GROUND ZERO REP0RTING : चुनावबारे मधेशका स्थानीय नेता के सोचिरहेका छन् ?

GROUND ZERO REP0RTING : चुनावबारे मधेशका स्थानीय नेता के सोचिरहेका छन् ?

जनकपुरधाम, बैशाख ६– बैशाख ३१ को लागि घोषणा भएको स्थानीय चुनावलाई लिएर सवैभन्दा ठूलो बहस राजधानीमा छ । तराई–मधेश केन्द्रित राजनीति दलहरुले आफ्ना माग पुरा नगराएसम्म मधेशमा चुनाव हुन नदिने अडान राखेका छन् । तर, यस्तो अडान काठमाडौंमा बसेरठूला नेताले सुनाईरहेका हुन्छन् ।

चुनावको विषयलाई लिएर मधेशका जिल्लामा बसेर राजनीतिक गरिरहेका स्थानी नेता के सोचिरहेका छन् ? हामीले जनकपुरमा पुगेर जवाफ खोेज्ने प्रयत्न गरेका छौँ ।
धनुषा, गृहमन्त्री बिमलेन्द्र निधिको गृह जिल्ला । मधेशी मोर्चाका सहभागीता विना चुनाव हुन नसक्ने आशयका ट्वीटपछि पछिल्लो पटक गृहमन्त्री निधि पनि विवादमा तानिएका छन् । जनकपुर पुगेका रातोपाटी संवाददाता शंम्भु दंगाल र धनुषा संवाददाता अमरेन्द्र यादवले जिल्लाका विभिन्न पार्टीका नेताहरुसँग भेट गरेका थिए । आन्दोलन गरिरहेका मधेशका नेताहरु पनि भेटेका छन् । र, पार्टीको केन्द्रीय नीति अनुसार चुनावी तयारीमा लागेका प्रमुख तीन दलका स्थानीय नेतासँग पनि कुराकानी गरेका छन् ।

मधेशको चुनावमाथि देखिएको बादल झन्–झन् गहिरो बन्दै गएको छ । जसरी, सरकार, निर्वाचन आयोग र प्रमुख दल चुनावी तयारीमा लागेका छन् । त्यसै गरी मधेशी मोर्चा, संघीय गठबन्धन र चुनाव चिन्हका माग गरिहेका नयाँ शक्तिसहितका दलहरु आन्दोलनमा उत्रेका छन् । मधेशमा यसको असर के हुन सक्छ ? यो पनि उत्तिकै महत्वको प्रश्न हो ।

मधेशी मोर्चा र उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनले आमहडतालसहितका संघर्षका कार्यक्रम घोषणा गरेपछि मधेशमा चुनाव नजिकदिै जाँदा तनाव बढन सक्ने आकलन पनि हुन थालेका छन् । सरकारले संविधान संसोधनका लागि नयाँ विद्येयक अगाडि सारेपछि मोर्चा थप असन्तुष्ट छ ।

धनुषाको जनकपुरधाममा चुनावको पक्ष र विपक्षमा देखिएका दलका स्थानीय तहका नेताहरुसँग तराईमा चुनावको सरगर्मीबारे अन्र्तक्रिया गरेका छन् । रातोपाटी संवाददाता जनकपुरको बशिष्ट चोकमा रहेको सद्भावना पार्टीकी सह महासचिव सुरिता साहको निवासमा पुगेका थिए । डा. बाबुराम भट्टराई सरकारका पालामा सूचना तथा संञ्चार राज्यमन्त्री समेत भएकी साह एक महिनामा आधा समय काठमाडौ र आधा समय जनकपुरमा बस्ने गरेकी छिन् ।

उनले हामीसँगको कुराकानीमा तराई मधेशमा स्थानीय तहको चुनावमाथि विरोधको माहोल बढिरहेको दावी गरिन् । उनका अनुसार सरकारले स्थानीय तहको पुर्नसंरचना गर्दा तय भएका गाँउपालिका, नगरपालिका उपयक्त नभएको भन्दै बिरोध भइरहेको छ । संविधान संसोधन बिना कुनै हालतमा चुनाव हुन नसक्ने उनले बताइन् ।

सरकारले आयोगमार्फत सीमाङ्कनको कुरा गरेपनि त्यसले समस्या समाधान गर्छ भन्नेमा आफुलाई विश्वास नलागेको साहको दावी थियो ।
हेर्नुहोस, सद्भावना पार्टीकी नेता सुरिता शाहसँगको यो कुराकानी :

जनकपुरको रामानन्द चोकमा संघीय समाजबादी फोरम नेपाल धनुषा जिल्ला उपाध्यक्ष दिनेश कुमार यादव भेटिए । सुरिता शाहले जस्तै यादवले पनि धनुषामा कुनै पनि राजनीतिक पार्टीले चुनावी गतिबिधी शूरु नगरेको बताए । उनले संविधान संसोधन बिना कुनै हालतमा मधेसमा चुनाव हुन नसक्ने बताँउदै चुनाव गराँउन खोजे त्यसले मुठभेड निम्त्याउने दावी गरे ।

तमलोपाकी केन्द्रीय सदस्य विभा ठाकुरलाई हाम्रा संवाददाताले धनुषाको जिल्ला निर्वाचन कार्यालयमा धर्ना दिन पुगेका बेला भेटेका थिए । स्थानीय तह निर्वाचनको बिरोध गर्दै आइरहेका मधेस केन्द्रीत दलहरुले आन्दोलनका कार्यक्रम अन्र्तगत विभिन्न शैलीबाट बिरोध प्रर्दशन गर्दै आइरहेका छन् ।

आइतबार दिँउसो मधेसकेन्द्रीत दलहरुले जिल्ला निर्वाचन कार्यालयमा धर्ना दिएका थिए । सो क्रममा विभा ठाकुर एक हातमा पार्टीको झण्डा लिएर नारा लगाइरहेकी थिइन् । निर्वाचनबारे उनको प्रतिक्रिया लिँदा २ नंबर प्रदेश छोडेर सरकारले अरु ठाँउमा निर्वाचन गरे देश टुक्रिने उनको अभिब्यक्ति थियो ।

फोरम लोकतान्त्रिकका नेता उमाशंकर अरगरियालाई हाम्रा संवाददाताले उनकै निवास भानुचोकमा भेटेका थिए । यसअघि पार्टीको धनुषा जिल्ला अध्यक्ष समेत रहेका अरगरियाले उनको दलले तराईका जिल्लाहरुमा पार्टीको संगठन बिस्तारको कामलाई तिब्रता दिएपनि स्थानीय तहको निर्वाचनका लागि नभएको दावी गरे ।

६४ सालमा पनि आन्दोलनका क्रमबाटै चुनावमा भाग लिएर पार्टीले नतिजा राम्रो ल्याएको बताँउदै उनले यसपटक पनि बैशाख दोश्रो साता अघि सहमति जुटेका निर्वाचनका लागि तयार रहेको संकेत गरे ।

स्थानीय तहको निर्वाचनको बिपक्षमा रहेको मधेसकेन्द्रीत दलमध्ये तराई मधेस लोकतान्त्रिक पार्टी पनि एउटा हो । तमलोपाका धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहलाई हाम्रा संवाददाताले जनकपुरको ब्यस्त भानुचोकमा भेटेका थिए ।

भानुचोक सडक निर्माणका लागि भत्काइएको थियो भने बिहान परेको असिना पानीले सडक हिलाम्मे बनेको थियो । त्यही हिलाम्मे सडकछेउमा स्थानीय तहको निर्वाचनप्रति उनको धारणा मागेका थियौँ । उनले नेकपा एमाले मधेसी दलको टारगेट भएको बताँउदै चुनाव भएपनि एमालेलाई निषेध गर्ने बताए ।

चुनावको बिरोध गरिरहेका दलहरु अन्र्तगत धनुषाका स्थानीय नेताको प्रतिक्रियापछि चुनावको पक्षमा रहेका दलका नेताहरुको प्रतिक्रिया पनि लिइएको थियो ।

तराईका जिल्लाहरुमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओबादी केन्द्र स्थानीय तहको निर्वाचनको पक्षमा रहेका दलहरु हुन् । तराईका जिल्लाहरुमा उनीहरुले निर्वाचनका लागि भित्री रुपमा गृहकार्य शुरु गरेपनि खुलेर आफ्ना गतिबिधी संचालन गर्न सकिरहेका छैनन् ।
उनीहरुमा मधेशी मोर्चाको शिकार हुनुपर्ला कि भन्ने भय अझै कायम छ, जसका कारण पहाडी क्षेत्रमा जस्तो खुलेर न त चुनावी प्रचार गर्न सकेका छन् न त उम्मेद्धवार नै छनौट गर्न सकेका छन् ।

जनकपुरको रामानन्द चोकमा माओबादी केन्द्रका एकजना स्थानीय नेता भेटिए । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, महेन्द्रनगरका संयोजक टंकप्रसाद भण्डारी स्थानीय तहको चुनावका लागि माओबादी केन्द्रका तर्फबाट मेयरका लागि प्रस्तावित ब्यक्ति समेत थिए । उनले आफ्नो नगरपालिकामा कांग्रेस, एमाले र माओबादी केन्द्रले वडा वडा अध्यक्ष र सदस्यहरु छान्ने काम गरिरहेको बताए । भित्री रुपमा सक्रियता बढेपनि चुनाव होला भन्ने उनमा आशा थिएन ।

माओबादी केन्द्रका स्थानीय नेता भण्डारीसँग कुराकानी गरेपछि कांग्रेस धनुषाका सचिव सन्तोष यादवसँग भेट भयो । चुनावको पक्षमा रहेपनि अहिलेको अवस्थामा मधेसमा चुनाव हुन्छ भन्नेमा उनलाई विश्वास लागेको थिएन् । सरकारले ल्याएको संविधान संसोधनको दोश्रो विधेयकले झन अन्यौलता थपिएको र मधेसी मोर्चाको माग पूरा नगरी चुनाव गरे मधेसी समुदायमा मुठभेडको अवस्था आउने उनले बताएका थिए ।

झन्डै एक महिनाअघि नेकपा एमालेले मेची काली अभियान शुरु गर्ने क्रममा सप्तरीमा हिंसात्मक घटनाभएपछि तराई मधेशमा एमाले रक्षात्मक अवस्थामा पुगेको छ ।

खासगरी मधेसी मोर्चाका कार्यकर्ताले एमाले बिरोधी अभियान जस्तो नै शूरु गरेका छन् जसका कारण तराईमा एमालेले खुला रुपमा सभा सम्मेलन गर्न सकिरहेको छैन् । एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवलाई जनकपुरको गोड्धोई पोखरीछेउ भेटिएका थिए । मधेसकेन्द्रीत दलका स्थानीय नेताहरुले चुनावको कुनै तयारी नगरेको र अहिलेको अवस्थामा चुनाव गर्न खोजे भाड्ने चेतावनी दिइरहेका बेला उनले भने सबै दलले चुनावको तयारी गरिरहेको दावी गरे ।
चुनाव समर्थित दलमा आवद्ध धनुषाका स्थानीय नेताहरुमा चुनावको उत्साह भने थिएन । उनीहरुले चुनावको तयारी गरिरहेको त बताए तर हालसम्म सार्वजकि स्थलमा कुनै औपचारिक चुनाव केन्द्रीत कार्यक्रम गर्न सकेका छैनन् । तर आन्दोलनमा रहेको मोर्चा र ठूला पार्टीका स्थानीय नेताहरु पार्टीको संगठन बिस्तारमा भने जुटिरहेका देखिन्थे ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल