शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किन सुरु हुन सकेन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढाई ?

बिहीबार, २६ भदौ २०७६, १९ : ५२
बिहीबार, २६ भदौ २०७६

पोखरा– भौतिक पूर्वाधार सबै तयार छन् । प्राज्ञिक क्रियाकलाप अन्तर्गत ६ वटा विभागको पाठ्यक्रम तयार भइसकेको छ । मेडिकल काउन्सिलले तोकेको योग्यता, अनुभव र शोधकार्यका आधारमा प्रोफेसर, एसोसिएट प्रोफेसर र लेक्चरको जिम्मेवारी निर्धारण गरिएको छ । तैपनि स्नातकोत्तर तहको कार्यक्रम चलाउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सकिरहेको छैन । आफूहरुले गर्नुपर्ने सबै तयारी पूरा गरे पनि पढाइ सुरु हुन नसकेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर बुद्धिबहादुर थापाले सुनाए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्नातकोक्तर तहको पढाई सुरु गर्न तम्तयार भएर बसेको छ । विद्यार्थी संख्या र विषय टुंगो लागिसकेको प्रतिष्ठान चिकित्सा शिक्षा आयोगको स्वीकृत पत्र कुरेर बसिरहेको छ । आयोगमा नियुक्त हुने कार्यकारी पद उपाध्यक्ष नियुक्त हुन ढिलाई हुँदा आयोगले पूर्णता पाउन सकेको छैन । जसको कारण प्रतिष्ठानको पहिलो काम नै प्रभावित भएको छ । 

गएको वर्ष नभए पनि यो वर्ष पढाई सुरु हुनेमा प्रतिष्ठान ढुक्क थियो । असारमा विद्यार्थी भर्नाको सूचना निकालेर भदौसम्ममा विद्यार्थी लिने प्रतिष्ठानले योजना बनाएको प्रतिष्ठानका उपकुलपति थापाले जानकारी दिए । तर, यस वर्ष पनि प्रतिष्ठानले पढाई सुरु गर्न भने सकेको छैन । 

पाठ्यक्रम, शिक्षक लगायतका सबै तयारि पुरा भइसके पनि चिकित्सा शिक्षा आयोगको स्वीकृति नपाउँदा कक्षा सञ्चालन हुन नसकेको प्रतिष्ठानका उपकुलपति थापा बताउँछन् । ‘कक्षा सञ्चालनका लागि सबै तयारी पुरा भैसक्यो । स्वीकृति आयो भने हामी त विद्यार्थी लिने अवस्थामा छौं,’ उनले भने ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएयता पदाधिकारीहरु चयन भई सकेपछि स्नातकोत्तर तह पढाई सुरु गर्न आफुहरुले डेढ वर्षको अवधिमा प्रतिष्ठानले लिएको उद्देश्यअनुसार अनुसन्धान कार्य अघि बढाएको उनले सुनाए । ‘डेढ वर्षमा सम्पूर्ण तयारी गर्याै,’ उनले भने, ‘स्वीकृति नआउँदा सबै काम रोकिएको छ ।’ 

अघिल्लो वर्ष असोजमा नियमनकारी संस्था नेपाल मेडिकल काउन्सिलले कक्षा सुरु गर्न पहिलो निर्देशन दिएको थियो । ६ विषयमा १७ जना विद्यार्थी पढाउनका लागि नेपाल मेडिकल काउन्सिलले असार ५ मा अनुमति दियो । तर, चिकित्सा शिक्षा आयोगबाट हुनुपर्ने निर्णय बाँकी रहेकाले पढाई सुरु हुन नसकेको थापा बताउँछन् । ‘कक्षा सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगबाट निर्णय आउनुपर्ने हो । अझै आइसकेको छैन,’ उनले भने, ‘हामी पर्खाइमा छौं ।’

प्रतिष्ठानले ६ विषयमा कक्षा सञ्चालन गर्नेछ । प्रसुति तथा महिला विभागका लागि ४, जनरल सर्जरीमा ४, जनरल मेडिसिनमा ४, हाडजोर्नी तथा अर्थोपेडिक्समा ३, बालरोगमा २ र एनस्थेसियोलोजीमा २ विद्यार्थी गरि जम्मा १७ विद्यार्थीको भर्ना लिन काउन्सीलले अनुमति दिएको उपकुलपति थापाले जानकारी दिए । 

कक्षा सञ्चालनको बाटो खुलाउन प्रधानमन्त्री र शिक्षामन्त्री समेतलाई आग्रह गरि सकेको उनले सुनाए । ‘यदि आयोगमा लैजान पर्ने हो भने लैजानुस्, नपर्ने हो भने त्यही खालको निर्णय पठाउँछौं भनेर प्रतिबद्दता जनाउनुभएको थियो,’ उनले भने, ‘जुन हामीलाई चाहिने निर्णय थियो त्यो अहिलेसम्म आएको छैन । त्यसैको पर्खाइमा छौं ।’ निर्णय नआएसम्म पढाई अघि बढाउन नसक्ने उनले सुनाए । 

नागरिक समाजदेखि विद्यार्थीहरुले बारम्बार कक्षा सञ्चालनबारे चासो लिएर सोध्ने गरेको उनको भनाई छ । ‘सम्पूर्ण तयारी पुरा भइसकेको छ । तर, पढाई पुरा गर्न सकेका छैनौं ।’ प्रतिष्ठानले प्रतिस्पर्धाबाट विद्यार्थी छनौट गर्नेछ । प्रतिस्पर्धाबाट छनौट हुने विद्यार्थीलाई निशुल्क पढाउने उपकुलपति थापाले जानकारी दिए । 

नाम निकाल्ने विद्यार्थीले निशुल्क पढ्न पाउँछन् । कक्षा सञ्चालनका लागि सबै मेहेनत पुरा गरे पनि पढाई सुरु गर्न नपाएको भन्दै थापाले गुनासो पोखे । प्रतिष्ठानले अहिले ५४ जना शिक्षक तयार गरेको छ । गएको वर्ष १२ चैतमा प्रधानमन्त्रीको अध्यक्षतामा भएको चिकित्सा शिक्षा आयोगको बैठकले अर्को निर्णय नहुँदासम्म नीतिगत निर्णय बाहेकका कार्यहरु यथावत सञ्चालन गर्न काउन्सललाई निर्देशन दिएको छ । तर, काउन्सिलले आगोगको निर्णय कुर्न प्रतिष्ठानलाई पर्खाउँदै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप