शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साझा पार्टी कास्कीमा खनाल, महानगर संयोजकमा गुरुङ

शनिबार, २८ भदौ २०७६, १८ : ०९
शनिबार, २८ भदौ २०७६

पोखरा । साझा पार्टीले कास्की जिल्ला र पोखरा महानगर संयोजक घोषणा गरेको छ । पार्टीको कास्की जिल्ला संयोजकमा अर्जुनप्रसाद खनाल र पोखरा महानगर संयोजकमा मनकाजी गुरुङ चयन भएका छन् ।

शनिबार एक कार्यक्रमका बीच साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र र गण्डकी प्रदेश संयोजक महेश भण्डारीले सँयुक्त रुपमा माटोको टिका लगाएर जिल्ला र महानगर संयोजक घोषणा गरेका थिए ।

‘सम्बृद्ध र समुन्नत राज्यसँगै लोककल्याणकारी राजनीतिको परिकल्पना गरेर हामीले साझा पार्टीको राजनीति शुरुवात गरेका हौँ । र, यो अभियानमा जोडिन आउनुभएका साथीहरुलाई म विशेष धन्यबाद दिन चाहन्छु,’ साझा पार्टीका केन्द्रीय संयोजक मिश्रले भने, ‘संगठन विस्तारको अभियानमा हामी अगाडि बढिरहेका छौँ । र, वैकल्पिक राजनीति आवश्यक छ भन्ने चाहना राख्ने सम्पूर्णलाई म यो अभियानमा संलग्न हुन आह्वान समेत गर्दछु ।’

साथै उनले कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा साझा पार्टीले यो पटक बलियो उपस्थिती जनाउने बताए । ‘यो उपनिर्वाचनमा कास्कीका जनताले वैकल्पिक शक्तिको रुपमा उदाएको साझा पार्टीलाई जिताएर एउटा गतिलो सन्देश दिनेछन् । र, दुई तिहाईको यो भ्रष्ट सरकारलाई एउटा गतिलो झापड दिनेछन् ।’

उनले भने–‘अझै पनि मेरो या तेरो पार्टी भनेर उही पुरानै दललाई जिताउने हो भने विकास र सम्बृद्धिको बाटोमा देश अगाडि बढ्न सक्दैन । कास्कीका जनताले यो कुरा बुझ्नेछन् भन्ने मेरो विश्वास छ ।’

त्यस्तै साझा पार्टीका गण्डकी संयोजक महेश भण्डारीले कास्की जिल्ला र पोखरा महानगर संयोजकलाई बधाई ज्ञापन गर्दै सफलताको शुभकामना दिए । ‘संगठन विस्तारको यो अभियानको क्रममा दुबैजना संयोजक आबद्ध हुनुभएको छ । र, दुबैजनाले पार्टीको हितका लागि नेतृत्वमा रहेर आफूलाई अब्बल साबित गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’ भण्डारीले भने–‘उपनिर्वाचनको छेकोमा कास्कीको जिल्ला र महानगरमा संगठन विस्तार गरिरहँदा सोही अनुरुपको तयारी गर्न पनि म यहाँहरुलाई सुझाव दिन चाहन्छु ।’

साझा पार्टीको जिल्ला संयोजक घोषणा भएसँगै खनालले जिल्लाका सबै गाउँपालिकाहरुमा संगठन विस्तार अभियानलाई तिव्रता दिने बताए । ‘पार्टीको संगठनलाई स्थानियस्तरबाटै बलियो बनाउने कुरा मेरो प्राथमिकता रहनेछ । र, पार्टीले दिएको यो जिम्मेबारीलाई मैले सफलतापूर्वक निभाउन प्रयास गर्नेछु,’ खनालले भने ।

साझा पार्टीको कास्की जिल्ला संयोजक बनेका खनाल राजनीतिशास्त्रमा स्नातकोत्तर हुन् । कानुनको विद्यार्थी समेत रहेका खनाल युवा व्यवसायी पनि हुन् । उनी एक इन्भेष्टमेन्ट कम्पनीका अध्यक्षको रुपमा कार्यरत छन् भने आफ्नै लगानीमा होटल संचालन गरिरहेका छन् । सामाजिक अभियन्ताको रुपमा लामो समयदेखि संलग्न खनालले २५ भन्दा बढि देश भ्रमण गरिसकेका छन् ।

त्यस्तै साझा पार्टीको पोखरा महानगर सँयोजक बनेका गुरुङले नजिकिँदै गरेको उपनिर्वाचन भन्दा  अगाडि नै महानगरका प्रत्येक वडामा संगठन विस्तार गरिसक्ने प्रतिबद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप