शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार पक्राउप्रति काँग्रेसको आपत्ति

सोमबार, ३० भदौ २०७६, १९ : ४७
सोमबार, ३० भदौ २०७६

काठमडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारबाट पत्रकारहरुलाई पक्राउ गरिएको घटनाप्रति  गम्भीर आपत्ति जनाएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गरी शान्तिपूर्ण ढंगले आफ्ना मागहरुलाई राख्न पाउने नैसर्गिक अधिकारलाई दमन गरिएको भन्दै आपत्ति जानएका हुन् ।

रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकारहरु प्रकाशबहादुर बम, चक्र कुँवर र सुनिता रावललाई बिनाकारण निष्काशन गरिएको भन्दै पुनर्वहालीको मागसहित केही पत्रकारहरु वार्ताका लागि रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा पुगेका थिए । सो क्रममा उनीहरु पक्राउ परेका थिए ।

‘वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न रेडियो नेपाल पुगेका नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस यूनियनका महासचिव अजयबावु शिवाकोटी, पत्रकार महासंघका केन्द्रीय सदस्य यम बिरही, जन्मदेव जैसी, मीन बम, नेपाल प्रेस यूनियनका केन्द्रीय सदस्य दिपिल पौडेल, पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर, प्रकाशबहादुर बम र चक्र कुँवरलाई पक्राउ गरेर सरकारले प्रेस स्वतन्त्रतामाथी ठाडो प्रहार गरेको छ,’ खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

संवाद तथा वार्ताको माध्यमबाट निकास दिनुको सट्टा वर्तमान सरकारले ठिक विपरीत प्रहरी प्रशासन लगाई शान्तिपूर्ण रुपमा वार्ता गर्न पुगेका पत्रकारहरुलाई हस्तक्षेप गरी पक्राउ गर्नु अत्यन्तै निन्दनीय भएको प्रमुख सचेतक खाँणले उल्लेख गरे ।

निष्काशन गरिएका श्रमजीवि पत्रकारहरुलाई तत्काल स–सम्मान पुनर्वहालीका लागि सरकार एवं सम्बन्धित पक्षसँग काँग्रेस संसदीय दलले जोडदार माग गरेको छ । लोकतन्त्रको आधार स्तम्भ स्वतन्त्र पत्रकारिता भएको भन्दै खाँणले स्वतन्त्र पत्रकारिताको पक्षमाकाँग्रेस सदैव दृढतापूर्वक उभिरहने प्रतिवद्धता व्यक्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप