बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्रलाई राजेन्द्रको प्रश्न : सरकारमा गएपछि न्युट्रल गियरमा बस्न पाइन्छ ?

‘संविधान दिवसमा ७० प्रतिशत जनताले ब्ल्याक आउट गर्ने दाबी’
बिहीबार, ०२ असोज २०७६, १६ : ५३
बिहीबार, ०२ असोज २०७६

काठमाडौँ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य एवं सांसद राजेन्द्र महतोले संविधान दिवसका दिन ७० प्रतिशत जनताले ब्ल्याक आउट गर्ने बताएका छन् । 

बिहिबार संसदको वर्षे अधिवेशनको अन्तिम सत्रमा संसद बैठकमा सम्बोधन गर्दै उनले मधेशी, थारु, जनजाती र दलितले ब्ल्याक आउट गर्ने बताएका हुन् ।

उनले संसदमा बोल्दै भने– ‘कुनैपनि देशमा संविधान दिवसलाई त्यो देशका नागरिकले राष्ट्रिय चाडका रुपमा धुमधामका साथ मनाउँछन् । भोलि देशका सबै नेपाली जनता उल्लासका साथ संविधान दिवस मनाउने छन् त ? चार बर्ष बितिसक्दा पनि सबै नागरिकले उत्साहपूर्वक संविधान दिवस मनाउने अवसर किन आएन ।’

उनले संविधान दिवसको दिन दिपावली गर्न सरकारले उर्दी जारी गरेको भन्दै आक्रोश पोखे । उनले भने–‘भोलि दिपावली मनाउने रे, उर्दी जारी भएको छ सरकारको । भोलि देशभरी सबैले दिपावली मनाउछन् त ? धुलो चेहरामा छ, ऐना साफ गरेर हुन्छ, उनले अनुहारमा धुलो भएपनि ऐना सफा गर्ने काम भइरहेको छ ।’

उनले संविधान दिवस मधेशीले नमाउँदा राष्ट्रघाती भन्दै आइरहेकोमा अब थारुले पनि नमनाउने हुँदा उनीहरुलाई पनि राष्ट्रघाती भन्ने भन्दै प्रश्न गरे । उनले पहाडका आदीवासी जनजातीले पनि नमाउने, विरोध गर्ने त्यसलाई पनि राष्ट्रघाती भन्नुस् भन्दै अनि राष्ट्रवादी को हो ? भन्दै प्रश्न गरे ।

उनले प्रतिपक्षले संविधान दिवस नमनाइरहेका बेला सत्तापक्षले पनि राम्रोसँग नमनाइरहेको बताए । 

उनले भने–‘तपाईंको सरकारमा रहेको पार्टीले भोलि संविधान दिवस नमाउने, तपाईंको उपप्रधानमन्त्री भोलि संविधान दिवस नमाउने । सरकार पूरै संविधान दिवस मनाउँने दिपावली गर्ने अवस्थामा छैन अनि आफ्नै पिठ थप्थपाउने ?’

उनले दिपावलीको उर्दी जारी गरेर दिपावली नहुने भन्दै ब्ल्याक आउट गर्ने बताए । उनले ७० प्रतिशत जनताले ब्ल्याकआउट गर्ने बताउँदै तराईका मधेशी, थारु, पहाडका जनजाती र दलितले ब्ल्याकआउट गर्ने उनले बताए । उनले प्रश्न गरे–‘अनि दिपावली मनाउने ? सरकारले त पुरै दिपावली मनाएको छैन, आधी मनाएको छ आधी छैन । कसरी हुन्छ यो ? कुन जनतालाई महत्त्व दिने ? क–कसले दिपावली मनायो सरकारले हेर्नुपर्दैन ?’

उनले सरकारको नै एउटा पक्षले संविधान दिवस नमाएपछि सरकारको वैधानिकतामाथि प्रश्न उठ्यो कि उठेन ? भनेर प्रश्न गरे । उनले यो जनताको गम्भीर प्रश्न रहेको बताउँदै उपेन्द्र यादवको नाम नलिई उनले हिजोसँगै ब्ल्याक आउट गर्ने र आज सरकारमा बसेर न्युट्रल गियरमा बस्न पाइन्छ ? भनेर प्रश्न गरे । उनले दुई बुँदे गरेर सरकारमा गएको कुनै औचित्य नभएको बताए ।

संविधान देशको मूल कानून भएकोले त्यसमा मजाक गर्न नहुने भन्दै हिमाल पहाड तराईका लागि समान हुनुपर्ने बताए । उनले यसअघि बनाएका ६ वटा संविधान कहाँ गयो भन्दै अहिलेको संविधानलाई बाइबल कुरान जस्तै बनाएको आरोप लगाए ।

४ वर्ष बित्दा पनि संविधान संसोधन गरेर हामीलाई संविधान दिवस मनाउन नदिने भन्दै प्रश्न गरे । उनले यसअघिका ६ वटा संविधान गएजस्तै बिद्रोहबाट यो संविधान नजाओस् भनेर चेतावनी दिए ।

अहिले संघीयता, समावेशी घाँडो भएको भन्दै त्यसमाथि प्रहार भएको बताए । उनले लाखौ नेपाली जनताले नागरिकता नपाएको भन्दै एक वर्षदेखि नागरिकता विधेयक अघि नबढेको बताए ।

उनले सरकारले आफ्नै जनतालाई अधिकारबाट वञ्चित गरेर राखेको दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप