शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डेङ्गु  रोग नियन्त्रण अभियान: स्वास्थ्यकर्मीलाई बिदामा नबस्न सरकारको निर्देशन

बुधबार, २५ भदौ २०७६, २२ : ३७
बुधबार, २५ भदौ २०७६

– विष्णु नेपाल

काठमाडौं- डेङ्गु  रोग  काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा प्रकोपका रुपमा फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोग प्रभावित  जिल्ला तथा सङ्घअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको समायोजन तत्कालका लागि कार्यान्वयन नहुने जनाएको छ ।
 
मन्त्रालयले आज सचिवस्तरीय सो निर्णय गर्दै  पत्र पाइसकेको भए पनि यथास्थानमा रहेर काम गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई  परिपत्र गरेको छ । पत्रमा प्रकोप फैलिएका क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तत्कालका लागि प्रसूति, अध्ययन र किरिया बिदाबाहेक अन्य बिदा स्वीकृत नगर्न नगराउनसमेत मातहतका निकायलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।  

पछिल्लो समय सरकारी स्वास्थ्य संस्थामा  डेङ्गु रोग  परीक्षण गराउन आउने बिरामीको सङ्ख्या अत्यधिक मात्रामा वृद्धि भइरहेको छ । मन्त्रालयका अनुसार सो रोग देशका ४८ जिल्लामा फैलिसकेको छ । वैशाख महीनायता करीब ७० हजारले सो रोगका बारेमा स्वास्थ्य परीक्षण गराएका  थिए । तीमध्ये करीब पाँच हजार १०० मा डेङ्गु रोगको सङ्क्रमणबाट प्रभावित हुन पुगेका र छ जनाको मृत्यु समेत भइसकेको छ । 

डेङ्गु  रोग  नियन्त्रणमा मन्त्रालयको प्रयास खासै उपलब्धिमूलक देखिएको छैन । रोग नियन्त्रण गर्न केन्द्रीय तहमा रकम नभएको स्थानीय र प्रदेश तहमा पर्याप्त रकम विनियोजन भएको मन्त्रालयले जनाउँदै आएको छ । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ डेङ्गु नियन्त्रण गर्न स्थानीय तहको बढी जिम्मेवारी भएको बताउँछन् । 

कर्मचारी समायोजनअन्तर्गत रोग नियन्त्रण गर्ने पद (भेक्ट्रर कन्ट्रोलर) खारेज भएपछि झन समस्या थपिएको छ । उनी भन्छन्, “स्थानीय तहले लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गर्नुपर्छ । ”

यसवर्ष वैशाख महीनामा नै एडिश जातको पोथी डेङ्गु रोग सार्ने लामखुट्टे देखा परेको थियो । जलवायु परिवर्तनका कारण सो लामखुट्टे समुद्र सतहदेखि दुई हजार १०० मिटरसम्म फैलिन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । नेपालमा हालसम्म सो जातका लामखुट्टेको फैलावट कहाँसम्म हुन्छ भन्ने अध्ययन भएको छैन ।
 
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सो रोगका कारण सिन्धुपाल्चोकमा एक, सुनसरीमा एक, चितवनमा एक, काठमाडौँमा दुई र डोटीमा एक गरी छ जनाको मृत्यु भएको छ ।  

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामी चाप अत्यधिक वद्धि भएको छ । भदौ १ गतेदेखि हालसम्म तीन हजार ६५४ जनामा डेङ्गु परीक्षण गरिएकामा दुई हजारभन्दा बढीमा डेङ्गु ‘पोजेटिभ’ देखिएको अस्पतालका सूचना अधिकारी रूपनारायण खतिवडाले जानकारी दिए । 

अस्पतालका  निर्देशक चिकित्सक वासुदेव पाण्डेले रोगको परीक्षण गर्ने वृद्धि भएसँगै अस्पतालले परिसरमा डेङ्गु हेल्थडेस्क स्थापना गरी सेवालाई अझ सहज बनाएको जानकारी दिए । उनले भने, “अस्पतालले आजबाट छुट्टै  ‘फिवर क्लिनिक’ समेत सञ्चालनमा ल्याएको छ । सो क्लिनिकमा ज्वरो आएका बिरामीलाई छुट्टै कोठामा राखी विशेष जाँच गर्न शुरु गरेको छौ । ”     

डेङ्गु रोग  एडिस जातको  पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । पोथी जातको सो लामखुट्टेको टोकाइको भाइरसबाट सङ्क्रमित भई रोग सार्दछ । विसं २०७६ को वैशाख महीनादेखि हालसम्म छ हजारभन्दा बढी बिरामी भइसकेको जनाइएको छ । 

प्रायः यस जातको  लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ । वर्षात्को समयमा शुरु भएपछि सो रोग बढी देखापर्ने चिकित्सकले जनाएका छन् । ज्वरो आउने, टाउको दुख्ने आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुची हुने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने पेट तथा आन्द्रामा गडबडी हुने सो रोगका लक्षण भएका सरुवा रोग विशेषज्ञ चिकित्सक बाँस्तोलाले जानकारी दिए । 
 
मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्य रुपमा सो रोगबाट बच्ने उपाय मानिन्छ । पूरा शरीर ढाकिने गरी कपडा लगाउने लामखुट्टेको टोकाइबाट बच्न राति र दिउँसो पनि झुलभित्र सुत्ने, घर वरपर सफा राख्ने पानी जम्न नदिने, पानी राख्ने भाँडा जस्तै पानी ट्याङ्की, ग्रागी, बाल्टिन, ड्रम आदि सधैँ छोपेर राख्ने सुझाव चिकित्सकको रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप