बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘चपली हाइट–३’ को पोष्टर हलिउड फिल्म ‘इएल क्युरोप’ को हुबहु कपि

बिहीबार, ०२ असोज २०७६, १८ : ११
बिहीबार, ०२ असोज २०७६

काठमाडौं– केही दिन पहिले राजधानीमा एक कार्यक्रमका बीच फिल्म ‘चपली हाइट–३’ घोषणा गरिएको थियो । दीपेन्द्र के.खनालको निर्देशन रहेको हिट फिल्म ‘चपली हाइट’ को दोस्रो संस्करणको रुपमा यो फिल्म निर्माण हुन लागेको हो । 

घोषणा कार्यक्रमा निर्माता अर्जुन कुमारले फिल्म युनिट सहित एक पोष्टर समेत सार्वजनिक गरेका थिए । अभिनेत्री स्वस्तिमा खड्का बीचमा राखिएको र अन्य दुई कलाकार दयाबाँया राखेर डिजाइन गरिएको उक्त पोष्टरले धेरैको ध्यान खिचेको थियो । कार्यक्रममा केहीले त पोष्टरको प्रशंसा समेत गरेका थिए ।

निर्माता अर्जुन कुमारले सार्वजनिक गरेको उक्त पोष्टर हलिउड फिल्म ‘इएल क्युरोप’सँग हुबहु मिल्न गएको छ । २०१२ मा निर्माण फिल्म ‘इएल क्युरोप’ पोष्टरका केही डिजाइन मध्य एकसँग ‘चपली हाइट ३’को पोष्टर मिल्न गएको हो ।

पोष्टर नक्कल गरिएको बिषयमा ‘चपली हाइट ३’ का निर्माता अर्जुन कुमारले पनि स्वीकार गरेका छन् । उनले आफुले हलिउड फिल्म ‘इएल क्युरोप’ को केही पोष्टर डिजाइन मध्ये एक कपि गरेर ‘चपली हाइट ३’ को पोष्टर तयार पारेको बताए । 

‘पोष्टरका लागि राम्रो क्रियसन गर्ने क्षमता हामीमा कहाँ छ र’ निर्माता अर्जुनकुमारले भने ‘त्यसका लागि विदेशीको नक्कल गर्ने नै हो ।’ आफुले यस अगाडिको फिल्म पनि विदेशको नक्कल गरेर पोष्टर तयार गर्ने गरेको बताएका अर्जुनले अधिकांश नेपाली फिल्मका पोष्टर त्यसरी नै बन्ने गरेको सुनाए । ‘नक्कल गरेको कतिले होइन भन्छन्’ उनले थपे ‘म भने नक्कल गरेको कुरा स्वीकार्छु ।’

नेपालमा राम्रो पोष्टर क्रियसन गर्न सक्ने क्षमता भएका मानिस अभाव भएका कारण आफु मात्र होइन अन्य धेरै  निर्माताले पनि विदेशीको नक्कल गरेर पोष्टर बनाउनुपर्ने बाध्यता रहेको उनले खुलाए । अर्जुनले निर्माण गर्न लागेको ‘चपली हाइट ३’ का निर्देशक निकेश खड्का हुन् । निकेशले यस अगाडि अर्जुनै फिल्म ‘फाटेको जुत्ता’ बनाएका थिए । 

सिक्वेल फिल्म भएपनि यसमा पहिलो फिल्मको आमिर गौतम मात्र दोहोरिएका छन् । अन्य सबै नयाँ कलाकारको फिल्ममा अभिनय रहने छ ।  अर्जुनकुमार फिल्मसले केडिसी हस्पिटलको सहकार्यमा निर्माण गर्न लागेको यो फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, महेश त्रिपाठी, सुपुष्पा भट्ट र नवअभिनेता प्रतिक श्रेष्ठको मुख्य अभिनय रहने छ ।

‘चपली हाइट–३’ आगामी चैत्रमा प्रदर्शनमा आउँनेछ । फिल्म आउँदो २० गतेदेखि छायाँकनमा जाने तयारी भइरहेको निर्माता अर्जुनकुमारले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप