केन्द्रीय संस्करण
लोक बाजा

प्रेमिकाको सम्झनामा बनेको नेपाली बाजा

person explore access_timeभदौ २५, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

प्रेमको नाममा संसारभरि नै विभिन्न स्मारकहरू निर्माण भएका छन् ।

यस्ता स्मारकहरू आफूले एकदमै माया गरेका दिवङ्गत प्रेमी वा प्रेमिका नाममा मात्र होइन, जीवित अवस्थामै पनि उपहार स्वरूप निर्माण भएको पाइन्छ ।

आज ती स्मारक आआफ्नो देशका पर्यटकीय स्थलका रूपमा मानिसलाई आकर्षित गरिरहेका छन् । 

सबैभन्दा चर्चित ताजमहललाई मान्न सकिन्छ । यो मुगल सम्राट शारजहाँले आफ्नी दिवङ्गत पत्नी मुमताजको सम्झनामा बनाएका थिए ।

विश्वसम्पदा सूचीमा सूचीकृत हुुनुको अतिरिक्त विश्वको सात आश्चर्यमा पनि यो समावेश छ । १७ वर्ष लगाएर निर्माण भएको यो स्मारकले अहिले विश्वभरीका पर्यटकलाई तान्ने गर्छ । 

स्कटल्यान्डको स्विट हर्ट अवे पनि यस्तै प्रेमको नाममा निर्माण भएको स्मारक हो । यो संरचना डेभारगिल्लाले उनको पति जोन बल्लिओलालाई गुमाएको पीडा सहन नसकेपछि निर्माण गरेकी थिइन् । 

नेपालको पाल्पा जिल्लामा रहेको रानी दरबार पनि प्रेमिको सम्झनामा निर्माण गरिएको थियो । काली गण्डकीको किनारमा रहेको उक्त दरबार खड्ग शमशेर राणाले आफ्नी दिवङ्गत रानी तेजकुमारी देवीको सम्झना निर्माण गरेका थिए । 

यसबाहेक पनि मलेसियाको केलिज दरबार, अमेरिकाको फ्लोरिडा प्रान्तमा रहेको कोरल दरबार, अमेरिकाको वासिन्टनकै थोर्नउड दरबार, जापानको कोलाई–जी मन्दिर, फ्रान्सको पेटिट ट्रायनन, अस्ट्रियाको मिरावेल दरबार र त्यसको बगैँचा पनि प्रेमकै सम्झनामा निर्माण गरिएको हो ।

उल्लेखित स्मारक सम्पन्न व्यक्तिले निर्माण गरेकाले विशाल आकारका थिए । त्यसैले धेरैको नजरमा पर्यो तर संसारभरिका प्रेमिल व्यक्तिले आफ्नो माया गर्ने व्यक्तिको सम्झनामा आफ्नो गच्छेअनुसार धेरैथरी सिर्जना गरेका छन् । 

तीमध्येको एक ‘प्यारी टुङ्ना’ भन्ने बाजा पनि हो । नेपालको प्राचीन बाजामा पर्ने ‘टुङ्ना’ एक व्यक्तिले प्रेमीकाको सम्झनामा बनाएका हुन् । तर धेरैलाई थाहा नहुन सक्छ । काठमाडौँको त्रिपुरेश्वरमा रहेको लोकबाजा सङ्ग्रहालयमा यसलाई देख्न र यसको बारेमा थाहा पाउन सक्नु हुनेछ । 

रामप्रसाद कँडेलको एकल प्रयासमा स्थापना भएको यो लोकबाजा सङ्ग्रहालयमा ६ सय ५५ प्रकारका बाजा सङ्कलित छन् । ती बाजामध्ये ‘यारी टुङ्ना’सहित १० बाजाको विषय हामीले रामप्रसादसँग खोतलेको प्रसङ्ग उनकै शब्दमा ।
 
प्यारी टुङ्ना :

‘प्यारी टुङ्ना’ सुनुवारहरूको बाजा हो । हरेक बाजा बन्नुको पछाडि एउटा कथा लुकेको हुन्छ । यसको पनि त्यस्तै कथा छ । आमाबुबा र एक छोरोसहित एउटा तीन सदस्य भएको एक सुनुवार परिवार रहेछ । 

छोरो सानै छँदा त्यो परिवारको मूली मान्छे अर्थात बुबा बित्नु भएछ । त्यसको रामेछापपट्टि मावली र अहिलेको ओखलढुङ्गापट्टी घर रहेछ । बुबा बितेपछि उनको आमा घरमा बस्न सकिनन् । उसलाई लिएर माइत पुगिछन् ।  माइतीले यसको आमाको अर्काे विवाह गरिदिएछन् । ऊ मामघरमै बस्न थाल्यो । उसको उमेर बढ्दै गएपछि कसैले उसलाई बाबुको बारेमा भनिदियो । बाबु मरेर गए पनि घरमा भेडा बाँकी छ भनेर घर जान हुटहुटी लगाएछ । मामाघरमा भतुवा बसेको भनेछ । 

त्यो कुरा मनमा बिझेपछि ऊ घर गयो । घर गएपछि आफ्नो र गाउँभरिका भेडा चराउने काम गर्न थाल्यो । हिउँद लागेपछि भेडा बेँसी सार्ने र वर्षा लागेपछि लेख चढ्ने क्रम हुन्थ्यो ।

३५, ४० वर्ष भइसक्दा पनि उसको हेरचार गर्ने केही थिएन् । एक समय भेडा लिएर बेँसी झर्ने क्रममा कुमालकी छोरी टुङ्ना कान्छी भन्नेसँग प्रेम बस्यो ।

केही वर्षको प्रेमपछि दुवैले एकअर्कासँग विवाह गर्ने निधो गरे । टुङ्ना कान्छीले उसँग नै जाने विचारले ६ जना साथी विधा हुन बेला गरिन् । भेडा जङ्गलमा छोडेर ऊ, टुङ्ना कान्छी र यसका ६ जना साथीहरूका सिमलका हाँगामा बसेर कुरा गरिरहेका थिए । 

जङ्गलमा अकास्मात आगो लाग्यो । आगोले भेडाहरू यताउता दौडन थाले । उनीहरूले के भयो भनेर हर्दा ।  चलमलाएको कारण रुखको हाँगो भाचियो । त्यो हाँगोमा बसेको मध्ये ऊ र टुङ्ना कान्छीका साथीहरू बाँचे ।  टुङ्ना कान्छी मरिन् । ७ सय भेडामा तीन सय बाँकी रहे । 

धेरै भेडामा उसको प्रिय भेडा दुईवटा थियो । त्यसमध्ये एउटाको भुँडी र अर्काेको टाउको मात्र बाँकी रह्यो ।

दुःखी भएर त्यो ठाउँबाट हिँड्न लाग्दा उनको मनमा यो सिमलका हाँगो नभाँचिएको भए टुङ्ना कान्छी मर्ने थिइन् भन्ने लाग्यो । उसले रिसले सिमलको हाँगो काट्न थाल्यो । काटेपछि के फाल्ने भनेर सँगै लिएर हिँड्यो ।

प्यारो भेडाको सम्झना छोड्नुभएन भनेर त्यो हाँगाको एका पट्टि भेडाको बाँकी रहेको टाउको र अर्काेमा छाला र आन्द्र झुन्ड्याए हिँड्यो ।

हिँड्दै जाँदा एक्कासि रिस उठेछ । रिसमा उसले हाँगो खुर्पाको चुच्चोले खाल्टो पार्यो । खाल्टो राम्रो नदेखेपछि त्यो भेडको छालाले बेरेर प्वाल टाल्यो ।

छालाले प्वाल टालेपछि आन्द्रा कहाँ राख्ने भनेर जनै लगाएको जस्तो गरेर तलदेखि माथि त्यसमै घुमायो । 

आन्द्र सुक्दै गएपछि एक दिन उसले त्यो आन्द्रमा छुँदा टुङ्न गर्ने आवाज निस्किएछ । त्यो आवाज आएपछि उसलाई ‘टुङ्ना कान्छी’को प्रेमी एउटा गीत फुर्यो । उसले त्यही बजाएर गाउन थाल्यो । त्यो बाजाको नाम उसले ‘प्यारी टुङ्ना’ राख्यो । त्यही भएर पनि टुङ्नाको माथिको भागमा महिला जस्तो आकार राखिएको हुन्छ ।

रणसिंहा:

यो सिङ आकारको बाजा हो । पहिले यो बाजा भाले जनावारको सिङबाट बन्थ्यो होला । अहिले त्यो उपलब्ध नहुने भएकाले तामाको बन्न थालेका छन् ।

‘रण’को अर्थ लडाइँ र ‘सिंहा’को अर्थ सिङ हो । पहिले लडाइँका बेला विपक्षी, विरोधीलाई आफ्नो आवाजबाट त्रसित पार्न यो बाजा प्रचलनमा थियो ।

यो बाजा ठूलो आवाजमा बजाउँदा शत्रुपक्ष डराउँछ, हौसला कम हुन्छ, मनोबल गिर्छ र आफ्नो पक्षको मनोबल बढ्छ भन्ने मान्यता थियो । गाउँघरमा यो बाजाको निर्माण विश्वकर्मा र सहरमा कालीगढले गर्छन् । पातलो तामाको ४ टुक्रा जोडेर यो बाजाको निर्माण गरिन्छ ।

तामाको त्यो ४ वटा टुक्रा सर्प आकारले घुमेको हुन्छ । यो बाजा बजाउँदा सर्पले शत्रुलाई ठुँगेको महसुस हुन्छ । पहिले  तान्त्रिक दीक्षा लिएका व्यक्तिले मात्र यो बाजा बजाउने गदर्थे ।

उनीहरूले यसको आवाजमा तन्त्र प्रयोग गरेर शत्रुलाई हतियार चलाउन नसक्ने, हात नचल्ने, पाइला रोकिने जस्तो बनाउँथे रे । नेपाल एकीकरणको समय पृथ्वीनारायण शाहले हरेक किल्ला किल्लामा यो बाजाको प्रयोग गरेको पाइन्छ । 

थात्रा :

यो थामी समुदायको बाजा हो । थामीहरूको मकैबालीमा बाँदर धेरै लाग्थे । त्यसैले थामी समुदायले यो बाजा बाँदर धपाउन प्रयोग गर्दथे । एउटा बाँसको टुक्रालाई तीन ठाउँमा चिरेर यो बाजा बनाइन्छ । हावाबाट बज्ने यो बाजाबाट बेस्सरी हावा चलेको समय धेरै मानिसले थप्पडी पड्काएको जस्तो आवाज निस्किन्छ ।

यो बाजा बज्दा बाँदरहरू धेरै मानिस आए भनेर भाग्छन् । विशेष गरेर दोलखाका थामीहरू जो ढुङ्गाको खानीमा काम गर्छन् । उनीहरूको खेत हँुदैन । बारीको मकैमा भर पर्नुपर्छ । ती थामीहरूले यो बाजा अहिले पनि प्रयोग गर्ने गरेका छन् ।

कलस कर्णाल : 

यो दमाईहरूको बाजा हो । हाम्रो कलासंस्कृति र परम्पराअनुसार जे शुभकार्य गर्दा पनि पहिले कलश स्थापना गर्नुपर्छ । कलश भनेको घडा हो । तन्त्र र वैदिक दुवै विधिमा कलश मान्ने र प्रयोग गर्ने चलन छ । दियो, कलश र गणेशको पूजा गरेर मात्र अन्य काम गर्दा सफलता मिल्छ भन्ने हाम्रो मान्यता रहँदै आएको छ ।

त्यसैले त्यति बेलाका सङ्गीतकारहरूले कलश कर्णालमै कलश स्थापना गरेका थिए रे । कलशमा जल हुन्छ । यो बाजा उनीहरूले बजाउँदा जल तत्वको भाव दिएर सबैलाई शीतलता, मङ्गलता प्रधान गर्ने विश्वास रहँदै आएको छ ।

पञ्चेबाजा भनेको पञ्चतत्वले भएको बाजा हो । त्यही बाजामा पर्ने यो कलश कर्णाले जल तत्वको भाव दिन्छ । लिच्छिविकाल भन्दा पहिलेदेखि नै यो बाजा प्रचलनमा आएको पाइएको छ । देशको पहाडी भेगमा पाइने यो बाजा अहिले पनि प्रयोगमा आउने गरेको छ ।

बयल घण्टा  ः

हाम्रो लोक जीवनमा आफू मात्र सुखी भएर पुग्दैन । जीवजन्तु पशुपन्छी पनि सुखी हुनुपर्छ । सबैको पीर हरण होस् भन्ने मान्यता रहने गरेको छ । त्यही मान्यताले गर्दा ‘बयलघण्टा’ भन्ने बाजाको निर्माण भएको हो ।

यो गोरुको घाँटीमा झुन्ड्याइने बाजा हो । तराईमा गोरुले धेरै सामानले भरिएको गरौँ गाडा तान्नुपर्छ । त्यो भारी बोक्दा गोरुलाई धेरै गाह्रौँ पनि हुन्छ । हाम्रो लोक सङ्गीतमा धेरै ताल छन् । ती तालले चाललाई मद्दत गर्ने गर्छन् ।

गोरुले घन्टाको आवाज सुनेर त्यसको तालसँगै आफ्नो खुट्टाको चाल गरोस् र थकान बिर्सियोस् भनेर यो बाजा बनाइएको हो । बयल अर्थात गोरुको घाँटीमा झुन्ड्याइने बाजा भएकाले यसको नाम बयलघण्टा भएको हो । काठबाट बन्ने यो बाजा थारुहरूको बाजा हो ।

वीणा :

एक तारदेखि सय तारसम्मको वीणा छन् । त्यसमा कोही कोट्याएर, कोही रेटेर र कोही हिर्काएर बजाउने खालका छन् । हाम्रो नेपालमा प्रचलनमा भएको चाहिँ सरस्वतीको वीणा हो ।

यो सानो हुन्छ । त्यसमा ३ वटा तार हुन्छन् । यसको तल र माथि आवाज आउने एक एक डल्लो राखिएको हुन्छ । यो भिरेर बजाउने बाजा हो । यो बाजा अहिले सार्वजनिक रूपमा देखिन छोड्यो । पहिले सबै सरस्वतीका मूर्तिमा वीणा हुन्थ्यो । वीणालाई सरस्वतीको प्रतीक, ज्ञानको प्रतीक, चेतनाको प्रतीक भन्ने गरिन्छ ।

निकै चर्चित यो बाजा यवनहरूले हार्माेनियम ल्याएपछि हराएर गयो । वीणा लोप हुनु भनेको हाम्रो बौद्धिक गायन पद्धतिको लोप हुनु हो ।

धर्म डण्डी :

बिहान, बेलुका पूजा, स्तोत्र होस् वा धारणी पाठ गर्दा बिहारमा बजाइने बाजा हो ‘धर्म डाण्डी’ । पहाडको मध्य भूभागमा पाइने मालागिरी भन्ने एक प्रकारको काठ हुन्छ । त्यो काठले ठोकेर यो बाजा बजाउने गरिन्छ ।

लिच्छविकालदेखि सुरु भएको यो बाजा अहिले पनि बिहारमा कतै कतै बजाउने चलनछ । यो बाजा पाटनको हीरण्यवर्ण महाविहार अर्थात गोल्डेन ट्याम्पलमा अहिले पनि देख्न सकिन्छ । 

तासा :

कवाज खेल्दा बजाउने यो बाजा सेनाको बाजा हो । यो बाजा अहिले लोप भएर गैसक्यो । यसको साटो ब्रिटिस ड्रम प्रयोग गर्ने गरिन्छ । 

पहिले पहिले तासा बाजाको तालमा सेनाले कवाज, परेड खेल्थे । यो बाजालाई दुईवटा काठको गजले बजाउने गरिन्छ । पहिले सेनाको यो बाजाको तालमा छिटो हिँड्ने कि ढिलो, समूहमा हिँड्ने कि एक्लै हिँड्ने, कसरी हिँड्ने लगायत विभिन्न प्रकारको चाल निर्धारण हुन्थ्यो ।

पृथ्वीनारायण शाहको पालामा यो बाजा सेनामा बजाइने गरिन्थ्यो । सुगौली सन्धिपछि नेपाल एकीकरणको काम बन्द भयो । त्यो बेलादेखि यो बाजा हराएर गएको हो ।
 
गुजराती मुहाली :

गुजराती मुहाली मुहाली कपालीहरूको बाजा हो । यो फुकेर बजाउने बाजा पनि हो । यो बाजाको माथि नल हुन्छ । यसलाई अङ्ग्रेजीमा रिड भन्छ । यो आँैला चालेर बजाउने बाजा पनि हो । 

यो बाजा मन्दिरमा विशेष पूजाआजामा बजाउने गरिन्छ । हरेक मन्दिरमा कपालीहरूको बाजा बजाउने गुठी छ । त्यो गुठीमा उनीहरूले मन्दिरमा बाजा बजाउनुपर्ने हुन्छ । 

गुजराती महाली भनेको विवाहका बेलामा अनिवार्य बजाउनुपर्ने बाजा हो । ‘राजमती कुमती’ भन्ने नेवारी चर्चित गीत छ । त्यो गीतमा केटीले गुजराती महाली बजाएर मलाई लिन आइज भनेकी छन् ।

यो बाजा धार्मिक रूपमा मात्र नभएर सांस्कृतिक जीवनमा पनि महत्त्व राख्छ । यो बाजाको सुर र ताल फरक फरक छन् । दुलही लिन जाँदा, घरबाट निस्कने बेला, बाटोमा हिँड्दा, देउताको मन्दिर भेटिँदा, देउरालीमा, खोलो तर्दा, विवाहमा सिन्दूर हाल्ने बेला लगायत हरेक मुभमेन्टमा फरक फरक धुन प्रयोग गर्ने चलन थियो ।

आरबाजो :

यो गन्धर्वहरूको बाजा हो । गन्धर्वहरू पोथी बाजा भनेर सारङ्गीलाई भन्छन् भने भाले बाजा भनेर आरबाजलाई भन्छन् । उनीहरूले आदि पुरुष ब्रह्मभरत हुन् । यसले बनाएको बाजा भएकाले यो बाजाको टाउकोमा सरस्वती वा हाँसको टाउको हुन्छ ।

कसैमा ब्रह्माको टाउको हुन्छ । यसमा चारवटा तार हुन्छन् । तार सिउँडी अथावा खमारीले बनाउनु पर्छ । यो काखमा तेर्साे पारेर राखेर कोट्याएर बजाउने बाजा हो ।

पहिले पहिले सारङ्गी र यो सँगसँगै बजाउन हिँड्ने चलन थियो । यो गन्धर्वहरूको प्राचीन बाजा हो । यो बाजाको तलमाथि केराको काइँयो आकारको कलश राखिएको हुन्छ । लोप हुने अवस्थामा रहेको यो बाजा हामीसँग भए पनि ताल भने थाहा हुँदैन । 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...