काकै देशका लागि हुन्छ ।

तसर्थ, ज/जसले आफूलाई जुन क्षेत्रमा सक्षम बनाएको छ, उसले मुलुकका लागि योगदान दिन, मुलुकलाई शैक्षिक रूपमा समृद्ध बनाउने गेसो नयाँ नेतृत्वले योजना बनाइसकेको छ । तयारी योजना चाँडै कार्यान्वयनमा ल्याइनेछ ।

व्यवस्थित बसोवास

लाहुरे समुदायको बसोबास क्षेत्र अव्यवस्थित छ । केही पैसा कमाइए पनि सही ढंगले सदुपयोग हुन सकेन । एक लाहुरे १२÷१५ वर्ष सेना वा कतै जागिर खाए पनि अनुत्पादक क्षेत्रमा लगानी गरेको देखिन्छ ।

लाहुरेका नयाँ पुस्तालाई उसले सिकेको सीप लाहुरे बस्तीमा प्रयोग गर्न प्रेरित गरिनेछ । जसले आफ्नो समुदायसहित मुलुकको व्यवस्थित बसोवास (घर बनाएरमात्रै व्यवस्थित बसोवास हुँदैन) का लागि अगुवाइ गर्नेछ । जुन कामले मुलुकको काँचुली फेरिनेछ । लाहुरे समुदायमा त्यति ठूलो धनराशि आए पनि त्यो घर बनाएरै सक्नुहुँदैन । ‘हामीले हाइड्रो, विद्यालय, यातायात, विमानमा लगानी गर्न जान्नुपर्छ,’ नवनिर्वाचित गेसो सभापति कृष्णकुमार राईको तर्क छ, ‘धेरैजसो लाहुरे समुदाय पैसा कमाइसकेपछि विदेशमै बस्दै आएका छन् । अब उनीहरूले कमाएका रकम प्रतिफल पाउने क्षेत्रमा लगानी गर्न उत्साहित गर्नैपर्छ ।’

सामूहिक समाधि सम्पन्न गर्ने

बेलायतका निम्ति ६० हजार लाहुरेले जीवन बलिदान गरेका छन् । बेलायतले ती पुर्खालाई सम्झेन । उनीहरूको योगदानको कदर गरेन । नेपालले समेत आफ्ना नागरिक खोजेन ।

तर, ती पुर्खाकै सन्ततिले ६० हजार पुर्खाको सम्झनामा सामूहिक समाधि निर्माण गर्दै छ । स्याङ्जाको साल्मेमा निर्माणाधीन सामूहिक समाधि निर्माण सम्पन्न गर्न नयाँ नेतृत्वलाई त्यत्तिकै चुनौती छ । थालिएको ऐतिहासिक कामलाई सम्पन्न गर्नु नै छ ।
सामूहिक समाधि १९ जातजातिका धर्मगुरु र १९ जातिकै कन्याले शिलान्यास गरेका थिए । शिलान्यासक्रममा १९ जातिका धर्मगुरुले भनेका थिए, ‘निर्माण पूरा भएपछि यो सामूहिक समाधि विश्वकै पवित्र र पृथक धार्मिकस्थल बन्नेछ ।’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल