बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जहाज होल्डबारे पर्यटनमन्त्री भट्टराईको चासो : तत्काल सुधार गर्न निर्देशन

बिहीबार, ०२ असोज २०७६, २२ : १२
बिहीबार, ०२ असोज २०७६

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण बिग्रिएर अन्तर्राष्ट्रिय उडानका जहाज आकासमै फन्को लगाउने (होल्डमा बसेको) सन्दर्भमा तालुकदार मन्त्रालयले नियामक निकायको ध्यानाकर्षण गराएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज होल्ड हुनुका कारणबारे सत्यतथ्य पत्ता लगाई आवश्यक सुधार गर्न निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा सेवा सुविधा सुदृढीकरणको अयिभानमा जुटेका पर्यटनमन्त्री भट्टराईले विमानस्थलको समस्या सुन्नासाथ सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका हुन् । उनले विमानस्थलका सन्दर्भमा प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई तत्काल घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ । 

अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टाअघि दूरी मापन गर्ने उपकरण (डिएमइ) तथा ‘भिएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज’ (भिओआर) मा समस्या देखिएपछि विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको छ । उक्त प्राविधिक समस्याका कारण विमानस्थलमा करीब दुई घण्टासम्म जहाज अवतरण गर्न सकेका थिएनन् । मर्मतपछि अहिले नियमितरुपमा उडान अवतरण भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । 

विमानस्थलका अनुसार भिओआर र डिएमइ उपकरण आज बिहान १०ः४८ मा बिग्रिएको थियो । झण्डै डेढ घण्टाको मर्मतपछि सेवा पुनःसञ्चालन गरिएको थियो । सो समयमा विभिन्न गन्तव्यबाट आएका सात अन्तर्राष्ट्रिय जहाज अवतरणको पर्खाइमा आकासमा होल्ड भएका थिए । अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टर कम्पनीसहित २० वटा र अन्तर्राष्ट्रियतर्फ नेपालका तीनसहित २८ वायु सेवा प्रदायक कम्पनीले दैनिक सरदर एक सय  अन्तर्राष्ट्रियसहित चार सय उडान भर्दै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप