नेपाली सेनामाथि दुई छिमेकीको आँखा

नेपाली सेनामाथि दुई छिमेकीको आँखा

काठमाडौँ, चैत १८ – चिनियाँ रक्षा मन्त्री तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्केको तेस्रो दिन भारतीय सेना अध्यक्ष काठमाडौँ आए । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान तीन दिने औपचारिक भ्रमण पूरा गरी चैत १२ गते स्वदेश फर्केका थिए ।

चिनियाँ रक्षा मन्त्री फर्केको तेस्रो दिन भारतका स्थल सेनाध्यक्ष विपिन रावत चैत १५ गते चार दिने औपचारिक भ्रमणमा काठमाडौँ आए ।

तीन दिनको फरक पारेर चिनियाँ रक्षा मन्त्री र भारतीय सेनाध्यक्षले नेपाल भ्रमण गर्नु संयोग मात्रै हो कि यसले नेपालमाथि चीन र भारतको सैन्य चासोको सङ्केत दिन्छ ? नेपालमा चीन र भारतको सैन्य चासो के हो ? उनीहरु किन नेपालमा सैन्य चासो राख्छन् ? पछिल्लो समय उठेका प्रश्न हुन् यी ।

सुरुमा चैत १० देखि १२ गतेसम्म भएको चिनियाँ रक्षा मन्त्री जनरल चाङ वानक्वानको भ्रमण भएको थियो । काठमाडौँ आउँदाआउँदै चिनियाँ रक्षा मन्त्रीको पहिलो भेट प्रधानमन्त्री प्रचण्डसँग गरे । किनभने त्यसै दिन साँझ प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने कार्यक्रम थियो ।

भेटमा प्रधानमन्त्रीले नेपाल र चीनबीच लामो समयदेखि गहिरो आत्मीय सम्बन्ध रहेको र यस्ता उच्च स्तरीय भ्रमणले सम्बन्ध अझ माथि उठाउने बताए । भेटमा प्रधानमन्त्रीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र तिब्बत विरोधी गतिविधिको नेपालले विरोध गर्ने बताए । प्रधानमन्त्रीले नेपाली सेना र चिनियाँ सेनाबीचको सम्बन्ध विकसित भएकोमा खुसी व्यक्त गरे ।

त्यसबाहेक चिनियाँ रक्षामन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरे, जहाँ उनीहरुबीच दुई देशबीचका सम्बन्धका विषयमा छलफल भयो । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीन दिने औपचारिक भ्रमणमा आएका चिनियाँ रक्षा मन्त्रीले उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिसँग पनि भेट गरे । भेटमा सुरक्षा निकायको क्षमता अभिवृद्धि विषयमा छलफल केन्द्रित भएको गृह मन्त्रालयको भनाइ थियो ।

भेटमा चिनियाँ रक्षा मन्त्रीले चीनले चीन सरकारको सहयोगमा निर्माणाधीन सशस्त्र प्रहरी बलको तालिम केन्द्रलाई आवश्यक पर्ने थप स्रोत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । रक्षा मन्त्रीसँग पनि चिनियाँ रक्षामन्त्रीले भेट गरे । चिनियाँ रक्षा मन्त्रीको सम्मानमा रात्री भोजको आयोजना गरेका थिए ।

चिनियाँ रक्षा मन्त्रीले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेट गरे । जहाँ द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएका थियो ।
रक्षामन्त्री चाङको सम्मानमा सैनिक मुख्यालयमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थिए । यसअघि जनरल चाङ सैनिक मञ्च टुँडिखेल गएर त्यहाँस्थित वीर सैनिकको स्मारकमा पुष्पगुच्छा अर्पण गरी श्रदाञ्जलि व्यक्त गरेका थिए ।

भ्रमणका क्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रको अवलोकन गरे । वसन्तपुर दरबारलगायतका संरचनाको पुनःनिर्माण कहिलेसम्म पूरा होला भनी जिज्ञासा राखे । यी थियो चिनियाँ रक्षा मन्त्रीको नेपाल बसाइको देखिएका र बाहिर आएका गतिविधि तथा कुराकानी ।

प्रधान सेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणमा भारतका स्थल सेनाध्यक्ष विपिन रावत भ्रमणमा काठमाडौँ आएका थिए ।

उनले राष्ट्रपति भवन शीतल निवासमा आयोजना भएको विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथी उपाधि लिए । उनको भ्रमणको तालिकमा नेपालका केही पर्यटकीय एवम् धार्मिकस्थल तथा नेपाली सेनाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण पनि थियो ।

पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको निरीक्षण पनि थियो । छिमेकी उच्च पदस्थ सैनिक अधिकारीको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् विस्तार गर्न थप योगदान पुग्ने नेपाली सेनाको विश्वास थियो ।

यहाँ चिनियाँ रक्षा मन्त्री र भारतीय सेनाध्यक्षको दौडधूपको व्याख्या किन गर्न खोजिएको हो भने उनीहरु आफ्नो भ्रमणलाई सम्बन्ध विस्तारका लागि अधिकतम प्रयोग गर्न चाहन्थे ।

यी भ्रमणपूर्व राष्ट्र सङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा परिचालन भएकासहित २८ मुलुकका सेना काभ्रेको पाँचखालमा भेला भएका थिए ।

नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आयोजना गरेको १५ दिने शान्ति अभ्यास (तेस्रो) मा भाग लिन उनीहरु त्यहाँ पुगेका थिए । नेपाली सेना विश्व शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा छैटौँ स्थानमा छ । नेपाली सेनाले हालसम्म विश्वका ४१ वटा शान्ति मिसनमा रहेर काम गरिसकेको छ ।

नेपाली सेनाका चार हजार ४६२ जनशक्ति हाल विश्वका १५ वटा मिसनमा खटिइरहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले पहिलो पटक सन् २००० मा शान्ति अभ्यास सुरु गरेको थियो । नेपालले शान्ति सेनाको रुपमा द्वन्द्वग्रस्त मुलुकहरु लेवनान, युगान्डा, इथियोपिया, दक्षिण सुडान, इराक, सिरियालगायत ४१ मुलकमा शान्ति स्थापना कार्यमा बहुराष्ट्रिय सेनासँग मिलेर काम गरिरहेको छ । यो तालिम चैत २१ गतेसम्म चल्नेछ ।

यो विषय यहाँ उठान गर्न खोजेको भने नेपाली सेनाको अन्तर्राष्ट्रिय सम्बन्ध पनि छ । त्यसमाथि छिमेकी भारत र चीनसँग इतिहासदेखिको सम्बन्ध छ ।
नेपाली सेनाको यो सम्बन्ध किन बताइरहेको छु भने नेपालमा सैन्य क्षेत्रमा अन्तर्राष्ट्रिय चासो पुरानो छ ।

चिनियाँ रक्षा मन्त्री खासमा नेपालमा किन आएका थिए ? यो मुख्य प्रश्न हो । चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण १६ वर्षपछि भएको थियो । नेपाल–चीनबीचको संयुक्त सैनिक अभ्यास हुँदैछ भन्ने समाचार यसअघि पनि आइसकेका छन् । तर मिति तय भएको जानकारी छैन ।

यही सैन्य अभ्यासलाई मूर्त रुप दिने चिनियाँ रक्षा मन्त्रीको नेपाल भ्रमणको पहिलो उद्देश्य हो । जब कि यस्तो सैन्य अभ्यासको विषयमा भारतीय सञ्चार माध्यमहरूले नेपाली सेनामा चिनियाँ प्रभाव बढेको रुपमा व्याख्या गर्दै आएका छन् ।

पुस १५ मा बेइजिङमा पत्रकार सम्मेलन आयोजना गरी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता याङ युजुनले नेपाल–चीनबीच छिट्टै संयुक्त सैनिक अभ्यास हुने बिफ्रिङ गरे । ‘नेपाल–चीनबीच सैन्य सहयोग आदान–प्रदानका विभिन्न स्वरूपमध्ये आगामी वर्ष सन् २०१७ मा नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैनिक अभ्यास गरिँदै छ ।’

नेपाल–चीनबीचको संयुक्त सैनिक अभ्यास अहिले तयारीको चरणमा छ । सूत्रहरु के मान्छन् भने जुनसुकै बेला मिति तय हुन सक्छ । आतङ्कवाद प्रतिकार सम्बन्धमा नेपाली सेनासँग रहेको ज्ञान र अनुभव लिनका लागि चीनले सैन्य अभ्यासको प्रस्ताव गरेको छ ।

चीन र नेपालबीच संयुक्त सैन्य अभ्यासको सम्भावना के छ ? भयो भने त्यसको सन्देश के हुन्छ ?

नेपाली सेनाले चीनसँग मात्र यस्तो सैन्य अभ्यासका लागि गृहकार्य गरेको चाहिँ होइन । कहिलेकाहीँ यस्ता सैन्य अभ्यास बहुपक्षीय हुन्छन् भने कहिलेकाहीँ द्विपक्षीय ।

बहुपक्षीय सैनिक अभ्यास विपत् सामना र शान्ति स्थापनासँग जोडिएका हुन्छन् । नेपाली सेनाले सन् २००१, २०१३ र हालै २०१६ मा गरी तीन पटक संयुक्त सैनिक अभ्यास गरिसकेको छ ।

सैन्य मामलाका जानकारहरुका अनुसार दुई परिस्थितिमा सैन्य अभ्यास हुन्छ । पहिलो– भूराजनीतिक महत्व भएको मुलुकको सेनासँग र अर्काे त्यो मुलुकको सेनासँगको सम्बन्धलाई प्रगाढ बनाउन । चिनियाँपक्ष संयुक्त सैन्य अभ्यासलाई सेना भूराजनीतिक महत्वका रुपमा हेरेको हुनुपर्छ । नेपाली सेनाले भारतीय र अमेरिकी सेनासँग मात्र द्विपक्षीय सैनिक अभ्यास गरिआएको छ ।

चिनियाँ पक्षले नेपाली सेनासँग आगामी माघ अन्तिम साताका लागि संयुक्त सैनिक अभ्यासको प्रस्ताव गरेको थियो । तर ढिला हुँदै आएको छ । रक्षा मामलाका जानकारहरुको मत छ । चिनियाँ पक्ष सुरुमा सानो युनिटबाट यस्तो अभ्यास सुरु गराएर भविष्यमा अरु ठूला अभ्यासको पक्षमा रहेको जानकारहरु मान्छन् । तिब्बतसँग सीमा जोडिएका नेपालका उत्तरी जिल्लामा चिनियाँ पक्षको रोजाइमा छ ।

सैन्य रणनीतिका हिसाबले नेपाल कस्तो भूमि हो त ?

२०२१ माघ १७ गते को भारत–नेपालबीचको सैनिक मामिलासम्बन्धी पत्राचार महत्वपूर्ण मानिन्छ । जहाँ भारतल नेपालको शस्त्र भण्डारलाई आधुनिकीकरण गर्ने तथा आवश्यक तालिम पनि दिने बताएको थियो ।

यो चीनसँगको सीमा युद्धपछि भारतीय पत्राचार थियो । मतलब यसलाई चीनसँगको तनावमा नेपाली सेनाको सहयोग जुटाउने भारतीय पहलभन्दा पनि हुन्छ । त्यसयता नेपालमा भारतको सैन्य प्रभाव निरन्तर बढिरहेको इतिहास छ ।
तर, नेपाली सेनासँग सैनिक अभ्यास गर्ने चीनको पछिल्लो प्रस्तावले सैनिक कूटनीति र सम्बन्धको पुरानो अभ्यास तोडिने सङ्केत देखा पर्दै छ । नेपाल सैन्य कूटनीतिका दृष्टिले पनि सन्तुलनको बाटोमा जान खाजेको छ । जुन, हाम्रो आवश्यकता पनि हो ।

सैन्य र सामरिक दृष्टिले दक्षिण केन्द्रित झुकाव रहेको मानिएको नेपालको सैन्य शक्तिमाथि चिनियाँ चासो दिनदिनै बढेको जस्तो देखिन्छ । सेनाले प्रयोग गर्ने हतियारमा भारत निर्मित राइफल इन्सास र एसएलआरको वर्चस्व छ ।

नेपाल–भारतबीचको १९५० को शान्ति तथा मैत्री सन्धि र १९६५ को पत्राचारले सेनाली सैन्य क्षेत्रमा चिनियाँ चासो प्रवेशमा केही न केही अवरोध गरेको थियो । तर, चीनले कोसिस चाहिँ गरिरहेको थियो ।

पछिल्लो पटक नेपाली सेना सैन्य साधन स्रोतमा एउटा देशको मात्र भर पर्नु हुँदैन भन्नेमा सचेत देखिएको छ । संयुक्त सैन्य अभ्यासको प्रस्तावले चीन अब बिस्तारै शुद्ध सैनिक मामिलामा पनि संलग्न हुन चाहन्छ भन्ने सन्देश दिएको जानकारहरु मान्छन् ।

नेपालमा विदेशको सैन्य चासो

–भीमसेन थापाको पतनपछि देशको आन्तरिक राजनीतिमा सैनिक पद लिएका भारदार बलिया हुँदै गएको इतिहास देखिन्छ ।

–भारदारमध्येक सैनिक पद लिएका जङ्गबहादुर थापालाई बेलायती दूतावासको सहयोग रहेको पाइन्छ ।

–कोतपर्वपछि जङ्गबहादुरले सत्ता आफै लिए ।

–जङ्गबहादुरको उदयदेखि २०७ सालसम्म नेपाली सेनामा बेलयाती सेनाको प्रभाव सबैभन्दा बढी रहेको पाइन्छ ।

–बेलायती उपविनेशबाट मुक्त हुनसाथ भारतले नेपाली सेनामाथ आफ्नो विस्तार बढाएको पाइन्छ ।

–सन् १९५० को शान्ति तथा मैत्री सन्धिमार्फत नेपाललाई आफ्नै सुरक्षा छाताभित्र राख्न खोजिएको देखिन्छ ।

–नेपाललाई चाहिने हातहतियार पनि भारतीय अनुमातिमा तेस्रो मुलुकबाट ल्याउनुपर्ने बाध्यता बनाइएको पाइन्छ ।

–के मान्ने गरिएको छ भने भारतीय सैैनिक मिसन २००९ ले भारतीय सेनाको जस्तै रहने गरे नेपाली सेनाले आफ्नो ढाँचा पुर्नगठन ग¥यो भन्ने गरिन्छ ।

–२०२० को दशकमा अमेरिकी प्रविधि नेपाली सेनामा भित्रिएको पाइन्छ ।

–अमेरिकी प्रविधिका सञ्चार सेट सैनिक मुख्यालय छिरेको भेटिन्छ । त्यस भन्दा अगाडि नेपाली सेना फोन र आकाशवाणीको भरमा चलेको थियो ।

–२०३० को दशकमा नेपाली सेनाले चिनियाँ प्रविधिका सञ्चार सेट प्रयोग गरेको थियो ।

–यसैको आसपाल इजरायली गलिल राइफल पनि नेपाली सेनाले भित्र्यायो ।

–२०१५ सालमा नेपाली सेनाले चीनबाट एन्ट एयरक्रफ्ट गन खरिद ग¥यो ।

–यो कारोबारमार्फत नेपाली सेनाले भारतलाई नेपालमा भारतको मात्र सैनिक चासो छैन भन्ने सन्देश दियो ।

–यसको विरोधमा भारतले नाकाबन्दी गर्यो । तर पनि नेपालमा हतियार आउने क्रम रोकिएन ।

–चीनबाट एन्टी एयरक्र्याफ्ट खरिद गरिएको १० वर्षपछि नेपाली सेनाले २०५४ मा पाँच हजार थान अमेरिकी राइफल एक–१६ खरिद गरेको इतिहास छ ।

–राष्ट्रसङ्घीय शान्ति सेनाका लागि चाहिएका भन्दै यो हतियार खरिद गरेको थियो ।

–त्यसपछि जर्मन निर्मित जी–३६ राइफल नेपाली सेनाले किन्यो ।

–यी हतियार खरिदमा पनि भारतको असन्तुष्टि थियो । तर भारतले अमेरिकाको सीधा–सीधा विरोध गर्न सकेन ।

–माओवादीविरुद्ध सेना परिचालन भएपछि भारतलाई फाइदा भएको छ । झन्डै ५० हजार रहेको नेपाली सेना तालिम र हातहतियारमा भारतकै भर परियो । भारतीय सेनाले आफ्नो हतियार नेपाली सेनालाई बेच्यो । यहाँबाट भारतीय सेनाको प्रभाव अलि बढ्यो ।

–अलकायदाले सन् २००१ मा अमेरिकाको ट्विन टावरमा आक्रमण गरेपछि अमेरिकाले विश्वभर आतङ्कवाद विरोधी अभियान चलायो । माओवादीलाई पनि अमेरिकाले आतङ्कवादीको सूचीमा राख्यो र नेपाली सेनालाई सहयोग बढायो ।
–नेपाली सेनाका व्यारेक बलियो बनाइयो । अमेरिकी विदेश मन्त्री कोलिन पावेलको २०५८ माघ ५ को भ्रमण सैन्य चासोमै केन्द्रित थियो ।

–हुन त माओवादी शान्ति प्रक्रियामा आएपछि पनि भारतीय चासो घटेको छैन । उत्तरी छिमेकी चिनियाँ चासो पनि बढेको छ ।

–चीनबाट पटक–पटक उच्च स्तरीय सैन्य भ्रमण भएका छन् । नेपाली प्रधान सेनापतिहरु पनि चीन भ्रमणमा गएका छन् । चिनियाँ रक्षा मन्त्रीले हालैका दिनमा भ्रमण गरेका छन् ।

–नेपाली सेनामा चीनको आर्थिक सहयोग पनि बढेको छ । द्विपक्षीय सैन्य अभ्यासको चिनियाँ प्रस्तावले भारत थप सशङ्कित भएको छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल