मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छ : सुवासचन्द्र नेम्वाङ

शनिबार, ०४ असोज २०७६, १८ : ३५
शनिबार, ०४ असोज २०७६

इलाम – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताएका छन् । 

चार वर्षअघि जारी गरिएको संविधानमा संशोधन नहुने भनेर कहीँ कतै नराखिएकाले जनताको जनमत लिएर संशोधन गर्न सकिने उनले बताए ।
 
नेकपा स्थानीय तह विभाग इलामद्वारा जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा नेता नेम्वाङले संविधान संशोधनका लागि जनताको जनमत आवश्यक पर्ने बताए । 

“बहुदलीय प्रतिपस्र्धामा विश्वास राख्ने दलहरुले निर्वाचनमार्फत जनताबाट संशोधनका लागि आवश्यक पर्ने जनमत लिएर जसले पनि संशोधन गर्न सक्छ”, उनले भने, “जनतामाझ संशोधनको मुद्दा लिएर निर्वाचनमा जान र संशोधनका लागि आवश्यक पर्ने मत आएमा संशोधन गर्न कसैले रोक्दैन ।”
     
संविधानसभाका पूर्वअध्यक्षसमेत रहेका नेता नेम्वाङले संविधान कार्यान्वयनका पक्षमा सरकारले तीव्रगतिमा काम गरिरहेको र आवश्यक ऐन कानून बनिसकेकाले अब विकास र समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त   गरे। “सरकारले आवश्यक कानून निर्माण गरी काम गर्ने बाटो र आधार तयार गरेको छ”, उनले भने, “नेकपाको सरकारले अब ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्यमा तीव्रगतिमा अघि बढ्नेछ ।”
 
नेता नेम्वाङले सङ्घीय र प्रदेश सरकारको काम कारवाहीलाई सहयोग गर्दै स्थानीय सरकारका जनप्रतिनिधि अघि बढ्नुपर्ने उल्लेख गर्दै स्थानीय सरकार जनतालाई सेवा दिने तह भएकाले जनमुखी र छिटोछरितो सेवा दिएर परिवर्तनको आभाष दिन जनप्रतिनिधि लाग्नुपर्नेमा जोड दिए। 

प्रदेशसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य धीरेन्द्र शर्मा ‘रमण’ले पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिले कामबाट प्रश्न गर्नेलाई जवाफ दिनुपर्ने बताए । पार्टी र स्थानीय सरकार एक सिक्काका दुई पाटा भएकाले सरकारमा पुग्ने नेता र पार्टी चलाउने नेताको सम्बन्ध सुमधुर हुनुपर्ने उनको भनाइ छ । 

नेकपाका इलामका अध्यक्ष रामबहादुर रानाले अहिले पार्टीका नेता बढी उपभोक्ता समितिमा बस्न खोज्नुले गलत सन्देश जाने भएकाले सचेत भएर काम गर्न आग्रह गरे ।

स्थानीय तह विभागका प्रमुख तथा इलाम नगरपालिकाका नगरप्रमुख महेश बस्नेतको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा देउमाई नगरपालिकाका प्रमुख सूर्य पोखरेल, सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गादेवी भट्टराईले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी योजना निर्माण र काम गर्ने बताउनुभएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप