मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रोजेक्ट कति महँगो ?

मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रोजेक्ट कति महँगो ?

एसके लामा

काठमाडौँ, चैत १३ – अब आउने दशैँमा मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने लक्ष्य मेलम्ची खानेपानी आयोजनाको छ । जसअनुरुप आयोजनाले सुरुङ खन्ने काममा तीव्रता दिइरहेको छ ।

विभिन्न आशङ्काबीच पनि काठमाडौँका जनजनले ‘अब मेलम्चीको पानी खाना पाइने’ भयो भन्दै आशा गरिरहेका छन् ।

आयोजना अन्तर्गतको उप आयोजना–१ ले सुरुङ खन्ने र पानी प्रशोधन केन्द्र बनाउने काम गरिरहेको छ । यही पुस १३ मा सुन्दरीजल–सिन्धु सुरुङ खण्ड साढे ९ किमि (ब्रेक थु्र) भएसँगै उनीहरु झनै खुशी छन् ।

आयोजनाले बिहीबारसम्म २६ किमिमध्ये ४ हजार २ सय मिटर सुरुङ खन्न बाँकी रहेको जनाएको छ । सुरुङ खन्ने जिम्मा इटालियन कम्पनी को–अपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी)ले पाएको हो ।


सुरुङ खन्ने काम तीन खण्डमा बाँडेर थालेको छ भने पहिलो खण्ड सुन्दरीजल–सिन्धु सुरुङ जोडिसकेको छ । त्यस्तै दोस्रो सुरुङ खण्ड सिन्धुदेखि ग्याल्थोङ साढे ७ किमिमध्ये जोडिनका लागि २१ सय मिटर सुरुङ खन्न बाँकी छ । तेस्रो ग्याल्थोङदेखि अम्बाथान साढे ८ किमिमध्ये सुरुङ जोडिनलाई पनि २१ मिटर सुरुङ खन्न बाँकी छ ।

सुरुङ खन्ने जिम्मा पाएको कम्पनीले सो दोस्रो र तेस्रो सुरुङ खण्डमा गरी ४ ठाउँबाट खन्ने काम गरिररहेको आयोजनाले जनायो । अहिले नरम चट्टानका कारण दैनिक सुरुङ खन्ने कार्यमा पहिलो महिनाको जस्तो गति लिन नसकेको आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दवाडीले जानकारी दिए ।

‘ड्रिल एन्ड ब्लास्ट’ तरिका मार्फत सुरुङ खन्ने काम भइरहेकोमा कडा चट्टान भएको ठाउँमा चाँडै काम हुने र नरम चट्टान हुनेमा ढिला हुने उनको तर्क छ ।

‘कडा चट्टानमा ब्लास्ट गरेर धेरै चट्टान खसालेर काम गर्न सजिलो हुन्छ ।’, उनले भने, ‘नरममा त्यस्तो हुन्न । नरम चट्टान भएको ठाउँमा न ड्रिल गर्न साध्ये चल्छ न विष्फोट नै गर्न मिल्छ ।’ उनको भनाइ छ, ‘मिले पनि टेको लगाउँदै काम गर्नुपर्ने भएकाले बढी समय लिएर कम काम भएको हो ।’

सिन्धुको माथिल्लो भागमा यस्तो प्रकृतिका चट्टान भेटिएको हो । कमजोर चट्टान र लेदो परेको चट्टान भेटिएका कारण यहाँको काममा ढिलाइ भएको आयोजनाले जनायो ।

सुरुङ खन्ने काम कमजोर बन्दै

मङ्सिर महिनादेखि दैनिक ३५ देखि ४० मिटरसम्म सुरुङ खन्ने काम भएको थियो भने अहिले यो क्रम ह्वात्तै घटेको छ । उनका अनुसार हाल दैनिक २० मिटरको दरले सुरुङ खने पनि यो गतिले तोकिएकै मितिमा काम नसक्ने देखिएपछि अब दैनिक २५ मिटरको दरमा काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिइसकेको छ ।

उनले जानकारी दिएअनुसार, ठेकेदारले दैनिक २५ मिटर सुरुङ खनेमा असारसम्म सुरुङको काम सकिने र दशैँसम्म पानी खुवाउन सकिने छ । सुरुङको काम सकेपछि सुरुङको प्लास्टर, गेट भेन्टिलेटर निर्माण, अप्टिकल फाइबर बिच्छ्याउने, सीसी क्यामेरा र ट्रिटमेन्ट प्लान्ट बनाउने लगायत काम गर्नुपर्ने हुन्छ । यी काम तीन महिनाभित्र सकिने आयोजनाले दाबी गरेको छ ।

यसकारण सुरुङ खन्ने काममा समस्या

सुरुङ खन्ने काममा दैवी प्रकोप, नाकाबन्दी, नरम चट्टान भटिनु, खन्ने उपकरण बे्रकडाउन, सिपालु मिस्त्रीको अभाव, जगेडा सामग्रीको अभाव, सुरुङको मुख टाढा भएको, नयाँ संसाधन नल्याउँदा थप समस्या परेको छ । अन्य समस्याहरुमा, निर्माण कम्पनीको कमजोर व्यवस्थापन, बाह्य मुलुकबाट आयात गर्नुपर्ने निर्माण सामग्रीको आपूर्तिमा कठिनाइ र स्थानीय निर्माण सामग्रीको नियमित आपूर्तिमा समस्या आदि छन् ।

२० अर्ब खर्च भइसकेको, ४ अर्ब अपुग हुने

रात दिन लगातार ३ सयको हारहारीमा मजदुरहरु यहाँ खटिएका छन् । एसियाली विकास बैङ्कको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत खर्च गर्ने यस आयोजनामा २४ अर्बको बजेटको अनुमान गरिएको छ भने हालसम्म २० अर्ब खर्चिसकेको छ ।

त्यस्तै मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानीलाई शुद्धीकरण गर्न सुन्दरीजलमा ८ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

यसरी आउने छ मेलम्ची

२६ किमि सुरुङमार्ग हुँदै सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी दशैँमा काठमाडौँको घरघरमा आउँदैछ । दैनिक १७ करोड लिटर सुरुङ हुँदै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा आइपुग्ने छ ।

त्यहाँबाट प्रशोधन भएर काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँहरुमा बनिरहेको पानी ट्याङ्कीमा जम्मा हुनेछ । जहाँबाट सिधै थोक वितरण लाइन हुँदै उपत्यकावासीको घरघरसम्म पानी पुग्ने छ ।

लार्के र याङ्ग्रीको गरी थप ३४ करोड लिटर पानी ल्याइँदै

काठमाडौँ उपत्यकाको हालको पानीको माग भनेको दैनिक ४५ करोड लिटर छ । हाल इनार, ट्युबेल, ट्याङ्कर, मिनरल वाटर, जार, ट्याङ्कर, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड लगायतले गरी जम्मा जम्मी १३ करोड लिटर पानी मात्रै आपूर्ति भइरहेको छ ।

काठमाडौँमा मेलम्चीको १७ करोड लिटर दैनिक ल्याएर मात्रै यहाँको मागलाई धान्न सकिन्न । यहाँको जनसङ्ख्या पनि दिन प्रतिदिन बढ्दो क्रममा छ ।

त्यसैले मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी आएलगत्तै अर्को पानी ल्याउन थप गृह कार्य थालिसकिएको छ । अर्काे पानी सिन्धुपाल्चोककै लार्के र याङ्ग्री खोलाको थप १७/१७ करोड प्रतिदिन ल्याउने तयारी गरेको हो ।

आयोजनाले यसका लागि प्रारम्भिक काम सकेरक विस्तृत परियोजना प्रतिवेदन तयारका लागि परामर्श दाता छनौट गरेर फिल्डमा पठाइसकेको छ भने उनीहरुले आयोजनालाई ९ महिनाभित्र प्रतिवेदन बुझाउने छ ।

काठमाडौँवासीलाई धुलाको लड्डु खुँवाउँदै मेलम्चीलाई निम्तो

मेलम्चीको पानी काठमाडौँ ल्याउन सुरुङ खन्नेदेखि सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको निर्माण गर्नेसम्मको काम मेलम्ची उपआयोजना १ ले गरिरहेको छ भने त्यसयता पानी ट्याङ्की निर्माण, पाइप बिछ्याउने, घरघरमा धारा जडान गर्ने काम भने उपआयोजना २ ले गरिरहेको छ ।

उपआयोजना २ को जिम्मेवारी भने आयोजना कार्यान्वयन निर्देशनालयले पाएको छ । उपआयोजना २ ले गरिरहेको पाइपलाइन बिछ्याउने कामले काठमाडौँमा अचाक्ली धुलो उढेको भन्दै सामाजिक सञ्जालका भित्ता स्वागत, गाली र तालीले रङ्गिएको छ । खुलेर विरोध गर्नुभन्दा पनि व्यङ्ग्यात्मक रुपमा विरोधका स्वरहरु भने सुनिरहन्छ ।

हाम्रो विकासको गति : ६० वर्षमा पनि बन्न नसकेको एउटा सडकको कथा

चिया पसलदेखि संसदको संसदीय समिति वातावरण समिति, विकास समितिमा व्यापक बहस भयो । ठेकेदारको लापरबाहीले काठमाडौँमा धुलाम्मे भएको भन्दै सबैले मेलम्चीलाई स्वागत गर्दै मन्द विरोध जनाइरहेका छन् ।

काठमाडौँमा धुलो हाम्रो कारणले मात्रै होइन : निर्देशनालयका प्रवक्ता लिला ढकाल

उपत्यकामा मेलम्चीको पानी खुवाउन साना ६ सय ७० किमि र ठूलो पाइप ६० किमि खानेपानी पाइप बिछ्याउनुपर्ने छ । जसअनुसार साना पाइप ५ सय ५० किमि र ठूलो पाइप ४१ किमि बिछ्याइसकेको निर्देशनालयले जनाएको छ ।

विभिन्न ११ खण्डमा विभाजित गरी ९० भन्दा बढी स्थानमा एकै पटक मुख्य सडक, सहायक सडक, सडकको पेटी, फुटपाथ, भित्री गल्ली खनेर पाइप बिछ्याउने काम भइरहेको छ ।

पाइप बिछ्याइसकेपछि धुलो नउडोस् भनेर अपनाउनुपर्ने तरिका निर्माण पक्षले नअपनाउदा उपत्यकावासी धुलोले हायल कायल भएका छन् । पानी छर्कँदा पनि धुलो कम गर्न सक्ने भए पनि निर्माण पक्षले ध्यान नदिँदा यहाँ हिँड्ने बटुवाहरु समेतले दिक्क मानिसकेका छन् ।

यता निर्देशनालयका प्रवक्ता लिला ढकाल भने काठमाडौँमा धुलो मेलम्चीको कारणले मात्रै नभएको भन्दै यसको बचाउ गरे । उनले भने, हामीले गर्दै नगरेको भन्न त मिल्दैन, हामै्र कारणले मात्रै धुलो उड्यो भन्न पनि मिल्दैन । हाम्रो कामले ६ प्रतिशत मात्रै धुलो उडेको हो । यहाँ धुलो उडाउने अन्य कारणहरु पनि छन् ।

यसरी बन्दैछ धोबीखोला कोरिडोर

मिहिनेत देखिन्छ, सावधानी देखिँदैन

मेलम्चीबाट प्राप्त हुने पानी उपत्यकामा समानुपातिक र वैज्ञानिक रुपमा घरघरमा पुर्याउन दु्रत गतिमा काम गरिरहेको छ । विभिन्न खण्डमा गरी हन्जाओ–कालिका, हन्जाओ–शर्मा र सुमेक लामा गरी तीन निर्माण कम्पनीले पाइप बिछ्याने काम गरिरहेको छ ।

निर्माण पक्षले दिन रात खटेर काम गरिरहेको छ तर वातावरणलाई कम भन्दा कम प्रभाव पार्ने उपायहरु नअपनाउँदा आलोचना खेप्नुपरेको छ । मन्त्री, निर्देशनालय र संसदीय समितिबाट पटक पटक अनुगमन गर्दा पनि सहरमा धुलो घट्नुको सट्टा दिनानुदिन बढिरहेको छ ।

मुख्य, सहायक सडक, सहरका गल्ली, फुटपाथलगायतमा खाल्डाखुल्डीले हिँड्नै असुविधा भएको छ । फुटपाथलगायत सडकहरुमा पाइप बिछ्याइसकेपछि जस्ताको तस्तै नबनाई त्यत्तिकै छोडिएको छ । धुलो उड्ने समयमा पानीसमेत छर्कने गरेको पाइँदैन ।

पाइप बिछ्याउने काम सकेलगत्तै खन्नुअघि जस्तो थियो तस्तै बनाउने भनिएपछि निर्माण पक्ष र अनुगमन पक्षको ध्यान त्यतातिर गएको देखिँदैन । निर्माण पक्षले अपनाउनुपर्ने सामान्य सावधानी समेत नअपनाउँदा काठमाडौँमा यस्तो हाल भएको जानकारहरु बताउँछन् ।

३ सय मिलियन अमेरिकी डलर विनियोजित भएको ट्याङ्की निर्माण, पाइप लाइन बिछ्याउने काममा हालसम्म १ सय १० मिलियन डलर खर्च गरिसकेको छ ।

पानी वितरणमा स्काडा सिस्टमको प्रयोग हुने

मेलम्चीको खानेपानी आयोजनाबाट प्राप्त हुने पानीलाई आधुनिक वितरण प्रणालीमार्फत उपभोक्तासम्म पुर्याउन एससीएडीए प्रणाली अपनाइने छ ।

यो प्रणालीले केन्द्रीकृत रुपमा सबै पानी वितरण प्रणालीको अनुगमन र नियन्त्रण गर्छ । यसबाट छिटो र सही सूचना मार्फत पानी सञ्चालनमा सहयोग पुग्छ । भल्वबाट पानी खोल्ने र बन्द गर्नेदेखि चुहावटका बारेमा समेत यस सिस्टमले नियन्त्रण कक्षलाई जानकारी दिन्छ । पानी वितरणलाई स्वचालित बनाउने क्रममा यो प्रणाली भित्र्याउने तयारी भएको हो ।

अब यस्तो बन्नेछ बागमती !

स्काडा प्रणाली पूर्वाधार, औद्योगिक क्षेत्रलगायतका धेरै ठाउँमा प्रयोग हुन्छ । यस प्रणालीबाट मुहानदेखि धारासम्म वितरण प्रणालीमा पानीको गुणस्तर, बहावलगायतका सूचना नियन्त्रण कक्षमा नै प्राप्त हुन्छ । सहरका विभिन्न क्षेत्रमा पानी वितरण गर्न राखिएका भल्व बन्द गर्न र खोल्न तथा ती भल्वबाट कति पानी वितरण गर्ने भनेर यसैबाट निर्धारण गर्न सकिन्छ । ती भल्वमा राखिएका मिटरको रिडिङसमेत स्वचालित रुपमा गर्न सकिन्छ ।

निर्देशनालयले विभिन्न ठाउँमा डिस्ट्रिक मिटरिङ एरियाका बल्क मिटरहरु, भल्वहरु गरी ८ सय ३७ सेन्सर राख्ने तयारी गरेको छ । स्काडा प्रणालीको प्राविधिक पक्षबारे निर्देशनालयले विभिन्न चरणमा छलफल गरिरहेको छ । सुन्दरीजलस्थित बनिरहेको कन्ट्रोल रुमबाट यसको रेखदेख हुनेछ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको तयारी यस्तो छ

मेलम्चीको पानी काठमाडौँमा आइपुगेपछि त्यसपछिको मेलम्ची खानेपानीको मुहानदेखि खाने पानी उपभोक्ताको घरघरमा पानी वितरण, मर्मतसम्मको पूरै जिम्मा लिमिटेडको हो ।

लिमिटेडले आफ्नो ठाउँबाट तयारी गरेको जनाएको छ । लिमिटेडका प्रबन्धक सुरेशप्रसाद आचार्यले भने, ‘हामी मेलम्चीको पानी उपत्यकावासीलाई खुवाउन आतुर र त्यति नै जिम्मेवार छौँ, जसअनुरूप नै यसको तयारीलाई तीव्र पारेका छौँ ।
मेलम्चीको पानी सञ्चालनका लागि तालिम प्राप्त दक्ष जनशक्ति चाहिन्छ । लिमिटेडसँग त्यस्तो जनशक्ति कम छ । कुल १२ सय ५ दरबन्दी रहेको यहाँ १ हजार २८ जना मात्रै जनशक्ति छन् ।

नयाँ जनशक्तिका लागि लोक सेवा मार्फत नियुक्तिका लागि प्रकृया अगाडि बढाइसकेको छ भने लिमिटेडलाई कति जनशक्ति आवश्यक पर्छ भनेर अझैसम्म पनि टुङ्गो लाग्न सकेको छैन ।

आवश्यक जनशक्तिका लागि विशेष टोलीले अध्ययन गरेर प्रतिवेदन तयार गरिरहेको र सो कार्य अन्तिम चरणमा पुगेको लिमिटेडले जनायो ।

सार्वजनिक सडकमा होटल मालिकको यस्तो दादागिरी !

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल