मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाको इन्डो प्यासिफिक रणनीतिमा नेपाललाई सहभागी नहुन विज्ञहरुको चेतावनी

शनिबार, ०४ असोज २०७६, १८ : ५१
शनिबार, ०४ असोज २०७६

काठमाडौं – विभिन्न क्षेत्रका विज्ञहरुले अमेरिकाको इन्डो प्यासिफिक रणनीतिमा नेपाललाई सहभागी नहुन चेतावनी दिएका छन् । साथै नेपाल आफ्नो विदेश नीतिमा स्पष्ट हुनुपर्नेमा पनि  जोड दिएका छन् । 

शनिवारमा काठमाडौंमा भएको हिन्द प्रशान्त रणनीति र नेपाल विषयक अन्र्तक्रियामा बोल्ने वक्ताहरुले नेपाल विभिन्न शक्ति राष्ट्रको क्रिडास्थल हुने गम्भीर खतरा रहेको भन्दै उनीहरुले त्यसका लागि सरकारले स्पष्ट रुपमा आफ्नो विदेश नीति बनाउनुपर्नेमा जोड दिएका हुन् ।
   
कार्यक्रममा प्रगतिशील लेखक संघका समिर सिंहले नेपालमा आर्थिक, सांस्कृतिक रुपमा कसरी प्रभूत्व कायम गर्न सकिन्छ भनेर शक्ति राष्ट्रहरुबीच चलेखेल भइरहेको बताए । 

उनले नेपालमा सांस्कृतिक रुपमा प्रभूत्व कायम गर्नका लागि व्यापक रुपमा इसाईकरण भइरहेको बताउँदै धर्मको नाममा पनि राजनीतिक खेल सुरु भएको बताए । 

उनले भारत धर्म निरपेक्ष राष्ट्र भएपनि नेपालमा आफ्नो प्रभूत्व कायम गर्नका लागि उसलाई हिन्दू राष्ट्र बनाउनुपरेको भन्दै नेपालका लागि के गर्ने भन्ने कुरामा नेपालीहरुनै प्रष्ट हुनुपर्ने आजको आवश्यकता औंल्याए । 

उनले उदीयमान शक्तिका रुपमाअघि बढेको चीनलाई एक्ल्याउँनका लागि अमेरिकाले हिन्द प्रशान्त रणनीतिलाई अघि सारेको बताउँदै साम्राज्यवादी मुलुकहरुको चपेटामा नेपाल पर्न नहुनेमा जोड दिए । 

उनले अहिले चीनले अघि सारेको बिआरआई को विपरित रुपमा इन्डो प्यासिफिक रणनीति अघि आएको बताउँदै त्यसबारेमा नेपाल स्पष्ट हुनुपर्नेमा जोड दिए । 


यस्तै सुरक्षाविद् एवं नेपाली सेनाका पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यातले नेपाल सिध्याउनका लागि नेपाली अमृत संस्कृतिमाथी प्रहार हुन थालेको बताए । उनले भने, ‘जतिखेर जुन देशको धर्मसंस्कृति ध्वस्त पारिन्छ, त्यसपछि त्यो देश नै ध्वस्त पार्न सकिन्छ भन्ने मान्यताका साथ नेपालमाथि आक्रमण भइरहेको छ ।’
उनले विश्वमा अमेरिकाले जति पनि गतिविधी गरिरहेको छ, त्यो पैसा कमाउनका लागि गरिरहेको टिप्पणी गरे । 

उनले १८ औं शताब्दीमा पृथ्वीनारायण शाहमा भएजति पनि विदेश नीति अहिलेका बौद्धिक भनिएकाहरुमा नभएको बताउँदै पृथ्वीनारायण शाह, जंगबहादुर, राजा महेन्द्रबाट त्यो बेलाको समयको मूल्याङ्कन गर्दै नेपालले आफ्नो विदेश नीति बनाउनुपर्ने बताए । 

यस्तै डा. नन्द बहादुर सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएरु इन्डो प्यासिफिक रणनीतिबारे नेपालको स्पष्ट नीति बनाउँन आग्रह गरे । उनले भारतका विभिन्न पार्टीको आफ्नो सिद्धान्त विचार भएपनि राष्ट्रिय नीतिमा एक ठाँउमा भएको बताउदै नेपालमा यस्तो किन हुन सकिरहेको छैन भन्दै प्रश्न गरे । उनले नेपालको तर्फबाट अन्र्तराष्ट्रिय सम्बन्ध अध्ययनका लागि थिङ्क ट्याङ्कको निर्माण गर्नुपर्नेमा जोड दिए । 

यता डा. मृगेन्द्र बहादुर कार्कीले इन्डो प्यासिफिक रणनीति चीनको बिआरआई कार्यक्रमलाई शान्तिपूर्ण रुपमा हत्याउने गरी आएको उल्लेख गरे । उनले नेपालको आफ्नो स्पष्ट विदेश नीति हुनुपर्ने बताउँदै पार्टी र आफ्नो स्वार्थबाट पर रहेको थिङ्क ट्याङ्कहरुको विकास गर्नुपर्नेमा जोड दिए । 

उनले चीनबाट ४० जना नेकपाका कार्यकर्तालाई सि जिनपिङ्को सिद्धान्त पढाउन आएको बताउँदै नेपालको कम्युनिस्ट पार्टीले उनको सिद्धान्तलाई अवलम्बन्बन गर्ने हो भने चीनमा त्यसको खासै बहस नहुने तर नेपालको कम्युनिस्ट पार्टी चेपुवामा पर्ने बताए । र त्यसको असर चीनलाई पर्ने उनको विश्लेषण छ । 

कार्यक्रममा अर्का वक्ता नेकपा क्रान्तिकारीका नेता सिपी गजुरेलले इन्डो प्यासिफिक रणनीति नेपालको स्वाधिनता र राष्ट्रियतासँग जोडिएको विषय भएको बताए । उनले यो रणनीतिको सहकर्मी भए नेपालको असंलग्न परराष्ट्र नीति खारेज हुने उल्लेख गरे ।
 
उनले भने, ‘अमेरिकाले उदयमान शक्ति राष्ट्र चीनलाई लक्षित गरेर यो रणनीति ल्याएको हो । अमेरिकाद्धारा प्रायोजित इन्डो प्यासिफिक रणनीतिले तत्काल प्रभाव नपारेपनि भविष्यमा यसले नेपालमा प्रभाव पार्छ ।’

उनले यो रणनीति मार्फत अमेरिका नेपालमा आर्थिक, राजनीतिक र फौजी रुपमा प्रवेश गर्न लागेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए । 

उनले सक्ताधारी पार्टीले दुई थरी नीति लिएको बताए । गजुरेलले चीन गएको बेला राष्ट्रपतिले बिआरआई भनेर भोज खाएर आउने यता आएपनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिका गएर इन्डो प्यासिफिक रणनीतिमा हस्ताक्षर गरेर अमेरिका र चीनलाई खेलाउने काम गरेको आरोप लगाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप