शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अपरिपक्व मन्त्री !

डेढ महिनामै मन्त्री भट्टराईका आधा दर्जन बढी विवाद
मङ्गलबार, ३१ भदौ २०७६, १० : २६
मङ्गलबार, ३१ भदौ २०७६

युवा जोश, जाँगर बोकेका र दुई तिहाईको जनमत बोकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भविष्य भनेर चित्रण गरिएका योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेपछि पुनः एकपटक चर्चामा छन् । तर, उनको चर्चा सकारात्मक र नकारात्मक दुवै कोणबाट भइरहेको छ ।

मन्त्री बनेपछि आफ्नो कार्यक्षेत्रमा सुधारको सकारात्मक प्रयासको थालनी गरे पनि छोटो समयमा नै उनी आधा दर्जनभन्दा बढी विवादमा मुछिएका छन् ।

मन्त्री नियुक्त भए लगत्तै भट्टराईले आफूले एक वर्षमा गर्ने कार्यको फेहरिस्त सुनाएका थिए । तर, यतिबेला उनी कामको परिणामभन्दा पनि अभिव्यक्तिबाट नै विवादमा तानिन्छन् । अहिले उनको काम भन्दा अभिव्यक्ति ज्यादा चर्चामा आउँछ ।

विवाद नं. १ : बुद्ध एयर डिले

नेपालगञ्जबाट काठमाडौ फर्कन लागेको बुद्ध एयर ‘१५ मिनेट’ जहाज ढिलो गरेको विषय अहिले विवादित छ । यद्यपि, उनले आफ्नै कारण १५ मिनेट जहाज उडान डिले भएको भन्दै सामाजिक सञ्जालमार्फत् माफीसमेत मागिसकेका छन् । तर समयको पालना सबैले गर्नुपर्ने भन्दै सर्वसाधारणहरुले अभिव्यक्ति दिइरहेका छन् ।

विवाद नं. २ : हवाई जहाजको भाडामा ७० वर्ष पुगेकालाई ५० प्रतिशत छुट

उनले ७० वर्ष नाघेका बृद्धबृद्धालाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने बताएपछि वायुसेवा सञ्चालक संघले विज्ञप्ति नै निकालेर यसको खण्डन गर्यो । भदौ ९ गते उनले आफ्नो एक वर्षे कार्ययोजना सुनाउँदै गर्दा हवाईभाडामा ५० प्रतिशत छुटको विषय निकालेका थिए । सर्वसाधारण र बृद्धबृद्धाले यस कदमलाई सकारात्मक भने पनि मन्त्री भट्टराईले सरोकार निकायसँग छलफल बिना र नीतिगत निर्णय नै नगरी उक्त कार्ययोजना प्रस्तुत गरेको प्रष्ट भयो । यहाँ पनि मन्त्री भट्टराई अपरिपक्व देखिए ।

विवाद नं. ३.: पशुपतिमा आरती अघि राष्ट्रिय गान

गत भदौ १३ गते पशुपतिनाथमा आरती गर्नुअघि राष्ट्रिय गान बजाउन दिएको निर्देशन पनि विवाद मुक्त बन्न सकेन । यस विषयले संसदमा समेत प्रवेश पायो । यसले सनातन हिन्दु धर्ममाथिको प्रहार भन्दै संस्कृतिविदहरुले यसको आलोचना गरे । उनको यो कदमलाई बुद्धिजिवीहरुले पनि ‘उग्रराष्ट्रवाद’ को संज्ञा दिए । यो निर्देशनलाई पनि पशुपतिनाथ मन्दिरमै पनि ‘भद्र अवज्ञा’ गरिएको छ । विभिन्न ठाउँमा राष्ट्रगान बजाउने निर्णय छिमेकी मुलुक भारतमा समेत यसअघि नै विवादमा परिसकेको विषय थियो । मन्त्री भट्टराईले त्यहीँबाट पनि पाठ सिक्न सकेनन् ।

विवाद  नं. ४ : भ्रमण वर्ष २०२० को उद्घाटनमा डोनाल्ट ट्रम्प वा मोदी ल्याउने

मन्त्री भट्टराईले भ्रमण वर्ष उद्घाटनमा अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प वा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ल्याउने घोषणा गरेका थिए । नेपालको आमन्त्रणमा उद्घाटनमा मोदीलाई ल्याउनेसम्मको विषय सम्भव पनि छ । तर, ट्रम्पको विषयमा भने मन्त्री भट्टराईले बहकिएर बोलेको भन्दै आलोचना भयो  ।

विवाद नं ५ : पर्यटन व्यवसायीलाई टुँडिखेलमा सपथ खुवाउने

भ्रमण वर्ष सफल बनाउन मन्त्री भट्टराइले २० हजार पर्यटन व्यवसायीलाई टुँडिखेलमा राखेर सपथ खुवाउने भनेर दिएको अभिव्यक्ति पनि विवादमा तानियो । पर्यटक आउने वातावरण बनाउनुको साटो पर्यटन व्यवसायीलाई सपथ खुवाउनु फण्डा मात्र भएको टिप्पणी भयो ।

विवाद नं. ६ : निजगढ बिमानस्थलको शिलान्यास गर्न १० लाख सर्वसाधारण उतार्ने

साउन २३ गते बुटवल पुगेर निजगढ अन्र्तराष्ट्रिय बिमानस्थलको उद्घाटन गर्न १० लाख सर्वसाधारण उतार्ने भन्दै दिएको अभिव्यक्तिले निकै चर्चा पायो । मन्त्री भट्टराई विमानस्थलको निर्माण काम जे सुकै भएपनि आफैले शिलान्यासमात्र गरेर भएपनि चर्चा लिन खोजेको आरोप लाग्यो  ।

नेपाल भ्रमण वर्ष २०२० को नजिकिदो छ । मन्त्री भट्टराईको सबैभन्दा ठूलो चुनौति भनेकै त्यसलाई सफल बनाउन नेपालमा पर्यटकीय वातावरण बनाउनु रहेको छ । यद्यपि, भट्टराईसँग अझै पनि काम गरेर देखाउने समय बाँकी नै छ । मन्त्री भट्टराईसँग केही सकारात्मक परिवर्तन गर्ने हुटहुटी पनि देखिएको छ तर कार्यसम्पादनमा भने उनी अपरिपक्व देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप