बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

डेंगु ६७ जिल्लामा फैलियो, गोलमाल तथ्याङ्क प्रस्तुत गरेर अमेरिका उडे स्वास्थ्यमन्त्री

बिहीबार, ०२ असोज २०७६, १४ : ०९
बिहीबार, ०२ असोज २०७६

काठमाडौँ । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पछिल्लो समय डेंगुको संक्रमण घट्दो क्रममा  रहेको भन्दै नियन्त्रणतर्फ उन्मुख रहेको बताए ।

साथै उनले साउन १ देखि भदौ २३ गतेसम्म नेपालमा ५ हजार ९५ जनामा डेंगुु रोगको संक्रमण भएको र विभिन्न जिल्लामा ६ जनाको मृत्यु भएको संसदलाई जानकारी दिए ।

तर, मन्त्रीको तथ्यांक र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क फरक देखिन्छ । 

महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा साउन १ गतेदेखि असोज १ गते सम्ममा ६७ जिल्लामा डेंगुु ज्वरोको संक्रमण फैलिएको र दुई महिनामा ७ हजार ३ सय ७० जनामा डेंगुु ज्वरोको संक्रमण देखिएको उल्लेख गरिएको छ । 

साउनदेखि असोज १ सम्मको प्रदेशगत तथ्याङ्क हेर्ने हो भने सबै भन्दा धेरै प्रदेश नं. ३ मा बिरामीको संख्या देखिएको छ । यस प्रदेशमा ३ हजार ९ सय २९ जना नागरिकमा डेंगुु ज्वरोको संक्रमण देखिएको हो । 
मृत्यु हुनेको संख्या पनि प्रदेश नम्बर ३ मै धेरै देखिएको छ । प्रदेश नम्बर ३ का जिल्लाहरु काठमाडौँमा २, सिन्धुपाल्चोक र चितवनमा १/१ गरी अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 


साथै डोटी र सुनसरीमा १/१ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । सबैभन्दा पहिला डेंगुु ज्वरोको संक्रमण फैलिएको प्रदेश नं. १ मा भने बिरामीको संख्या घट्दै गएको देखिन्छ । प्रदेश नं. १ मा ९ सय ५६ जना, प्रदेशन नं. २ मा ६२ जना, गण्डकी प्रदेश (प्रदेश नं.४) १ हजार ९ सय ६४ जना, प्रदेश नं. ५ मा ३ सय ९६ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्चिम प्रदेशमा ५२ जनामा डेंगुु ज्वरोको संक्रमण देखिएको हो । 
जिल्लागत रुपमा हेर्ने हो भने काठमाडौँमा १३३१, चितवन १२३७, मकवानपुरमा ७८३, कास्कीमा १६७७ जनामा डेंगुु संक्रमित फेला परेका छन् । महाशाखाको तथ्याङ्कलाई हेर्दा हालसम्म पनि डेंगुु नियन्त्रणतर्फ नगएको देखिन्छ । 

डेंगुु नियन्त्रणमा खासै चासो नदिएको भन्दै आलोचन खेप्दै आईरहेका मन्त्री यादवले प्रतिनिधिसभामा जानकारी गराएको तथ्याङ्क पनि नमिल्दा जिम्मेवारीमा बसेर काम सांसदहरुले नै आरोप लगाएका छन् । 

मन्त्रीको डेंगुको संक्रमण नियन्त्रण तर्फ रहेको अभिव्यक्ति प्रति बुधबार संसद बैठकमा सत्ताधारी नेकपाकै सांसद अमनलाल मोदी समेतले अविश्वास व्यक्त गर्दै प्रश्न उठाएका थिए।

उपप्रधानमन्त्री यादवले भने भदौ २३ गतेसम्म अस्पताल आउने बिरामीको तथ्याङ्कलाई आधार मानेर उक्त दाबी गरेको जवाफ दिए ।

तथ्याङ्क अद्यावधिक नगरिएकोमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले प्रश्न उठाए पनि उपप्रधानमन्त्रीले त्यसको जवाफ दिएनन् । 

यस्तै नेकपाका सांसद विरोध खतिवडाले व्यंग्यात्मक रुपमा ‘लामखुट्टेश्वर महादेव स्थपना गरौँ’ भने । डेंगु नियन्त्रणका लागि मन्त्रालयबाट काम नभएकाले अब लामखुट्टेश्वर महादेव स्थापना गर्नु पर्ने उनको व्यंग्य थियो । 
यस्तै नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले मन्त्रीको आलोचना गर्दै जिम्मेवार बन्न आग्रह गरे । 

यता देश डेंगुु ज्वरो र स्क्रब टाइफस जस्ता विभिन्न रोगको समस्यामा परिरहँदा मन्त्री यादव भने १३ दिनको लागि फेरि बुधबार अमेरिका उडेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप