शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केन्द्रीय कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या

सोमबार, ३० भदौ २०७६, ११ : ४७
सोमबार, ३० भदौ २०७६

मुलुककै पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या परेको छ । 

विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा हाल तीन हजार १२९ कैदीबन्दी रहेका छन् । कारागारमा दुई हजार ७४२ पुरुष, ३७८ महिला र नौ नाबालक रहेका छन् ।
 
केन्द्रीय कारागार विभागका प्रमुख एवं जेलर लक्ष्मीप्रसाद सापकोटा एक हजार ५०० क्षमता भएको कारागारमा दोब्बरभन्दा धेरै सङ्ख्यामा कैदीबन्दी हुँदा समस्या भएको बताउँछन् । 

“देशको राजधानी काठमाडौँमा धेरै आपराधिक क्रियाकलाप हुने भएका कारण पनि अपराध गरेर कारागारभित्र आउनेको सङ्ख्या बढी भएको हो”, उनी भन्छिन् ।

केन्द्रीय कारागार परिसरभित्र हाल तीन वटा जेल रहेका छन् । जसमध्ये केन्द्र जेलमा एक हजार ९१०, भद्र जेलमा ८३२ र महिला जेलमा ३७८ कैदीबन्दी रहेका छन् । 

कारागारभित्र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा विभिन्न किसिमका रोगसमेत लाग्ने गरेको छ । केन्द्रीय कारागार तथा देशका अन्य कारागारमा रहेका कैदीबन्दीको उपचारका लागि जगन्नाथदेवलमा केन्द्रीय कारागार अस्पतालसमेत सञ्चालन भएको छ । उक्त अस्पताल हाल ३० श्ययाको रहेको छ । 
 
कारागारभित्र रहेका कैदीबन्दीमध्ये सबैभन्दा धेरै अर्थात् ४७९ जना लागुऔषध कारोवारका रहेका छन् । यस्तै ३५७ जबर्जस्ती करणी, १३५ चोरी, ९९ डाँका, ७८ सार्वजनिक अपराध, ७४ ठगी, ४४ ज्यान मार्ने उद्योग, ५२ वन र २८ अपहरण मुद्दामा जेल परेका छन् । 

पछिल्लो समय नेपाल सरकारले कारागारको सुरक्षाका लागि सिसी क्यामरा जडान र विद्युतीय हाजिर जडान गरेको छ । सिसी क्यामरा र विद्युतीय हाजिरको जडानसँगै कारागारभित्रको सुरक्षामा सहज हुने जेलर सापकोटा बताउँछन् । 

विभागका अनुसार हाल देशभरका ७२ जिल्लामा ७४ कारागार रहेका छन् । काठमाडौँ र दाङमा दुई÷दुई कारागार रहेका छन् भने भक्तपुर, बारा, धनुषा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैन । 

हाल देशभरका ७४ वटै कारागारमा पुरुष कैदीबन्दी रहेका छन् भने ५३ कारागारमा मात्र महिला कैदीबन्दी छन् । यस्तै भक्तपुर, कास्की, विराटनगर, मकवानपुर, पर्सा, रुपन्देही, बाँके र डोटीमा भने बालसुधार केन्द्र सञ्चालनमा रहेका छन् । विभागका अनुसार हाल देशभर २२ हजार ६७६ कैदीबन्दी रहेका छन् । देशभर कारागारको क्षमता भने १५ हजार ४६६ रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप