शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शतप्रतिशत विद्यार्थी भर्ना गराउने गाउँपालिका घोषणा

शुक्रबार, २७ भदौ २०७६, १६ : ४०
शुक्रबार, २७ भदौ २०७६

पाल्पा– पाल्पाको रम्भा गाउँपालिकालाई शतप्रतिशत विद्यार्थी भर्ना गराउने गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकामा शैक्षिकसत्र २०७६ मा भर्ना भएका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका एक हजार ५०५ बालबालिका विद्यालयमा भर्ना भएका र कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको प्रतिवेदनका आधारमा विद्यार्थी भर्ना गराउने गाउँपालिका जिल्लामा नै पहिलो भएको हो ।
 
गाउँपालिकाभित्र अहिले ३७ सामुदायिक विद्यालय पाँच निजी तथा एउटा धार्मिक विद्यालय रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख काशीराम बस्यालले बताए । बालमैत्रीपूर्ण विद्यालय, त्यहाँको मूल्याङ्कन पद्धति, अनुगमन, सुपरीवेक्षण, स्थानीय पाठ्यक्रमको प्रयोग, विषयविज्ञ समिति, दैनिक क्रियाकलाप, गृहकार्य तथा बाल विकास कक्षाका माध्यमले पनि विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुगेको उनको भनाइ छ ।

आधारभूत र माध्यामिक तहमा २१२ शिक्षकले अध्यापन गराउँदै आएका उक्त गाउँपालिकाका हरेक क्षेत्रमा विकास र समृद्धिको पहल तीव्र पारिँदै गएको अवसरमा यो पनि महत्वपूर्ण शैक्षिक उपलब्धि भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । उहाँले पटक–पटक विद्यालय व्यवस्थापन समिति, प्रध्यानाध्यापकको छुट्टाछुट्टै बैठक तथा अनुगमनबाट विद्यार्थी विद्यालय भर्नामा छुटे÷नछुटेको अनुगमन गरेपछि पुनः कार्यपालिका बैठकपछि गाउँपालिकाले पनि अनुगमन गरेर यथार्थ पहिल्याएको स्पष्ट पारे । 

गाउँपालिकाले बालमैत्री शासन भएको गाउँपालिकामा पाँच वर्षदेखि १२ वर्ष उमेरका विद्यार्थी सबै विद्यार्थी भर्ना भएका घोषणा, अपाङ्गता भएका व्यक्तिलाई पनि विद्यालय भर्ना गरेर शिक्षाको पहुँचमा ल्याउने र आगामी वर्ष पनि यही कार्यक्रम लागू गर्ने निर्णयसमेत गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप