केन्द्रीय संस्करण

विचारधाराका तहमा बीपीका सिर्जना

बीपी साहित्य चिन्तनमा विचार विमर्श

person explore access_timeभदौ ३०, २०७६ chat_bubble_outline0

बीपी राजनीतिमा मात्र होइन नेपाली साहित्यमा पनि अत्यन्त स्थापित र सम्मानित नाम हो । उनलाई राजनीतिको घेरामा मात्रै कैद गर्दै अति देवत्वकरण गर्नेहरुको जमात मनग्य रहेको वर्तमान अवस्थामा बीपीका साहित्यिक कृतिहरु र उनले नेपाली साहित्यमा लगाएको गुनबारे नेपाली काँग्रेसभित्रकै केही व्यक्तित्वहरुले बेलाबेलामा भेला भएर चर्चा परिचर्चा गर्ने गरेका छन् । यसै मेसोमा गत भदौ २८ गते नेपाली काँग्रेसका नेता नरहरि आचार्यको निवासमा ‘बीपीको साहित्य’का विषयमा छलफल भएको थियो । प्रस्तुत छ सोही छलफलमा व्यक्त विचारहरुको सङ्क्षिप्त टिपोट :

https://bpkoiralatrust.org.np

बीपीको साहित्यलाई कसरी हेर्ने कसरी अध्ययन गर्ने ?

नरहरि आचार्य
नेता नेपाली काँग्रेस

साहित्य भन्नाले कथा उपन्यास मात्र होइन विचारका हिसाबले  लेखिएका यावत चिज साहित्य हुन् । अझ यसलाई साहित्यभन्दा वाङ्गमय भन्न सुहाउँछ । हामी ७, ७ दिनमा गरिरहेका छौँ । यहाँ कहिले गणतन्त्र, धर्मनिरपेक्षताको बहस पनि भयो । हामीले लेख्ने मान्छेलाई बुझ्ने भनेको उसको रचनाकै आधारमा हो ।

बीपीले साहित्य मात्रै लेखिदिँदा उहाँलाई नभेटेका मानिसले पनि उहाँलाई बुझ्न सजिलो भएकोे छ । साहित्य हेरेपछि सबै दिग्दर्शन भइहाल्छ । अहिले बीपीको साहित्यको प्रभाव कस्तो छ ? बीपी कोइरालाले चार दशक लोकतान्त्रिक आन्दोलनको सशरीर नेतृत्व गर्नुभयो । काँग्रेसको सभापति र प्रधानमन्त्री पनि उहाँ हुनुभयो । यतिले मात्रैै उहाँलाई हामीले मानेको हो कि केले हो ? अरू पनि सभापति प्र्रधानमन्त्री भएका हुनुहुन्छ । अरूलाई नमानेर उहाँलाई मान्ने स्थिति कसरी आयो ? नेपालमा लोकतान्त्रिक विचारको मात्र होइन, विचारधाराको तहमा पुगेर उहाँले योगदान गर्नुभएको हो ।

नेपाली साहित्यमा पनि बीपीको योगदान विशिष्ट रह्यो । कथा, उपन्यास, जीवनी, डायरी, कविता सबैमा उहाँले लेख्नुभएको छ । तर राजनीतिक दर्शन र विचारधारायुक्त लेखहरु थुप्रैै लेख्नु भएको छ, किताब छैन । म २५ वर्षको हुँदासम्म एउटा राजनीतिक गतिलो किताब लेखिदिए हुने नि भन्ने लागिरहेको थियो । बीपीको शेषपछि विभिन्न सङ्ग्रहरु बाहिर  आएका छन् । साहित्यभन्दा विचारधाराको सङ्ग्रह नै बढी भएको छ । उहाँ आफैले चाहिँ लेख्नु भएन किन ? भन्ने आशङ्का छ । त्यसैले बीपीको साहित्यलाई कसरी हेर्ने कसरी अध्ययन गर्ने ? कसरी अध्ययन गर्दा उहाँलाई बुझिन्छ । कसरी अहिलेसम्म उहाँको ख्याती भइरहेको हो ? सभापति, प्रधानमन्त्री अरू भए पनि उहाँको जतिको महत्त्व अरूको भएको छैन । किन यस्तो भयो ? यही विषयमा आफ्नो धारणा राख्न आमन्त्रण गर्छु ।

बीपीले समयलाई कहिल्यै खेरजान दिनु भएन

गुरु घिमिरे
नेपाली काँग्रेसका केन्द्रीय सदस्य

बीपीको कुरा गर्ने वित्तिकै राजनीति र साहित्य समानान्तर रूपमा आउँछ । हाम्रो उमेरकाले बीपीको साहित्य पढेर बीपीलाई चिनेको हो । साहित्य र राजनीतिलाई समान उचाइमा लैजाने संसारको अरू नेतालाई हेर्दा भेटिँदैन । मण्डेला त्यति लामो समय जेल पर्नुभयो । महात्मा गान्धीको पनि त्यत्रो नाम छ । हामीले जानेका, पढेका अरू अग्ला राजनीतिज्ञमा लेखनको धेरै दख्खल देखिँदैन । बीपी जो १४ वर्षदेखि जेल परे, भारतीय स्वतन्त्रता सङ्ग्राममा जसले २० वर्ष योगदान गरे, जो आठ वर्ष राजाबाट थुनिए, जो फेरि ८ वर्ष प्रवासमा बसे, जसलाई ३५ वर्षमा नै घाँटीको क्यान्सर लाग्यो । ती व्यक्तिले यति धेरै नेपाली राजनीतिको मियो बनेर डोर्याउनुभयो र साहित्यमा शिखर पुरुषका रूपमा स्थापित हुनुभयो । यो संसारकै दुर्लभ उदाहरण हुन् बीपी कोइराला । बीपीका दोषी चस्मा, तीन घुम्ती, बाबु, आमा र छोरा, नरेन्द्र दाइ साहित्यमा अभुतपूर्व प्रयोग छ । सबै दृष्टिबाट पुरुष लेखकले नारीको मनोविश्लेषण गरेको छ । नारीका बारेमा यति राम्रो चित्रण गरेको छ । त्यो चाहिँ नेपाली राजनीतिमा जुन क्रान्तिकारीता प्रदर्शन गर्नुभयो उत्तिकै नेपाली साहित्यमा पनि क्रान्तिकारिता प्रदर्शित गर्नुभयो । उहाँको चन्द्रवदन कथाबाट सुरु भएको साहित्यिक यात्रा हरेक चरणमा नयाँ आयाम खडा गरेको छ । हिटलर र यहुदी, मोदी आइन, श्वेतभैरवी, सबै विशिष्ट छन् । बीपीको समग्र राजनीतिको एउटा ग्रन्थ पढ्न पाए हुने भन्ने लाग्छ । नरहरि दाइले नेपाली काँग्रेसको चार दशक छाप्न थालेपछि यो प्रारम्भ भयो । नेपाली काँग्रेसको पाठशाला पनि नरहरि दाइ हो ।

बीपीलाई भेट्न जाँदा देश विदेशका राजनीतिक कुराहरु आउँथे रे । गिरिजा बाबु पनि अनुभवका कुरा गर्नु हुन्थ्यो । अहिले नेताहरुकामा जाँदा एकले अर्कोको आलोचनाबाट सुरु हुन्छ । अपेक्षा गरेको कुरा आउँदैन । नेपालको राजनीति यहाँनेर उभिएको छ । नेपाल कम्युनिस्ट पार्टीको उद्देश्य, रणनीति यो छ । इन्डियाले यो गरिराखेको छ । चाइनाले यो गरिराखेको छ ! दक्षिण एसियाको राजनीति यस्तो हुँदैछ ! हामीले खोजेको यो हो । यो कुरा नेताहरुबाट पाइँदैन । बीपीले समयलाई कहिल्यै खेरजान दिनु भएन । जेलभित्र, प्रवास जहाँ भए पनि साहित्य लेख्नुभयो । भेटेजति सबै पढ्नु भयो । प्रज्ञाको त्यत्रो भण्डार भएको व्यक्ति बीपी आफूलाई अपूरो, अधुरो जस्तो भनेपछि हामी त बाह्रखरी पनि छिचेलेका छैनौँ । समयको अधिकतम उपयोग बीपी कोइरालाले गर्नुभयो । बीपीले राष्ट्रियताको विषयमा दरभङ्गामा भन्नु हुन्छ सिक्किमको राष्ट्रियता समाप्त भयो । पाकिस्तान विखण्डन भयो, हामी नेपाल गएनौँ भने नेपालको राष्ट्रियता खतरामा पर्छ । त्यसैले म नेपाल जान लागेको हो । त्यही कुरा बताउन तपाईंहरुलाई बोलाएको भनेर लामो विवेचना उहाँले प्रस्तुत गरेपछि उहाँ नेपाल आउनुभयो । हामीले लोकतन्त्रको मात्रै कुरा गर्यौँ भने विदेशीको गोटी बन्छौँ । राष्ट्रियताको मात्रै कुरा गर्यौँ भने अधिनायकवादको गोटी बन्छौँ । त्यसैले हामीले राष्ट्रियता जोगाउने, प्रजातन्त्रको लडाइँ पनि लड्ने भनेर नेपाल आउनुभयो । बीपीले जीवनभन्दा राष्ट्रियता महत्त्वपूर्ण कुरा हो भन्नु भयो । नरहरि दाइले गणतन्त्रको कुरा उठाउँदा काँग्रेसमा कुरा भएको थिएन । दाइले गणराज्य अभियान नै चलाउनुभयो । हामीले सडकमा उठाउँदा हामीलाई सिद्धान्तच्यूत भएको ठानियो । नेविसङ्घ विघटन गरेर हामीलाई निकालेकै हो । परिस्थितिको विवेचना गरेर अगाडि बढ्ने नै राजनेता हुन्छ, बीपी कोइरालामा यो क्षमता थियो । सुम्नीमाको कुरा गर्दा आर्यसभ्यता र किराँत सभ्यताको कुरा जस्तो पनि लाग्यो । सोमदत्तको छोरा पुलोमा सुम्नीमाकी छोरी, भिल्लहरु सिङ्गो दर्शनको सभ्यताको द्वन्द्व त्यहाँ छ  । सुम्निमा कोटीको साहित्य सिर्जना गर्न त्यति सजिलो छैन । बीपीका हरेक साहित्य मदन पुरस्कार पाउन लायक छन् । सुम्निमा नोबेल पुरस्कार पाउन लायकको कृति छ ।

बीपीको कुनै पनि पात्रप्रतिको न्याय सबैभन्दा ठूलो कुरा हो

राधेश्याम अधिकारी
राष्ट्रिय सभा सदस्य

तीन घुम्ती, सुम्निमा, मोदी आइन, नरेन्द्र दाइ, दोषी चस्मा, हिटलर र यहुदी सबैले पढ्नुपर्ने किताब हुन् । सबैमा समानता ह्युम्यान टच छ । कुनै पनि पात्रलाई गिराएर लेखिएको छैन । जस्तै; तीन घुम्ती हेर्नुस्, खलनायक पात्र रमेश । रमेश भनेको पिताम्बरको साथी ऊ जेलमा परेपछि साथीको कोठामा आउँछ, सघाउँछ, श्रीमती इन्द्र मायासँग सम्पर्क हुन्छ । जब गर्भीणी भएपछि छोडेर हिँड्छ । पढ्दा रमेशको पनि मजबुरी, आकर्षण यसरी मनोवैज्ञानिक ढङ्गले राखिएको छ कि कुनै पात्रप्रति घृणा उत्पन्न नै हुँदैन । त्यस्तै नरेन्द्र दाइमा एउटा पात्र छ मुनरिया, अर्को पात्र छ गौरी । गौरी ८ वर्षमा विवाह भएकी गोरी चिटिक्क परेकी नरेन्द्र दाइकी श्रीमती छन् । सजातीय उनीसँग तिनको कहिल्यै सम्बन्ध हुँदैन । गौरीको पीडालाई यसरी राख्नुभएको छ । त्योभन्दा पनि पीडामा मुनरिया छन् । वेश्यालयमा बसेकी मुनरियाको दारुणिक चित्र छ । मुनरियालाई ठूलो न्याय गर्नुभएको छ । गौरीलाई छोड्ने मुनरियालाई अपनाउने नरेन्द्र दाइको यस्तो प्रेमभाव, स्नेहभाव जगाउँछ । नरेन्द्र पनि एउटा परिस्थितिका कारण भएको बीपीले देखाउनुभएको छ ।

असल हुनु, ठूलो नहुनु मोदी आइनको सन्देश हो । असलले समाजमा सद्भाव बढाउँछ । ठूलो हुनेले ठूलो र सानो बीचको भेद बढाउँछ । महाभारत धर्मयुद्ध थियो, अपरिहार्य थियो भन्ने कुरालाई उल्ट्याउनुभएको छ । मलाई सबैभन्दा मन परेको बीपीको किताब सुम्निमा हो । सुम्निमामा भौतिकवाद र अध्यात्मवादको ठूलो द्वन्द्व छ । सुम्निमा, सोमदत्त, सोमदत्तको छोराको, सुम्निमाको छोरी र भिल्ल ५ पात्रमा पूरै किताब घुम्छ । त्यसमा अद्भूत वर्णन छ । कोसीका किनारको वर्णन छ । प्रकृतिको वर्णन छ । सुम्निमाले आफ्नी छोरीलाई सम्झाएर यो जातिगत कुरा होइन । अध्यात्मगत कुरा गर्ने हो भने हेर नानी तैँले जसलाई रोजेकी छेस्, तपस्वी बाउनको छोरा हो । यो जहिले पनि आकाशतिर हेर्छ । ग्रह, नक्षत्र हेर्छ, त्यहाँ के छ भनेर हेरिरहन्छ । भुइँमा टेक्दैैन, भुइँमा हेर्दैन । त्यति हुँदा पनि त यसलाई मान्छु भनेर बसेकी छस् भने यति बुझ्नु तेरो खुट्टा धर्तीमा गाडिएको छ ।

सोमदत्तको छोरा आकासतिर हेरेको हुन्छ र सुम्निमाको छोरी एकअर्कामा विवाह गर्न रुचाउँछन् । सुम्निमाकी छोरी भौतिकवादकी प्रतीक छ । दुवै  अर्का अर्कै खालका छन् । यो कुरा बुझ्यौै भने तिमीहरुको राम्रो हुन्छ भनेर टुङ्ग्याइएको छ । बीपीको कुनै पनि पात्रप्रतिको न्याय सबैभन्दा ठूलो कुरा हो । मेरो बीपीसँगको सानिध्यता राजतन्त्र र प्रजातन्त्र भन्ने किताबबाट भएको हो ।

आफ्नो सक्रियता निरन्तर देखाउनु नै अहिलेको सन्दर्भमा बीपी पथ हो

रामचन्द्र घिमिरे
काँग्रेस जिल्ला सदस्य, काठमाडौँ

बीपी राजनीतिमा नेपालका सन्दर्भमा सिद्धान्तकार हुनुभएको छ । साहित्यमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र नयाँ शैली दिनुभएको छ । बीपीको उपन्यास तीन घुम्तीमा प्रेमी, पत्नी र आमाको चित्र छ । सुम्निमा प्रेमबिनाको जबर्जस्ती यौन मिलनले मानस कुण्ठा र विकृतिको विकास हुने तथ्य यसमा प्रष्ट पारिएको छ । नरेन्द्र दाइ मनोवैज्ञानिक उपन्यास हो । मोदी आइन महाभारत युद्धकथा यसको विषय वस्तु हो । हिटलर र यहुदी हिटलरले निर्दोष यहुदी मारेको घटनाको आधारमा यो उपन्यास लेखिएको छ । बाबु, आमा र छोरा नेपाली समाज वा पश्चिमा समाजमा पनि नपच्ने कथा शृङ्खला छ । कथा दोषी चस्मा मनोविज्ञान एवं चरित्र प्रधान कथा हो । जीवनी आफ्नो कथा राजनीतिज्ञ तथा साहित्यकार बीपी कोइरालाको आत्मकथा हो । जेल जर्नल जेलमा रहँदाको मनोविज्ञान, दशा र भोगाइको स्मरण डायरी हो । केही समय अघि सार्वजिनक भएको बीपीको अन्तिम डायरीमा वि.सं. २००८ सालदेखि वि.सं. २०१३ सालसम्म लेख्नुभएको डायरी हो यो । यसमा बीपीले नेपालीको छोरा बुद्ध संसारको शान्तिको प्रतीक बनेकोमा गर्व छ । अर्कोतर्फ आफूले केही गर्न नसकेको हीन भावनाका साथै मैले केही गर्नुपर्छ समय यसै बर्बाद भइरहेको छ भन्ने छ । यो किताब पढ्दा तत्कालीन परिस्थिति र अहिलेको परिस्थिति तुलना गर्न मिल्छ । काँग्रेसलाई सङ्कट चौतर्फी छ । बाहिरी चलखेल र भित्री चलखेलले मुलुक जनता आक्रान्त थिए भने अहिले पनि त्यही छ । मुलुकमा व्याप्त भ्रष्टाचार, हत्या, हिंसा, असुरक्षा एकातिर छ । पार्टीभित्र आरोप प्रत्यारोपले पार्टी निक्कै कमजोर बनेको छ । अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धमा नेपाल कमजोर बनिरहेको छ । बीपीलाई सम्झँदा बीपीले व्यहोरेकोे समय र हामीले व्यहोरेको समय उस्तै देखिन्छ । बीपीले भनेझै आफ्नो सक्रियता निरन्तर देखाउनु नै अहिलेको सन्दर्भमा बीपी पथ हो ।

कार्यक्रममा सबै वक्तले बीपीले नेपाली जनताको घरमा खेती गर्ने जमिन होस् । दुहुना गाई होस्, स्कुल, अस्पताल होस् भनेर सरल भाषामा सबै जनताले बुझ्ने गरेर परिकल्पना गरेको समाजवाद अहिलेको सन्दर्भमा अझ बढी आवश्यक भएको बताएका थिए । काँग्रेसको अबको समाजवादी कार्यक्रम के हो ? तल्लो तहका मानिसलाई बीपीले राजनीतिमा पनि धेरै महत्त्व दिएको देखिन्छ । बीपीको साहित्य पढ्दा पनि यिनै कुरा पाइन्छन् ।

कार्यक्रममा नेपाली काँग्रेस काठमाडौँ ४ कका प्रदेशसभाका प्रत्यासी साधुराम खड्का, टोखा नगरपालिका उपमेयरका प्रत्यासी रजनी थपा, नेपाली काँग्रेस काठमाडौँ ५ का सचिव कृष्ण वस्ती, दैलेख काँग्रेसका नेता एकेन्द्र्र पन्त, रामेछाप नेविसङ्घका नेता उज्ज्वल घिमिरे, श्याममणी आचार्य, दीपक कार्की, एकेन्द्र लिम्बु  लगायतको उपस्थिति थियो ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...