केन्द्रीय संस्करण

व्यङ्ग्य : राष्ट्रिय पिण्ड दिवस

person explore access_timeअसोज ४, २०७६ chat_bubble_outline0

लोक सेवा आयोगले लोक सेवा दिने परीक्षार्थीहरूलाई राष्ट्रिय पिण्ड दिवश कहिले पर्छ भनेर प्रश्न सोध्यो भने म निर्धक्कसँग जवाफ लेख्नेछु, प्रत्येक वर्ष भदौ असोजमा पर्ने सोह्र श्राद्धको अवधिभरि भनेर । हामीले पिण्ड देख्ने मात्र होइन पिण्ड बटारेर हातमा लिएर खेलाउने र पूजा गर्ने भएकाले सोह्र श्राद्धको अवधिलाई पिण्ड दिवश भन्दा कुनै फरक पर्दैन । अझ भन्नु पर्दा सो अवधिलाई पिण्ड महोत्सवका रूपमा मान्दा पनि हुन्छ । तर पाठकहरू एउटा कुरा के भने मलाई तपाईंहरू लोक सेवा आयोगको परीक्षा दिने उमेर गइसकेको छ । त्यै पनि फूर्ति लाउँछ भन्नु होला । भने भन्नुस्, जेजे भने पनि पुरेत बाजेहरू वा धर्म संस्कृतिमा विकृति थोपर्ने महासयहरूलाई साक्षी राखेर गफ गराउन सक्छु । ठोकुवा दिएर भन्न सक्छु, राष्ट्रिय पिण्ड दिवस सोह्र श्राद्धकै अवधिमा पर्छ भनेर ।

दिवङ्गत हाम्रा पितृहरूलाई स्वागत गर्न वा भनौँ मिष्ठान्न पकवान खुवाउन घरमा नभएको दूध किनेर ल्याएर खिर (जसलाई पायस पनि भनिन्छ) पकाएर घ्यू, मह, दूध, दही सख्खर आदि मिसाएर त्यसलाई डल्लो पारेर पितृहरूका नाममा खान दिइन्छ । तर दिवङ्गत पितृहरूले खाएको हामी देख्दैनौँ । अन्त्यमा खोलामा लगेर पितृहरूका नाममा मिल्काउँछौँ । भनौ यहाँ पिण्ड बनाएर पुरेत र पितृभक्तहरूका अगाडि प्रदर्शन गरिने भएकाले पनि मैले सोह्रश्राद्धको अवधिलाई राष्ट्रिय पिण्ड दिवसको नामकरण गरेको हुँ ।

सोह्र श्राद्धको अवधिमा हिन्दु धर्मावलम्बी पितृभक्तहरू प्रायः सबैले आआफ्नो घरमा स्वर्गबाट पितृहरूलाई बोलाएर पिण्ड खुवाउने तयारी गर्छन् । तर मरेर पितृ भएकाहरू खरानी भएका हुन्छन् । खरानीलाई खोलाको बालुवालाई पितृ मानेर पिण्ड खान दिँदा पनि पिण्ड जतिको त्यति नै हुन्छ, एकरति पनि घट्दैन । जस्ताको त्यस्तै जहाँको त्यहीँ रहिरहने, पिण्डमा न पुरेत न जजमान कसैले पनि दाबी विरोध गर्न, खान लैजान नपाउने प्रदर्शनी मात्र गर्ने भएकाले पनि सोह्र श्राद्धभरिको अवधिलाई मैले आफ्नो ब्रह्मले देखाएकाले मनोज्ञानले राष्ट्रिय पिण्ड दिवसका रूपमा मान्दै आएको छु ।

*****

जीवित हुञ्जेल वास्ता नगर्ने अनि मरेपछि उम्केको माछो ठूलो भनेझैँ यस्तो उस्तो भन्दै भए नभएका उपमा, अलङ्कार, मान, पदवी, सम्मान दिएर गुनगान गाउने मार्क्सवादी सिद्धान्तलाई नै चुनौती दिने खालका अभिव्यक्तिहरू आउँछन्, झोल खाएर खोल ओढ्ने चिन्तकहरूबाट । जुन अन्तर्राष्ट्रिय पिण्ड दिवस मनाउने एउटा माध्यम बनेको छ भन्दा कुनै फरक पर्दैन । फरक परे पनि गोज्याङ्ग्रेको एकलकाँटे सरकारले सदर गर्ने छ भन्ने मैले विश्वास लिएको छु ।

*****

यो सोह्रश्राद्धभरिको समयमा पितृको सम्झना गरिन्छ । यसलाई साँच्चै भन्ने हो भने मैले पितृ दिवसका रूपमा मनाउने निधो गरेको थिएँ । तर मेरो निधोलाई मेरै ब्रह्मले असफल पारिदियो । किनभने आफ्ना परिवारभित्रको पितृहरूको सम्झना अरू बेला पनि आउँछ । तर अरूबेला पिण्ड दिने काम नहुने भएकाले र पिण्ड जस्तो महत्त्वपूर्ण र संवेदनशील वस्तु नै सोह्रश्राद्धको अवधिमा आवश्यक पर्ने हुँदा मार्क्सवादी सौन्दर्य चिन्तनमा डुबेर म राष्ट्रिय पिण्ड दिवस मनाउने निधोमा पुगेको हुँ । यति मात्र होइन अर्कोतर्फ पिण्ड जो कोहीले जहाँ पायो त्यहीँ देख्न पाउँदैनन् । त्यसका लागि निश्चित समय नै कुर्नुपर्ने हुन्छ । सबै पितृहरूका लागि पिण्ड दिने, पायस पकाएर पिण्ड बनाउने, पूजा गर्ने, त्यो समय भनेको नै सोह्रश्राद्धको अवधि हो । पितृहरूको वार्षिक पुण्य तिथिमा पनि पिण्ड बनाइन्छ तर सोह्रश्राद्धमा जस्तो निश्चित अवधिभरि भने नहुने भएकाले पनि मेरो ब्रह्मले सोह्र श्राद्धलाई राष्ट्रिय पिण्ड दिवसका रूपमा मनाउने एकलकाँटे निर्णय गरेर गोज्याङ्ग्रेको एकल मन्त्रीमण्डलमा निर्णयार्थ पेस गरेको छ ।

हुन त म मार्क्सवादी चिन्तन मननको र नीति सिद्धान्तप्रति प्रतिबद्धताको सिंहको छालाको खोल ओढेर चोक्टा खान हात लम्काउँदा पनि झोलमा मात्र डुबेर कुबेर भएको मान्छे । अर्को अर्थमा झोल बाँड्ने भान्सेबाट बढुवा भएर खोल ओढ्न पुगेकाले पिण्डको महत्त्व बुझ्दै गएँ । चोक्टा खानेहरूले पनि पिण्डको झुण्ड बनाएर आफूलाई श्रीखण्डको वास्नायुक्त अमूल्य काठका रूपमा उभ्याएका छन् भने म त झन् झोल र खोलमा विश्वास गर्ने मान्छे भएकाले पितृहरूको नाममा दामसहित राष्ट्रिय पिण्ड दिवस नमनाउने कुरै भएन ।

हामी नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमै पिण्ड दिवस मनाउँछौ भन्दा कसैलाई पनि पत्यार नलाग्ला । किनभने हामी हाम्रा पितृहरूको उद्धारका लागि जहाँसुकै जुनसुकै देशमा बसे पनि सोह्रश्राद्धका समयमा भने गाईको दूध नपाए पनि जौको पिठोको पिण्ड बनाएर वा स्रोत साधनले भ्याएसम्म भरसक पुरेत बालाई बोलाएर पितृहरूको सम्झनामा एकछिन टोल्हाएर श्रद्धाञ्जलि अर्पण गर्दछौँ । यति मात्र होइन काशी गया, चारधामको तीर्थ यात्रा गरेर खरानी भएका पितृहरूको भित्री मनसम्म पुग्ने प्रयास गर्छौं । यो प्रयास नै राष्ट्रिय पिण्ड दिवस मनाउनुको एक उदाहरण हो ।

जीवित हुञ्जेल वास्ता नगर्ने अनि मरेपछि उम्केको माछो ठूलो भनेझैँ यस्तो उस्तो भन्दै भए नभएका उपमा, अलङ्कार, मान, पदवी, सम्मान दिएर गुनगान गाउने मार्क्सवादी सिद्धान्तलाई नै चुनौती दिने खालका अभिव्यक्तिहरू आउँछन्, झोल खाएर खोल ओढ्ने चिन्तकहरूबाट । जुन अन्तर्राष्ट्रिय पिण्ड दिवस मनाउने एउटा माध्यम बनेको छ भन्दा कुनै फरक पर्दैन । फरक परे पनि गोज्याङ्ग्रेको एकलकाँटे सरकारले सदर गर्ने छ भन्ने मैले विश्वास लिएको छु ।

एउटा कुरा के हो भने सबै जातजातिहरूले आआफ्नै धर्म संस्कृतिअनुसार मर्म बुझेर सोह्र श्राद्धको समयमा पिण्ड दिएर नै पितृहरूको सम्झना गर्छन् भन्ने कुरामा म विश्वस्त छैन । माझीले सोह्रश्राद्धमै पितृहरूको उद्धार गर्ने काम गर्छन् । बुढी बाख्री काटेर, जाँड रक्सी खाएर, खुवाएर पाहुनाहरूलाई वा पुरेतहरूलाई स्वागत सत्कार गर्छन् । रातभरि बूढी बाख्रीको मासुसँग जाँड, रक्सी खाएर घर वरिपरि फोहोर पारेर पितृहरूलाई गोप्य जलगन्धले फेरि नआओ भनेर बिदा गर्छन् । माझीको पितृको चित बुझाउन सजिलो छैन भन्ने उखान त्यसै चलाइएको होइन रहेछ ।

*****

परिवर्तन चाहने समाजले बदलिँदो समय परिस्थिति अनुसार हिँडन नसक्नु र पुस्ता हस्तान्तरणमा देखिएको अलमलले पनि यो पिण्ड दिवसले समाजमा निरन्तरता पाएको हो । जसले गर्दा समाजलाई प्रगतिको बाटोमा अघि बढाउन सक्दैन भने आजको समृद्धिको नारालाई पनि पिण्ड दिवसले चुनौती दिइरहेको छ ।

*****

कसैले दुई महिना पारेर पिण्ड दिवस मान्छन् भने कसैले आफ्नो जातीय संस्कार अनुसार तीन दिनमै सम्पूर्ण काम सक्छन् र पिण्डको प्रयोग गर्नुको साटो जनावरको मासु पितृहरूलाई अर्पण गर्छन् । त्यो पनि उनीहरूका लागि राष्ट्रिय पिण्ड दिवसकै रूपमा मनाइएको मान्न सकिन्छ । उनीहरूले मासुको पिण्ड वा अन्न कुहाएर बनाएको झोल पदार्थकै पिण्ड दिँदा पनि भएको छ । कसैले मृत्यु पश्चात सद्गत मात्र गरेर केही नगरी चुपचाप बसेर पनि पिण्ड दिवस मनाएका छन् ।

एउटै विचारले मनाउने पिण्ड दिवस सायद नेपालमा र भारतमा बाहेक अन्य मुलुकमा फरक तरिकाले मनाएको हुन सक्छ । जो हामीले नबुझेका पनि हुन सक्छौँ । भनौँ हामी कार्ल मार्क्स, स्टालिन, लेनिन, माओत्से तुङ्को झोलवादी नीतिको खोल ओढेर ढोल बजाउँदै सोह्रश्राद्धमा खरानी भएका पितृहरूको सपनालाई पिण्डसँगै कुनै नदी तलाउ वा पोखरीमा लगेर विसर्जन गरे पनि पिण्ड दिवसलाई भव्य र सभ्य रूपले गोहीको आँशु बगाउँदै उल्लासमय वातावरणमा हर्षोल्लासका साथ मनाउने चलन पनि हामीले चलाएका छौँ ।

पिण्ड दिवस मनाउने म लगायतका हाम्रा दिवङ्गत आदरणीय नेता पितृहरूले एउटा ठूलो गल्ती गरेर हामीलाई कहिल्यै नभेट्ने गरी बाटो लागे । त्यो गल्ती भनेको हामीले अङ्गीकार गरेको कम्युनिस्ट सिद्धान्त नीतिका जन्मदाताहरू कार्ल मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओत्से तुङ्को नाममा पिण्ड दिन भने सिकाएनन् । जन्म र कर्म दिने पितृहरूको नाममा चाहिँ पिण्ड दिनुपर्ने तर शिक्षा दिने गुरुका रूपमा रहेका ती नेताहरूको नाममा भने भेदभाव गरेर चालू पुस्तालाई आलु बनाएर पिँडालु खुवाएका छन् । जसले गर्दा अहिले आएर ती नेताहरूले प्रतिपादन गरेको नीति तथा कार्यक्रम वा भनौँ सिद्धान्त नै कोक्याउन थालेको छ ।

धर्म निरपेक्षता वा धार्मिक सहिष्णुता भएको मुलुकमा जातीय धर्म संस्कृतिका आधारमा वा कुनै धार्मिक आस्थाका आधारमा कार्ल मार्क्सको चिन्तन मननभित्र रुमलिएर समाजलाई प्रगतिशील बनाउन यो पिण्ड दिवसले सहयोग गर्छ वा असहयोग त्यो आजको प्रगतिवादी बौद्धिक जमातले बुझ्नुपर्छ । पिण्ड दिएर मात्र पितृहरूको स्मरण वा उद्धार हुन्छ भन्ने पुरातनवादी भित्रको पुरेतवादी सोच र मानसिकताले हाम्रो समाजलाई पिण्ड दिवसमै सीमित राखेको छ । आजसम्म पिण्ड दिवस मनाउने नयाँ तरिकाको प्रारम्भ हुन सकेको पाइँदैन । समाज प्रगतिशीलतामा विश्वास गर्छ तर उल्टो गतिमा हिँडेका कारण नयाँ तरिकाले पिण्ड दिवस मनाउन सकेको छैन । प्रगतिशीलताको सुल्टो गतिमा हिँड्न बाधक कुराहरू पनि आखिर समाजभित्र नै छ । त्यसलाई मिल्काउन मार्क्सवाद, लेनिनवाद र माओवादभित्रकै गुट उपगुटहरू नै पछि परेका छन् ।

परिवर्तन चाहने समाजले बदलिँदो समय परिस्थिति अनुसार हिँडन नसक्नु र पुस्ता हस्तान्तरणमा देखिएको अलमलले पनि यो पिण्ड दिवसले समाजमा निरन्तरता पाएको हो । जसले गर्दा समाजलाई प्रगतिको बाटोमा अघि बढाउन सक्दैन भने आजको समृद्धिको नारालाई पनि पिण्ड दिवसले चुनौती दिइरहेको छ । गफमा प्रगतिवादी तर व्यवहार र काममा यथास्थितिवादी समाजले आस्थाका आधारमा मनाउने राष्ट्रिय पिण्ड दिवस आजको समृद्धिको बाटोमा प्रगतिशीलताको साधक बनोस शुभकामना ।

उदयपुर, गाईघाट

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...