बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु

बुधबार, २५ भदौ २०७६, १८ : ४४
बुधबार, २५ भदौ २०७६

काठमाडौं– सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) सुरु भएको छ । बुधबार एक कार्यक्रमका बिच सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुनज्यूले एक्स्पोको उद्घाटन गर्नु भयो । 

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा एक्स्पो सुरु भएको हो । राजधानीको भृकुटीमण्डपमा सुरु भएको एक्स्पो भदौ २९ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोको उद्घाटन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले मानिसको जीवनमा जुनसुकै बेला पनि आवश्यक पर्ने फर्निचर व्यवसायलाई राज्यले संरक्षण र सहुलियत दिनुपर्ने बताए । 

सरकारले व्यवसायीमैत्री वातावरण बनाउन भन्दा पनि व्यवसायीलाई तर्साउने काम गरेको उनको आरोप छ । पहिले थुन्ने अनि पछि सुन्ने सरकारको नीतिले निजी क्षेत्र अघि बढ्न नसक्ने बताए । उनले निजी क्षेत्रले सरकारलाई विस्वास गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए ।

आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष रुपेश प्रधानले कच्चा पदार्थको सहज उपलब्धता नभएका कारण मुलुकमा फर्निचर व्यवसाय फस्टाउन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । दक्ष जनशक्तिको अभाव सँधै खड्किँदा अन्य मुलुकबाट जनशक्ति आयात गर्नु पर्ने अवस्था आएको भन्दै उनले प्रोत्साहनमुखी ठोस नीति ल्याउन सरकारसँग आग्रह गरे । 

मुलुकभर १० हजार फर्निचर तथा फर्निसिङ व्यवसायी रहेको र ५ लाखभन्दा बढीले रोजगारी पाइरहेको भए पनि यो क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसकेको उनको गुनासो थियो । संघका निवर्तमान अध्यक्ष राजेश अग्रवालले आयातमुखी व्यवसायले व्यापार घाटा बढाएको मात्र नभई स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाउन नसकिएको बताएका थिए । 

विलासिता मात्र नभई अत्यावश्यकीय वस्तुका रुपमा फर्निचरजन्य उत्पादनको प्रयोग बढ्दै गएको अवस्थालाई सरकारले प्राथमिकतामा राख्नु पर्ने अग्रवालको तर्क थियो । फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रा.लि, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर रहेका छन् । 

एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट छ । त्यसैगरी यस एक्स्पोलाई नेपाल हस्तकला महासंघ, नेपाल इन्टेरियर डिजाइनर एशोसीएसन र स्पेसेज म्यागजिनको पनि सपोर्ट छ । एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेको छ । 

एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको छ । विगत वर्षको तुलनामा परिस्कृत रुपमा एक्स्पो सुरु गरिएको छ । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको छ । 

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन पनि एक्स्पोको आकर्षण बन्ने छ । 

फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा फर्नेक्स मेलाको आयोजना हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप