मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक र आर्थिक  भेदभावले कुनै प्रतिभाले उपेक्षित हुनु पर्दैन : प्रम ओली

बुधबार, ०१ असोज २०७६, १० : ५१
बुधबार, ०१ असोज २०७६

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेदभाव वा आर्थिक कारणबाट देशका कुनै पनि प्रतिभाले  उपेक्षित हुनु नपर्ने बताएका छन् । 

 राष्ट्रिय विज्ञान दिवस २०७६ को अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

 प्रधानमन्त्री ओलीले सन्देशमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने ध्येयका साथ वर्तमान सरकारले ज्ञान र वैज्ञानिक सोचमा आधारित समाज निर्माण गर्ने विश्वव्यापी मान्यतालाई अंगीकार गरेको उल्लेख गरेका छन् । 
 “विज्ञान, प्रविधि र नवप्रवर्तन, आर्थिक–सामाजिक रुपान्तरणको नारा सहित मनाइँदै गरेको यस वर्षको विज्ञान दिवसले देशको आर्थिक–सामाजिक रुपान्तरणमा विज्ञानको महत्वलाई अझ बढी उजागर गर्नेछ भन्ने मेरो विश्वास छ ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “नेपालको संविधानले वैज्ञानिक अध्ययन–अनुसन्धान तथा प्राविधिक उन्नयनलाई विकास सम्वन्धी नीतिमा समाहित गर्ने भावना अघि सारेको छ । सोही अनुरुप सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा लगानी अभिवृद्धि गर्दै वैज्ञानिक, प्राविधिक, वौद्धिक र विशिष्ट प्रतिभाहरुको संरक्षण गर्ने विषयलाई प्राथमिकतामा राखेकोे छ । ”

प्रधानमन्त्री ओलीले विश्वव्यापी रूपमै अर्थतन्त्रको धार ज्ञान निर्देशित हुँदै गएको परिप्रेक्षमा समृद्ध राष्ट्र निर्माणका लागि नवीनतम ज्ञान र प्रविधिको प्रयोग अत्यावश्यक हुने बताउनु भएको छ । सन्देशमा प्रधानमन्त्री ओलीले नेपालको शैक्षिक र वैज्ञानिक परम्परा शताब्दीऔं पुरानो भएको उल्लेख छ । 

वैज्ञानिक ढंगले विश्वकै अध्ययन गर्ने हाम्रा पूर्वजप्रति हामीले गर्व गर्नुपर्ने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।   प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “ बाँकी दुनियाँ अन्धकारमा रहेका बेला यही भूभागमा अनेकन आविष्कार भएका थिए । हामीले आफ्नो गौरवमय परम्पराको स्मरण गर्दै फेरि यहाँ विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुसीयालीसँग जोड्नु पर्दछ  । ”

प्रधानमन्त्री ओलीले राष्ट्रिय विकासको दीर्घकालीन सोच बमोजिम वि.सं. २१०० सम्म समुन्नत राष्ट्रको स्तरमा पुग्ने गरी विकासको गतिलाई बढाउन  वर्तमान सरकार दृढ–सङ्कल्पित रहेको उल्लेख गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप