एउटा समाजसेवी जसले सरकारी स्कूलको मुहार बदले

एउटा समाजसेवी जसले सरकारी स्कूलको मुहार बदले

दीपेन्द्र राई

दुईतले पक्की भवन ।

२७ कक्षाकोठा ।

२७ वटै सटर ।

प्रत्येक सटरमा सटरभित्रै छुट्टाछुट्टै कोठा, भान्साकोठा र शौचालय ।

दुई शय्याको प्राथमिक उपचार कक्ष ।

प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, लेखा शाखा, पुस्तकालय र प्रत्येक कक्षाकोठामा सीसी क्यामेरा जडान ।

लोभलाग्दो खेलमैदान ।

एकैपटक ६ बालबालिका खेल्न मिल्ने अस्ट्रेलियन पिङ ।

१ करोड २५ लाखमा निर्मित सभाहल ।

आधुनिक चमेनागृह ।

५०/६० लाख रुपैयाँबराबरको सिभिल इन्जिनियरिङको ‘इक्वीपमेन्ट’ ।

सात लाख रुपैयाँ खर्चेर बनाइएका खानेपानीको बोरिङ ।


बुटवल–१३ देवीनगर, रूपन्देहीमा रहेको नवीन औद्योगिक कदरबहादुर रीता उच्च माध्यमिक विद्यालयको भौतिक सम्पत्ति यत्तिमै सीमित छैन । अरू थुप्रै छन् । ती सम्पत्तिलाई दुई सुरक्षागार्डले चौबीसै घन्टा रेखदेख गरिरहेका हुन्छन् ।

संवत् २०३३ मा स्थापित उमावि भौतिक सम्पत्तिले मात्र सम्पन्न होइन, पठनपाठनमा समेत मुलुककै नमुना र उदाहरणीय मानिन्छ । १७ वर्षसम्म विद्यालय व्यवस्थापन समिति अध्यक्षको भूमिका निर्वाह गरेका कदरबहादुर रायमाझीले उमाविलाई नमुना र उदाहरणीय बनाउन पुर्याएको योगदानलाई बिर्सन सकिँदैन ।

अंग्रेजी र नेपाली माध्यमबाट पढाइ हुने उमाविमा पढ्न पाए हुन्थ्यो भनेर मरिहत्ते गर्ने विद्यार्थीको ‘क्याराभान’ छ । जिल्लाका मात्रै होइन, यहाँ पढ्न अर्घाखाँची, पाल्पा, गुल्मी र स्याङ्जाली विद्यार्थीले एकपटक प्रयास गरेकै हुन्छन् । उमाविलाई यो अवस्थामा ल्याउन रायमाझीले बेल्नसम्म पापड बेलेका थिए ।

शिक्षा राज्यमन्त्रीसहित ४० जना कम्बोडियाली उमावि हेर्न देवीनगर पुगेका थिए । रायमाझीले विश्व बैंक कन्ट्री डाइरेक्टर केन ओवासीलाई समेत नवीन औद्योगिक कदरबहादुर रीता उमावि निरीक्षण गर्न अनुरोध गरे । उनको निम्ता स्वीकार्दै विद्यालय निरीक्षण गरेपछि ओवासी तीनछक परेको रायमाझीले सुनाए ।

चारदेखि आठ कक्षासम्म कम्प्युटर विषय पढाइने उमाविमा नौदेखि १२ कक्षासम्म सिभिल इन्जिनियरिङ पढाइ हुन्छ । २०७१ को एसएलसीमा सिभिल इन्जिनियरिङतर्फ सिर्जना केसीले नेपाल ‘टप’ गरेकी थिइन् ।

कदरबहादुर रायमाझीले १७ वर्षमा प्राथमिक विद्यालयलाई निम्न माध्यमिक, माध्यमिक र उच्चमाविमा परिणत गरे । विद्यालय उन्नयनका लागि विश्व बैंकको पनि सहयोग रहेको छ । सामुदायिक विद्यालय भवन बनाउन नेपालीलाई सहयोग गरे पनि कामै गर्दैन भन्ने दाताको मुखमा बुझो लाग्नेगरी काम गरेर देखाएका रायमाझीको योगदान देखेर विश्व बैंक तात्कालिक कन्ट्री डाइरेक्टर ओवासी प्रभावित भएका थिए ।

दिउँसो चार बजेपछि पाँचदेखि माथिल्लो कक्षाका विद्यार्थीलाई अंग्रेजी, विज्ञान र गणितको निःशुल्क कोचिङ कक्षाका साथै ६ र ७ कक्षाका विद्यार्थीलाई विद्युत्सम्बन्धी व्यावहारिक कक्षा सञ्चालन गर्दै आएको उमाविमा नर्सरीका विद्यार्थीले निःशुल्क खाजा खान पाउँछन् । ‘त्यो पनि प्रत्येक दिन फरक/फरक खाजा हुन्छ,’ रायमाझीले भने, ‘विद्यालयका २७ सटरबाट मासिक १ लाख २५ हजार भाडामात्रै उठ्छ । त्यही आम्दानीले नर्सरीका विद्यार्थीलाई निःशुल्क खाजा खुवाउने प्रबन्ध मिलाइएको हो ।’

‘काम गर्छु भनेपछि लिन्छु होइन, दिन्छु भनेर प्रतिबद्ध हुनुपर्छ,’ उनले खुसी व्यक्त गरे, ‘विद्यालय उन्नतिका लागि मैले १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छु । त्यही सहयोगको कदर गर्दै विद्यालयको नामसँग मेरो र श्रीमतीको नाम जोडिएको हो । पैसा भएर होइन, सामाजिक काम गर्ने रहरले सहयोग गरेको हुँ ।’


संवत् २०५६ मा जिल्ला शिक्षा कार्यालय रूपन्देहीले तपाईंलाई नवीन औद्योगिक प्राथमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष नियुक्ति गरिएको छ भन्ने चिट्ठी कदरबहादर रायमाझीको हात पर्यो ।

रायमाझीले अतीत सम्झे, ‘त्यसपछि विद्यालय हेर्न गएँ । विद्यालय भताभुंग थियो । ढुंगामाटोको गारो । जस्तापाताको छानो । शौचालय, खानेपानी थिएन ।’

विद्यालय हेरेर फर्केपछि उनले परिवारलाई सुनाए । श्रीमती रीता रायमाझीले सुझाइन्, ‘हामीले धेरैलाई चन्दा दिएका छौं÷थियौं । हामीले माग्दा पनि देलान् नि ।’ उनले श्रीमतीको सल्लाह सुझाव आत्मसात् गर्दै काम थाले ।

प्रथमतः विद्यालय भवन बनाउने योजना बनाए । विद्यालय पुनःनिर्माणका लागि आफैंले नक्सा तयार पारे । आठ कोठासहितको विद्यालय भवन आफैंले शिलान्यास गरे । अब चाहियो निर्माणसामग्री । गुल्मी ट्रेडर्स पुगेर प्राविको नाममा २० बोरो सिमेन्ट उधारो मागे । साहुजीले तपाईंको नाममा भएमात्र दिन्छु भने । उनले त्यसै गरे ।

काम थाल्दै गएपछि उपाय पनि सुझ्दै गयो । मैले विद्यालय भवन पुनःनिर्माण गर्दै छु, जसले राम्रो गिटी, बालुवा र इँटा झार्छ उसैको खरिद गर्छु भनेर सम्बन्धित निर्माणसामग्री सञ्चालकलाई सुनाए । गिटी, बालुवा र इँटा झारिदिनेको होडबाजी चल्यो । ‘स्याम्पल’ का लागि झारिदिएको निर्माणसामग्रीले नै विद्यालय भवन ठडियो । सःमिल आफ्नै भएकाले काठपात किन्नै परेन ।

अब चाहियो कामदारलाई दिने पारिश्रमिक । उनले भने, ‘चन्दा रसिद छापें । चन्दा माग्न पहिलोपटक अञ्चल अस्पताल पुग्दा डा. भट्टले ५,१०० दिए । सोही अस्पतालमा कार्यरत डा. बुलन्द थापाले पनि ५,१०० नै दिए । रसिद बोकेर दुई घन्टा हिँड्दा ८० हजार संकलन भयो ।’ एक हजारमाथि सहयोग गर्ने दाताको नाम भित्तोमा लेखिदिने भनेपछि त्यही लोभमा कतिपय दाताले सहयोग गर्न मञ्जुर भए ।

विद्यालय भवन ठडियो । रुम टु रिडले विद्यालयलाई किताब, कम्प्युटर दिन्छ भन्ने उनले थाहा पाए । त्यतिबेला प्राविबाट निमावि भइसकेको थियो । रुम टु रिडले माविलाई मात्रै किताब र कम्प्युटर दिने प्रावधान रहेको जानकारी गरायो । निमाविलाई मावि बनाएर उनी फेरि रुम टु रिड पुगे । उसले वास्तै गरेन । रायमाझीले तिम्रो सहयोग चाहिएन भनेर हिँडे ।

विद्यालय उन्नयनका लागि कदरबहादुर रायमाझीले गरेको प्रशंसनीय कामबारे रुम टु रिडले थाहा पाएपछि २० कम्प्युटर, फ्याक्स र फोटोकपि मेसिनसमेत दियो । उसले दुई वर्षसम्म शिक्षकलाई कम्प्युटर तालिम दियो । उनको कामदेखि प्रभावित भएपछि रुम टु रिडले चार एलसीडी कम्प्युटर थपिदियो ।


रायमाझीको निःस्वार्थ कामले नवीन औद्योगिक कदरबहादुर रीता उमावि अन्य विद्यालयभन्दा पृथक र उदाहरणीय बनेको हो । उमावि राम्रो बन्दै गएपछि राजनीतिक चलखेल बढेकोमा उनले दुःखेसो पोखे । चलखेल बढेपछि उनले विव्यवस अध्यक्षबाट गत असारमा राजीनामा दिए । राजीनामा दिए पनि उनलाई नै पुनः पहिलेको भूमिकामा फर्कन अनुरोध गर्नेको कमी छैन । गरिएको अनुरोधप्रति उनी सकारात्मक छन् ।

त्यतिबेला नवीन औद्योगिक प्राविमा सुकुम्बासीका छोराछोरी पढ्थे । उनीहरूका खुट्टामा जुत्ता हुँदैनथ्यो । सुकुम्बासीका छोराछोरी पढ्न हौस्याउन रायमाझीले जुत्ता किनिदिन्थे । विद्यालय आसपास खुलेका बोर्डिङ स्कुलका विद्यार्थी स्कुल ड्रेसमा विद्यालय जान्थे । नवीनमा अध्ययरत विद्यार्थीलाई हीनताबोध नहोस् भनेर उनले कपडा पसलेलाई जन्मदिनको अवसर पारेर रंग तोकेरै कपडा उपहार दिन अनुरोध गर्थे । उनले गरेको अनुरोध खेर जाँदैनथ्यो । विभिन्न उपाय लगाएर उनले नवीनका विद्यार्थीलाई बोर्डिङकै विद्यार्थीजस्तै चिटिक्क बनाएर स्कुल पठाउँथे ।

१७ वर्षअघि र पछिका विद्यालयको तुलना गर्नै मिल्दैन । ०२२ मा तनहुँको भानुबाट प्राविधिक तालिमका लागि बुटवल पुगेका उनले ०२८ मा डिप्लोमा इन्जिनियरिङ गरे । त्यसपछि सुनील सःमिल चलाए । ०५३ सम्म सञ्चालनमा आएको सःमिलले हजारभन्दा बढीलाई रोजगारी दिएको थियो । फ्रान्सबाट मेसिन ल्याएर हारती माता बेकरी चलाए । त्यही मेसिन अहिले नाङ्लो पाउरोटीले प्रयोगमा ल्याएको छ ।

उल्लिखत काम छाडेर सामाजिक काममा लागेका रायमाझी रूपन्देहीका मात्रै होइन, मुलुककै उदाहरणीय शिक्षासेवीका रूपमा परिचित छन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल