बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नवप्रवेशीलाई नेकपाले कति न्याय गर्छ ?

बुधबार, २५ भदौ २०७६, १० : १०
बुधबार, २५ भदौ २०७६

काठमाडौँ ।

उदाहरण १ - भदौ २२ गते राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष अर्जुन मडै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरे । अध्यक्ष मडैसँगै जनमोर्चालगायत अन्य पार्टीका एक दर्जन बढी नेता/कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका थिए । सुर्नया गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शनिबार उनीहरू नेकपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने नवप्रवेशीलाई नेकपा केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इञ्चार्ज नरेन्द्र कँुवर (विजयसुन्दर)ले टीका लगाई स्वागत गरेका थिए ।

उदाहरण २– भदौ २२ गते नै नेपाल कम्युनिष्ट पार्टी–मदनवादी, नेकपामा समाहित भयो । प्रचण्डले आफ्नो निवास खुमलटारमा नेपाल कम्युनिष्ट पार्टी–मदनवादीका केन्द्रीय प्रवक्ता बिष्णुप्रसाद ढुंगानसहित सबैलाई नेकपामा स्वागत गरे । पार्टीमा स्वागत गर्दै प्रचण्डले देशको समृद्धि र समाजवादको लक्ष्य पुरा गर्न छरिएर रहेका सबै कम्युनिष्ट पार्टीहरु एकजुट हुनुपर्ने बताए । नवप्रवेशीलाई पार्टी सचिवालयमा छलफल गरेर उचित जिम्मेवारी दिन बताए ।

उदाहरण ३– भदौ २३ गते विप्लव समुह परित्याग गरी रामेछाप र सिन्धुपाल्चोकका जिल्ला इन्चार्ज यादव ढुंगेल ‘जमिन’ र गोपाल श्रेष्ठ ‘प्रयास’ नेपाल नेकपामा प्रवेश गरे । सोमबार साँझ खुमलटारमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका थिए । सोही दिन विप्लव समुहका काभे्र जिल्लाका जिल्ला समिति सदस्य राजकुमार बुढाथोकी पनि नेकपा प्रवेश गरे ।

एक दिनको फरकमा भएका यी तीन प्रवेशले नेकपामा प्रवेशको ढोका खुलै छ भन्ने सन्देश दिएको छ । के त्यसो भए नेकपामा नवप्रवेशीहरुलाई उचित जिम्मेवारी पनि दिइन्छ ? यो प्रश्न पनि उठेको छ । तत्कालीन एमाले र माओवादीले प्रतिशतका आधारमा जिम्मेवारी बाँडेपनि नवप्रवेशीले त्यही अनुसारको जिम्मा पाएका छैनन् ।

नेकपाले नवप्रवेशी सबैलाई उचित जिम्मेवारी नदिएपनि कतिपय नेतालाई भने न्याय दिने कोशिस गरेको छ । जस्तो कि भदौ ९ गते बसेको सचिवालय बैठकले बैठकले नयाँ शक्ति पार्टी नेपाल र नेत्रविक्रम चन्द समूहबाट नेकपामा प्रवेश गरेकामध्ये चार जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । मनोनीत हुनेमा देवेन्द्र पराजुली, कल्पना धमला, पद्म राई र किरण राई थिए ।

पराजुली र धमला  बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी  परित्याग गरी नेकपा प्रवेश गरेका थिए । त्यस्तै राईद्वय चन्दसमूहबाट नेकपा प्रवेश गरेका थिए ।

पार्टी एकता प्रक्रियामा सामेल भएकामध्येबाट १० प्रतिशतसम्म केन्द्रीय समितिमा समावेश गर्न सकिने प्रावधानबमोजिम उहाँहरुलाई केन्द्रीय सदस्यमा मनोयन गरिएको थियो । यस्तै नेकपामा प्रवेश गरेर अवसर पाउनेमा नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल पनि छन् । उनलाई अस्ट्रेलियाको लागि नेपाली राजदूत बनाइएको छ । दाहाल ०७५ असोजमा नेकपामा प्रवेश गरेका थिए । उनलाई पार्टी कार्यालयमा अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले पार्टी प्रवेश गराएका थिए ।

तर, पूर्वमन्त्री धमलासहित नेकपा प्रवेश गरेकी मनु हुमागाइँ र आम नेपाली पार्टीका नीलकण्ठ पौडेल भने केन्द्रीय सदस्य भएनन् ।

त्यसपछि असार २६ गते नेत्र विक्रम चन्द समूहका मेची–कोशी ब्यूरो सदस्य एवम् झापा जिल्ला इञ्चार्जसहित एक दर्जन नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई आफ्नै निवास खुमलटारमा स्वागत गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगदानको कदर गरिने बताएका थिए । कार्यक्रममा सगरमाथा ब्यूरो सदस्य एवम् सङ्खुवासभा सेक्रेटरी छिरिङ शेर्पा, पाँचथर जिल्ला सचिवालय सदस्य वीरेन्द्र मगराती, झापा जिल्ला सदस्य नारदमणि साम्पाङ, सोलुखुम्बु जिल्ला सदस्य नवराज ढकाल, धनकुटा जिल्ला सदस्य एडी राई, सोलुखुम्बुका जिल्ला सेक्रेटरी वीरता खड्का, सङ्खुवासभा जिल्ला सदस्य प्रतिमान राई, कोशी व्यूरो सदस्य नवराज राई, चन्द समूहका युवा सङ्गठन सङ्खुवासभाका जिल्ला सदस्यहरू भरत चापागार्इं र हरि चापागाईं नेकपामा प्रवेश गरेका थिए ।

यसअघि पनि नेकपामा विभिन्न पार्टी परित्याग गरी धेरै नेता कार्यकर्ता प्रवेश गरिसकेका छन् । अहिलेसम्म उनीहरुले पनि उपयुक्त जिम्मेवारी पाएका छैनन् । अर्कोतर्फ नेकपामा कति नेता कार्यकर्ता प्रवेश गरे भन्ने तथ्याङ्क पार्टी कार्यालयसँग छैन ।

सवैलाई उपयुक्त भूमिका दिन्छौँ : नारायणकाजी श्रेष्ठ, प्रवक्ता नेकपा

पार्टीमा प्रवेश गर्नुभएका सबै कमरेडलाई उपयुक्त भूमिका दिने नीति पार्टीले बनाएको छ । तर, अझैपनि त्यसलाई व्यवस्थित गर्न बाँकी छ । कैयौँ कमरेडहरु पार्टीमा प्रवेश गरेर लामो समय भैसक्दा पनि संगठित हुन नपाएको स्थिति पनि छ । तरपनि अहिले सांगठनिक एकीकरणको काम मूलभुत रुपमा सकिएपछि जिम्मेवारी दिन वाँकी भएका कमरेड सबैलाई उहाँहरुको कमिटी वा भूमिका कुन ठाउँमा राख्ने भनेर निर्णय गर्छौँ । र, नेकपामा प्रवेश गरेका वा पार्टीमा भएका कसैलाई पनि कमिटी र भूमिकाबाट छुट्ने स्थिति हुन दिन्नौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप