बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विमानस्थलबाट परिवारै अपहरण : ट्याक्सीले खोल्यो अपहरणकारीको पोल

क्यासिनोको लेनदेनले अपहरण : प्रहरी
शुक्रबार, २७ भदौ २०७६, १३ : ५२
शुक्रबार, २७ भदौ २०७६

काठमाडौँ । बिहीबार कास्की घर भएका एलेन गुरुङको परिवार त्रिभुवन विमानस्थलबाट अपहरणमा परे । भद्रपुरबाट काठमाडौँ आएका एलेनको ८ महिनाको छोरा र श्रीमतीलाई ४ जनाको समूहले अपहरण गरेका हुन् ।

सिन्धुपाल्चोकका दिनेश लामा, चन्द्रागिरी नगरपालिका सतुङ्गलका सुशील उप्रेती, नुवाकोटका मिलन राई र नागार्जुन नगरपालिका सितापाइलाका बिनेश पहरीले एलेनको परिवारलाई अपहरण गरेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार एलेनको परिवारलाई उनीहरुले एयरपोर्टबाट बाहिर निस्कँदै गर्दा उनीहरुलाई ढुकेर बसेको समूहले अपहरण गरेको थियो ।

उनीहरुको परिवार सिक्किमबाट भद्रपुर हुँदै काठमाडौँ फर्किँदै थिए । उनीहरु बुद्ध एयरको जहाजबाट काठमाडौँ आएका थिए । एलेनको परिवार एयरपोर्टमा उत्रिने बित्तिकै अपहरणकारीले एउटा ट्याक्सी र एउटा प्राइभेट कारमा हालेर सिधै सोल्टीमोड पुर्याएका थिए ।


एलेनको परिवार अपहरणमा परेको सूचना महानगरीय प्रहरी परिसर टेकुमा आयो । प्रहरीलाई सूचना दिने व्यक्ति थिए, एलेन परिवारसँगै जहाजमा आएका एक यात्रु ।

परिसरका प्रवक्ता बोगटीले जहाजमा एलेनसँगै आएका एक यात्रुले फोन गरेर एलेन परिवालाई अपहरणशैलीमा जर्बजस्ती बा२झ१... नम्बरको ट्याक्सी र एक गाडीमा हालेर लगेको सूचना दिएको बताए ।

एयरपोर्टबाट एलेनको परिवार अपहरण परेको सूचना पाएसँगै परिसर मातहतका प्रहरी टोली परिचालन भएको डीएसपी बोगटीले रातोपाटीलाई जानकारी दिए ।

‘ट्याक्सी नम्बरको आधारमा खोजी गर्दै जाँदा उनीहरुले एलेन परिवारलाई कालीमाटी लगेको पाइयो, डीएसपी बोगटीले भने, ‘लगत्तै कालीमाटी वृत्तलाई उनीहरुको खोजी गर्न निर्देशन दिइएको थियो ।’

महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख डीएसपी रुगम कुँवर आफै अपहरणकारी र एलेन परिवारको खोजी गर्न सक्रिय भए । अन्ततः ४ बजेको समयमा डीएसपी कुँवरको नेतृत्वमा खटिएको टोलीले चारैजना अपहरणकारीलाई नियन्त्रणमा लिन सफल भयो ।

अपहरणकारीलाई कालीमाटीस्थित सोल्टीमोड मार्गनजिकै रहेको हङ्ग्री एण्ड फुड क्याफेबाट पक्राउ गरिएको डीएसपी कुँवरले रातोपाटीलाई जानकारी दिए ।

अपहरण गर्नुको कारण आर्थिक कारोबार

एलेनको परिवारलाई अपरहण गर्नुको कारण आर्थिक कारोबार रहेको प्रहरीले जनाएको छ । अपहरणकारीको समूह क्यासिनोमा जुवा खेल्नेहरुलाई पैसा लगानी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

नेपालमा क्यासिनो खेल्न कडाइ भएपछि अपहरणकारीहरुले सिक्किममा गएर क्यासिनो खेल्ने÷खेलाउने गरेको प्रहरीको भनाइ छ । उनीहरु क्यासिनो खेलाडी रहेको पाइएको छ ।

केही महिनाअघि एलेनलाई अपहरकारी समूहले मिटरब्याजमा ६ लाख रुपैयाँ दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । १५ दिनपछि ८ लाख ५० हजारसहित दिनुपर्ने भन्दै एलेनलाई उनीहरुले ६ लाख रुपैयाँ दिएको परिसरका प्रवक्ता बोगटीले बताए ।

तर, एलेनले साँवा मात्र (६ लाख) उनीहरुलाई तुरुन्तै बुझाएको र ब्याज (२ लाख ५० हजार) नदिएको कारण अपहरण गरेको हुनसक्ने बताउँदै डीएसपी बोगटीले भने, ‘यस विषयमा थप अनुसन्धान गरिरहेका छौँ ।’

एलेन पनि क्यासिनो खेलाडी हुनसक्ने बताइएको छ । अपहरणकारी समूह र एलेनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप