शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अझै अनिश्चित बन्यो ‘चन्द्रयान–२ ल्याण्डर बिक्रम’

बिहीबार, २६ भदौ २०७६, १२ : १०
बिहीबार, २६ भदौ २०७६

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन(इसरो) ले पृथ्वीसँग सम्पर्कविच्छेद भएको केही दिनपछि ‘चन्द्रयान–२ ल्याण्डर बिक्रम’ चन्द्र सतहमा सही रुपमा रहेको भन्ने समाचारको पुष्टि गर्न इन्कार गरेको छ ।

प्रेस ट्रष्ट अफ इन्डियाले सार्वजनिक गरेको समाचारबारे प्रतिक्रिया दिँदै इसरोका अध्यक्षले इन्डिया टुडे टिभीसँग भनेका छन्, ‘पिटीआईले प्रकाशित गरेको कुरा निश्चित भएको छैन । हामीले पनि यसलाई निश्चित गरेका छैनौं ।’ बिक्रमको बारेमा ठोस जानकारी प्राप्त भएपछि इसरोले थप विवरण उपलब्ध गराउने पनि उनले बताए ।

गत शनिबार बिहान चन्द्रमाको दक्षिण ध्रुवनजिक अवतरण गर्ने काेशिस गर्दै गर्दा ‘बिक्रम’ सम्पर्कविहीन भएको थियो । चन्द्र सतहको २.१ किलोमिटर मात्रै माथि हुँदा ६ वटा पाँग्रा भएको ‘चन्द्रयान–२ रोभर प्रज्ञान’ बोकेकाे विक्रमको बैंलौरस्थित मिसन कमान्ड केन्द्रसँग सम्पर्कविच्छेद भएको थियो । 

‘बिक्रम’ चन्द्र सतह नछोइकनै सम्पर्कविहीन भएपछि इसराे स्तब्ध भएको थियो । उसले ‘चन्द्रयान–२ ल्याण्डरलाई के भयो भन्ने बुझ्न तथ्यहरु विश्लेषण गरिरहेको बताएको थियो । आइतबार इसरोले आफूहरुले चन्द्रमाकाे सतहमा विक्रमलाई पत्ता लगाउन सकेकाे बताएको थियो ।

यसअघि समाचार संस्था पिटीआइले चन्द्र धरातलमा अलिकति झुकेको तर एकैढिक्का अवस्थामा फेलापरेको उल्लेख गर्दै रिपाेर्ट प्रकाशित गरेको थियो। पिटीआईले इसरोको एक वेनामे अधिकारीलाई उद्धृत गर्दै एक रिपोर्ट सार्वजनिक गरेको थियो । त्यसैको स्पष्टीकरणमा इसरो प्रमुखको कार्यालयले पिटीआईले प्रकाशित गरेको जानकारी अझै सुनिश्चित भइनसकेकाे जनाएकाे हो । 

अर्बाइटर सुरक्षित

‘बिक्रम’को भविष्य अनिश्चित रहेपनि ‘चन्द्रयान–२ अर्बाइटर’ले भने सुरक्षित तवरले चन्द्रमालाई घुमिरहेको छ । यथार्थमा यही अर्बाइटरले आइतबार चन्द्र सतहमा ‘बिक्रम’लाई फेलापारेको हो ।

इसराेले ‘बिक्रम’ काे हालत पत्ता लगाउन अर्बाइटरलाई प्रयोग गरेको छ। तर त्यसको लागि इसरोसँग त्यति धेरै समय छैन किनकि ‘बिक्रम’ र ‘प्रज्ञान मिसन’को आयु मात्र १४ दिनको छ । ‘बिक्रम’ले चन्द्रमामा अवतरण गरेको प्रयासपछि दुई दिन बितिसक्यो । अब ‘ बिक्रम’लाई के भएकाे हो पत्ता लगाउन इसरोसँग १२ दिनभन्दा कम समय मात्र बाँकी छ ।

‘चन्द्रयान–२ मिसन’मा के भएको थियो ?

चन्द्रमामा ‘बिक्रम’ र ‘प्रज्ञान’को अवतरण ‘चन्द्रयान–२ मिसन’ को एक भाग मात्र थियो । यो मिसनमा गरिने मुख्य प्रयोगहरु ‘अर्बाइटर’कै जिम्मामा रहेको छऽ जुन सुरक्षित छ र चन्द्रमालाई परिक्रमा गरिरहेको छ ।

‘अर्बाइटर’ले आठ वटा प्रयोगहरु सम्पन्न गर्ने छन्, जुन विक्रम र प्रज्ञानले गर्ने भनिएको ५ वटा संयुक्त  प्रयोगहरुभन्दा बढी नै हाे । ‘चन्द्रयान–२ अर्बाइटर’ले गर्ने प्रयोगहरुमध्ये एक प्रयोग चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा जमेको अवस्थामा रहेको पानीको मात्राको अनुमान लगाउने हो ।

‘चन्द्रयान–२ अर्बाइटर’ अभियानकाे समयावधि एक वर्षको हो र यसले अपेक्षित समयसम्म काम गर्ने अपेक्षा गरिएकाे छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप