शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तिम्रो अनि मेरो जीवन

शनिबार, २८ भदौ २०७६, १३ : ३७
शनिबार, २८ भदौ २०७६

एक आँधीपछि ध्वस्त

अनि स्तब्ध बनेको सहर

सम्हालिएर उभिन खोज्दै छ

जीवनहरू उम्रिनकै लागि

सङ्घर्ष गर्दैछन्, अनवरत

आखिर आगो र पानी नै त हो

तिम्रो अनि मेरो जीवन

कहिले डढेलोपछि धुवैँ धुवाँ

कहिले एकनासको पहिरो

कतै नमेटिने दागहरू खरानीका

कहीँ बगरसम्म थुप्रिएका माटाहरू ।

एक बीज

तिमी अनि मैले रोप्यौँ

आपसी रोजाइको

हामीभित्रको जीवन उमार्न

आँधीपछिको सहरले खिसी गर्छ

म पो प्रकृति, अङ्कुरित हुन सक्छु

आखिर उम्रनु, फल्नु, पाक्नु नै त हो

तिम्रो अनि मेरो जीवन ।

कहिले गोडमेलपछि गोबरै गोबर

कहिले आँखाले सिञ्चित पानीहरू

कतै रछ्यानभरिका बाछिटाहरू

कहीँ ओठसम्म पुगेका

नुिनला पानीहरू ।

एक गुलाब, फक्रनखोज्दै छ

मनका कुनाहरूबाट

मेरो अनि तिम्रो प्रकृतिसँगै

सम्हालिएको सहर अनुभूत गर्छ

प्रेम नै रहेछ

निर्धक्क फक्रिन सक्छ

आखिर सिउनु, उध्रिनु

फेरि सिउनु नै त हो

तिम्रो अनि मेरो जीवन ।

कहिले रक्ताम्य लाली ओठहरुमा

कहिले सेताम्यै दारी फुलिसकेका

कतै मर्नै नसक्ने बैंस बुढेसकालका

कहीँ बुढ्यौलीका प्रेम संवादहरू ।

यिनै चक्रहरुबीच

कहिले सहानुभूति, कहिले स्नेह

कहिले ईष्र्या, कहिले मोह

समयसँगै चढ्दै अनि उत्रँदै

निरन्तर बाँचिरहेछ

तिम्रो अनि मेरो जीवन ।

साकारबाबु सुवेदी​, भैँसेपाटी, ललितपुर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप