शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ठेकेदारले समयमा काम सम्पन्न नगरेपछि सांसद र मेयर सडकमा

बिहीबार, २६ भदौ २०७६, १८ : ४४
बिहीबार, २६ भदौ २०७६

-रामहरि श्रेष्ठ
ओखलढुंगा– ओखलढुंगा–रुम्जाटार सडकखण्ड दोसो पटक म्याद थपिँदा समेत नबनेपछि सांसद र मेयर सडकमा उत्रिएका छन् । प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार र सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले सडक निमार्णमा भैरहेको ढिलासुस्तीबारे अनुगमन गरेका हुन् । जिल्लाको सिद्धिचरण नगरपालिका–११ रमाईलोडाँडादेखि वडा नम्बर ४ रुम्जारटारको विमानस्थलसम्मको ११.१ किलोमिटर मोटरबाटो कालोपत्रेका लागि दोस्रोपटक म्याद थपिँदा समेत पुरा हुन सकेको छैन ।

सडक कालोपत्रेको जिम्मा लिएको निमार्ण कम्पनी तामाङ्ग कुमार जे.भीले बिभिन्न बाहाना देखाएर काममा ढिलासुस्ती गरेपछि सांसद र मेयरले फिल्डमै पुगेर कडा निर्देशन दिएका छन् । सांसद र मेयरले फिल्डमै पुगेर निर्देशन दिएपछि निर्माण कम्पनीका प्रतिनिधि तथा ठेकेदार लेखजङ्ग थोकरले कुनैपनि हालतमा आगामी कात्तिक मसान्तसम्म बनाइ सक्ने आश्वासन दिएका छन् । उनले कामका शिलशिलामा बिटुमिन अर्थात अलकत्रा अभाव हुँदा काममा ढिलाई भएको बताएका छन् ।

आयोजनाले गत जेठ १६ गते डेढ महिनाका लागि अर्थात् असार ३१ गतेसम्मका लागि दोश्रोपटक म्याद थप गरेको थियो । कम्पनीले ११.१ किलोमिर सडकखण्ड १८ महिनाभित्र सक्ने गरी २०७४ जेठ २३ गते ठेक्का सम्झौता गरेको थियो । तर तोकिएको समयमा समेत काम सम्पन्न गर्न नसकेपछि २०७६ जेठ १६ गतेभित्र काम सक्ने गरी पहिलो पटक म्याद थप गरेको हो ।

पहिलोपटक थपिएको समय सीमाभित्र पनि काम नसकिएपछि पुनः दोश्रोपटक गत जेठ १६ गते म्याद थपिएको थियो । भ्याटसहित कूल २० करोड ६८ लाख १४ हजार ९ सय १८ रुपैयाँको लागतमा कम्पनीले ठेक्का लिएर काम थालेको सडककोे हालसम्म चार किलोमिटर मात्रै कालोपत्रे गरिएको छ । यो सडकखण्ड भूकम्प प्रभावित जिल्लामा सञ्चालित आपतकालिन भूकम्पीय सहयोग अन्तर्गत कालोपत्रेको काम सुरु गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप