जब काठमाडौं जान नेपालीले नै ‘भिसा’ लिनुपर्थ्यो

जब काठमाडौं जान नेपालीले नै ‘भिसा’ लिनुपर्थ्यो

दीपेन्द्र राई

७० वर्षअघि । त्यतिबेला काठमाडौं जान चाहने जोकोहीले भिसा लिनुपथ्र्यो । काठमाडौं जानेले भिसा लिनुपथ्र्यो भनेर सुन्दा धेरैलाई पत्याउन गाह्रो पर्ला । नपत्याइ सुखै छैन । संवत् २००४ साल मंसिरमा भिसा लिएर पहिलोपटक काठमाडौं टेकेका भोजपुरका इन्द्रप्रसाद श्रेष्ठ जीवित साक्षी हुन् ।

मकवानपुरको भीमफेदीमा भिसा लिनुपथ्र्यो । शिक्षासेवी श्रेष्ठले सम्झे, ‘भिसा लागेपछि काठमाडौं जान चाहनेको शरीर र झोला छामछामछुमछुम गरिन्थ्यो । भिसा शुल्क भनेर ५० पैसा दस्तुर लिन्थेजस्तो लाग्छ ।’ भिसा लिन त्यति अप्ठ्यारो थिएन । हामी काठमाडौं हिँडेका भनेपछि सजिलै पाइन्थ्यो ।


सिंहदरबार पस्न ५० पैसा

भोजपुरमा विद्यालय सञ्चालनार्थ स्वीकृति लिन श्रेष्ठ नारदमुनि थुलुङसँगै काठमाडौं पुगेका थिए । भीमफेदीमा भिसा लिएपछि चित्लाङ, चन्द्रागिरि हुँदै काठमाडौं टेकेका उनीहरूलाई सिंहदर पस्नैपर्ने बाध्यता थियो ।

त्यतिबेला शिक्षा विभाग सरस्वती सदनमा थियो । सरस्वती सदन सिंहदरबारबाहिर रहे पनि डाइरेक्टर मृगेन्द्रशमशेर त्यतै भेटिइने भएकाले सिंहदरबार नपसी सुखै थिएन । उनले सुनाए, ‘सिंहदरबार प्रवेशका लागि त्यत्तिकै झन्झट थियो । प्रवेशका लागि निवेदन लेख्नुपथ्र्याे । त्यतिमात्रै हो र निवेदन स्वीकृत भएपछि मात्रै सिंहदरबार प्रवेश गर्न अनुमति पाइन्थ्यो । सिंहदरबार प्रवेशका लागि ५० पैसा शुल्क तोकिएको थियो । निवेदन लेखेको तीन/चार दिनपछि सिंहदरबार पस्यौं । पहुँच हुनेले निवदेन लेखिरहनुपर्दैनथ्यो । त्यतिबेला पनि सर्वसाधारणलाई सिंहदरबार प्रवेशका लागि दक्षिणढोकाबाटै प्रबन्ध मिलाइएको थियो ।

सिंहदरबारमै भेटिइएका मृगेन्द्रशमशेरले श्रेष्ठ र थुलुङलाई राम्रै ‘रेस्पोन्स’ गरे । काठमाडौंसम्म कसरी आयौ ? विद्यालय स्थापना गर्ने भने पनि चल्छ/चल्दैन भनेर सोधे । सोधेको प्रश्नको स्वाभाविक उत्तर दिएपछि मृगेन्द्रशमशेरले उदय स्कुलको नाममा विद्यालय सञ्चालनका लागि सजिलै स्वीकृति दिए । विद्यालय सञ्चालनका लागि स्वीकृति पाएको दिन इन्द्रप्रसाद श्रेष्ठ र नारदमुनि थुलुङलाई सानोसानो युद्ध जितेजस्तै लागेको थियो । त्यतिबेलाको उदय स्कुल गाभेर अहिले विद्योदय उच्चमावि भएको छ ।

पहिलोपटक कक्षा आठसम्म पठनपाठनका लागि स्वीकृतिसँगै मृगेन्द्रशमशेरले विद्यालय सञ्चालनका लागि एक हजार आठ सय थमाएको श्रेष्ठले बिर्सेका छैनन् । खोजेको तीनपछि भेटिएका मृगेन्द्रशमशेरले कक्षा बढाउँदै जाँदा ६ सय रुपैयाँको दरले थपिदिने वचनसमेत दिएका थिए ।


महिना दिन होटल बसेको ५ रुपैयाँ

त्यतिबेला काठमाडौंमा बस्ती पातलो थियो । बस्ती पातलो भएपछि होटल प्रशस्तै हुने कुरै भएन । उनले वितगत कोट्याए, ‘हामी त्रिपुरेश्वरमा रहेको त्रिभुवन सालिकछेउको होटलमा बस्यौं । महिना दिन काठमाडौं रहँदा त्यही होटलमा बस्यौं । महिना दिनको कोठभाडा पाँच रुपैयाँ थियो । होटलमा चुलोको व्यवस्था हुन्थ्यो । खाना आफैंले पकाउनुपथ्र्यो । होटलमा पलङमात्रै व्यवस्था हुन्थ्यो । ओढ्ने ओछ्याउने र चामलको व्यवस्था आफैंले गर्नुपथ्र्यो । हिजोआजजस्तो होटलमा खाना खुवाउँदैनथे ।’

दाउरासमेत होटल बस्नेले नै किन्नुपथ्र्यो । एक पैसामा तीनवटा दाउरा किनेको उनले भने, ‘१०/१५ पैसाको दाउराले महिना दिन खाना पकाउन पुग्थ्यो ।’

त्यतिबेलाको न्यु होटल

न्युरोडमा न्यु होटल थियो । चल्तीको सो होटलमा खाना खानेको सानोतिनो भीड लाग्थ्यो । न्यु होटलमा चाहिँ खाना खानसमेत पाइन्थ्यो । खान चाहनेले पहिल्यै खाना अर्डर गर्नुपथ्यो ।

त्यतिबेला पटक/पटक काठमाडौं आएका श्रेष्ठ न्यु होटलमा समेत बास बसेका थिए । होटलमा बसेबापत त्यहाँ पनि मासिक पाँच रुपैयाँ भाडा बुझाएको उनले बिर्सेका छैनन् । त्यतिबेला न्युरोड, ठमेल, असनतिर टाढा÷टाढा घर देखिन्थे । भने, ‘त्यतिबेला अहिलेको असन गल्लीभित्र रहेकाजस्तो घर थिए । राणाका दरबार हुन्थे । धनीमानीको दुईदेखि तीनतलेसम्मका घर देखिन्थ्यो ।’


आठ पैसामा एक कप चिया

माइलाको होटल भनेपछि चर्चित थियो । सुन्धाराछेउमा खोलिएको होटलमा चिया खानेको भीडभाड लाग्थ्यो । श्रेष्ठ चिया खानै भनेर माइलाको होटलसम्म पुग्थे । उनले काठमाडौंमा रहँदा दैनिक तीन कपसम्म चिया खाएका थिए । उनले सुनाए, ‘आठ पैसा खर्चेपछि एक कप चिया आउँथ्यो ।’

पूर्वका मानिस भने डिल्लीबजारतिर बाक्लै भेटिन्थे । त्यता पनि चियापसल खुलेको थियो भनेर सुने पनि उनले डिल्लीबजारमा भने चिया खाएनन् ।

चिडियाखाना प्रवेश शुल्क ४ पैसा

इन्द्रप्रसाद श्रेष्ठ र नारमुनि थुलुङ महिना दिनसम्म काठमाडौं रहँदा पशुपतिनाथको दर्शन गरे । गुहेश्वरी पुगे । काठमाडौंमा राणाहरूले मात्रै मोटर चढ्थे । श्रेष्ठ र थुलुङ हिँडेरै चिडियाखाना पुगे । चार पैसाको टिकट लिएर चिडियाखाना घुमेको हिजैजस्तो लाग्ने गरेको श्रेष्ठले बताए । उनले सम्झे, ‘सिलाइ राम्रो हुन्छ भनेर त्रिपुरेश्वरमा एउटा कोट किनेको थिएँ । कोटको झन्डै ४० रुपैयाँमा परेको थियो ।’


उदय स्कुल सञ्चालनका लागि स्वीकृति लिन नारदमुनि थुलुङसँग काठमाडौं हिँडेका श्रेष्ठलाई भोजपुरबाट सुनसरीको चतरा पुग्न तीन दिन लागेको थियो । चतराबाट बसमा धरानसम्म पुगे । धरानबाट जोगबनीसम्म बसमै पुगेका श्रेष्ठ र थुलुङ जोगबनीदेखि रक्सौलसम्म रेलयात्रा गरेका थिए । रक्सौलदेखि पुनः बसमै भीमफेदी पुगेका थिए । जोगबनीदेखि रक्सौलसम्मको रेलभाडा ५ रुपैयाँ ४५ पैसा थियो । रक्सौलदेखि भीमफेदीसम्म बसमा । रक्सौलदेखि भीमफेदीसम्म पुग्न बसमा ६÷७ घन्टा लाग्थ्यो । भाडाचाहिँ दुई/अढाई रुपैयाँ लाग्थ्यो ।

संवत् २०१५ सम्म भीमफेदीमा भिसा लिएरै काठमाडौं/भोजपुर गरेका इन्द्रप्रसाद श्रेष्ठले प्रस्ट्याए, ‘हिजोआज विदेश गएजस्तो भिसा नै त होइन, अनुमतिपत्रजस्तो लिनुपथ्र्यो । त्यतिबेला त्यसलाई एकप्रकारको भिसा भन्दा पनि हुन्छ ।’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल