मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आफै प्रहरीको सम्पर्कमा आएका थिए गृहमन्त्रीका भाइ ‘नरेश’

बिहीबार, २६ भदौ २०७६, २१ : ३३
बिहीबार, २६ भदौ २०७६

काठमाडौँ – प्रहरीले गुण्डा नाइके समीरमान बस्नेतको समूहसँग मिलेर ठेकेदारलाई धम्क्याएको आरोपमा मुद्दा अघि बढाएको थाहा पाएपछि नरेश थापा आफै प्रहरीको सम्पर्कमा आएको बताइएको छ । नरेश गृहमन्त्री रामबहादुर थापा ‘बादल’का साइँला भाइ हुन् । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता दीपक रेग्मीका अनुसार प्रहरीले मुद्दा अघि बढाएको थाहा पाएपछि नरेश गत आइतबार आफै प्रहरीको सम्पर्कमा आएका हुन् । 

सामाजिक सञ्जालमा यतिबेला गृहमन्त्री बादलका भाइ नै आपराधिक घटनामा संलग्न भएको भन्दै कडा कारबाही गर्नुपर्ने माग उठेका छन् । निर्माण व्यवसायी महासङ्घका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्या प्रकरणमा जेलमा पुगेका गुण्डा नाइके समीरमानसिंह बस्नेतको सम्पर्कमा रहेर विभिन्न व्यवसायीलाई धम्क्याएको पाइएपछि नरेशलाई प्रहरीले खोजी गरिरहेको अवस्थामा  उनी आफै प्रहरीको सम्पर्कमा पुगेका हुन् । 
समीरमान २ वर्षअघि गौचन हत्यामा संलगन भएको पाइएपछि केन्द्रीय कारागार सुन्धारामा जेलजीवन बिताउँदै आएका छन् ।

गृहमन्त्रीका भाइ नरेशले तीनै समीरमानसँग मिलेर पैसा असुल्ने गरेको स्रोत बताउँछ । पवन र सुरेन पक्राउपछि प्रहरीले उनीहरूको ‘कल डिटेल रेकर्ड’ समेत झिकाएर अनुसन्धान गरेको थियो । जसमा गृहमन्त्रीका भाइ नरेश र पवनबीच ‘मिलेर काम गर्नुपर्छ’ भन्ने आशयका सन्देश आदानप्रदान भएको देखिन्छ । थापा भारतीय सेनाका अवकास प्राप्त हवल्दार पनि हुन् ।

थापाले निर्माण व्यवसायीलाई फोन गरेर ‘पैसा नदिए जे पनि हुने’ भन्दै उनले धम्की दिने गरेको बताइएको छ । जेलभित्र रहेका बस्नेतलाई आपराधिक काममा सघाउन गृहमन्त्रीकै भाइ देखिएपछि उनलाई प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि आपराधिक लाभ लिने प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेर बयान लिने काम भइरहेको सीआईबीका प्रमुख निरजबहादुर शाहीले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा ब्युरोले एक महिनाअघि पवन खड्का र सुरेन नगरकोटीलाई राजधानीबाट पक्राउ गरेको थियो । उनीहरुले बयानका क्रममा गृहमन्त्रीका भाइ पनि संलग्न भएको बताएपछि नरेशलाई प्रहरीले खोजेको थियो । 

अनुसन्धानका क्रममा पक्राउ परेका नगरकोटी र खड्काले दिएको बयानका आधारमा गृहमन्त्रीका भाइ नरेशको पनि संलग्नता रहेको हुनसक्ने भन्दै प्रहरीले नरेशलाई सम्पर्कमा आउन आग्रह गरेको थियो ।
यसअघि ललितपुरको गोदावरी नगरपालिका–८, डुकुछापमा प्राकृतिक बहावमा रहेको बागमती नदीको बाटो फर्काएर नदीको किनार कटान गरी बालुवाको अवैध तस्करीमा समेत नरेशको संलग्नता रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको भनाइ छ ।  

यता जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार नरेशलाई बयानका लागि अदालतमा पेश गरिएको छ । ८ जना अभियुक्तहरुलाई पेश गरिएकाले सम्भव भएसम्म बिहीबार र नसकिए आइतबार मात्रै उनको बयान लिने तयारी भएको छ । 

प्रहरीको सम्पर्कमा आएका थापालाई बिरामीको बहानामा राजधानीको एक सुविधा सम्पन्न अस्पतालको स्विट रुममा राखिएको बताइएको छ । यसअघि गृहमन्त्री बादलका छोरा प्रतीक थापा पनि ठेक्कापट्टा तथा क्रसर उद्योगमा जोडिएर विवादमा आएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप