बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मैले अमेरिकाको विरोध गरेको छैन : प्रचण्ड

‘चीन र अमेरिकाले आधिकारिक रुपमा केही बोलेको छैन’
शनिबार, २८ भदौ २०७६, ११ : १७
शनिबार, २८ भदौ २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा भएको भेटबारे मिडियाले गलत प्रचार गरेको आरोप लगाएका छन् ।

आफूले विदेशमन्त्री यीसँग नेपालको घोषित परराष्ट्रनीति अन्तरगत नै कुराहरु राखेको बताउँदै मिडियामा त्यसबारे गलत ढङ्गले प्रचार भएको बताएका हुन् ।

‘हाम्रो विदेश नीति प्रष्ट छ । असंलग्न र स्वतन्त्र विदेश नीति नेपालको विदेश नीतिको आधार हो । त्योबाट नेपाल विचलित छैन र विचलित हुँदैन,’ इलाममा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा उनले भने, ‘त्यही अनुरुप हामी कुनै पनि शक्ति राष्ट्रको सैनिक गठबन्धनमा सामेल हुँदैनौँ । चाहे त्यो विमस्टेकको सन्दर्भमा सैन्य अभ्यासको कुरा होस्, चाहे त्यो इन्डो इन्डोप्यासिफिक फ्रन्ट अन्तरगतको सैन्य गतिवधि होस् वा अन्य कुनै सैन्य गठबन्धन वा त्यस्ता रणनीतिक उद्देश्यसहितका गठबन्धन होस्, हामी संलग्न हुनसक्दैनौँ, हुँदैनौ । सैन्य रणनीति सहित अएको अवस्थामा त्यसमा संलग्न हुन सक्दैनौँ ।’

अध्यक्ष प्रचण्डले चिनियाँ विदेशमन्त्री नेपाल आउँदा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र आफूले पनि सारमा नेपाल कुनै सैन्य गठबन्धनमा जाँदैन भनेर कुरा राखेको स्पष्ट पारे ।

‘चीनबारे हाम्रो एक चीन नीति छ र नेपाली भूमिलाई चीनका विरुद्ध प्रयोग हुन दिँदैनौँ । यो प्रष्ट र घोषित नीति हो । अस्ती चिनियाँ विदेशमन्त्रीसँग कुरा गर्दा त्यही कुरा राखेको हुँ,’ उनले भने ।

उनले मिडियामा आए जसरी भेटबारे चीनको सरकार वा परराष्ट्र मन्त्रालयबाट आधिकारिक रुपमा वक्तव्य नआएको पनि स्पष्ट पारे । ‘कुनै न्युज एजेन्सीको न्युज बनाउने क्रममा यसो भनेको भनेर आएको हो । त्यो सरकारको तर्फबाट वा परराष्ट्रमन्त्रालयको तर्फबाट आएको होइन,’ उनको भनाइ थियो ।

त्यस्तै, अमेरिकाले स्पष्टिकरण माग्यो भन्ने कुरामा सत्यता नरहेको उनको जिकिर थियो । उनले भने, ‘अमेरिकाको राजदूतावास वा अमेरिकाको स्टेट डिपार्टमेन्टबाट सरकारलाई कुनै चिठ्ठी आएको छैन । त्यहाँका कर्मचारीले यस्तो समाचार आएको छ भनेको मात्र स्थिति हो । धिकारिक रुपमा न त चीनले न त अमेरिकाले यस्तो भनेको हो ।’

‘मैले जे बोलेको छु, राष्ट्रको घोषित नीतिको आधारमा बोलेको छु,’ प्रचण्डले भने, ‘भनेजुएला र क्युवाको प्रकरणमा पनि राष्ट्रको घोषित नीतिको आधारमा नै बोलेको हुँ ।’

उनले अमेरिकासँग नेपालको कुटनीतिक सम्बन्ध रहेको र धेरै विषयमा दुईपक्षीय सहकार्य रहेको स्मरण गराउँदै त्यो सहकार्य अझै बढोस् भन्ने राष्ट्रिय चाहना रहेको उल्लेख गरे । ‘त्यसैले मैले पटक–पटक अमेरिकाको विरोध गर्ने वा प्रोभोक गर्ने भन्ने हुँदैन,’ उनले स्पष्टिकरण दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप