शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अर्थमन्त्रीद्वारा पोखरा विमानस्थल निरीक्षण

शनिबार, ०४ असोज २०७६, २१ : ४७
शनिबार, ०४ असोज २०७६

पोखरा – अर्थमन्त्री डा. युवराज खतिवडाले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शनिबार निरीक्षण गरेका छन् । उनले सो अवसरमा विमानस्थलको कार्य प्रगतिबारे जानकारी लिएका थिए । 

विमानस्थलका लागि थप जमीन अधिग्रहण, मुआब्जा वितरण र काममा आइपरेका  समस्याबारे जानकारी लिँदै उनले तोकिएकै मिति भित्रमा विमानस्थल निर्माणको काम सम्पन्न गर्न निर्देशन दिएका थिए । 

मन्त्री खतिवडाले विमानस्थलको रनवे बढाउन सकिने÷नसकिने, कस्ता प्रकृतिका जहाज अवतरण गर्न सक्छन् लगायतका विषयमा चासो राखे । 

सो अवसरमा मन्त्री खतिवडालाई पोखरा विमानस्थल परियोजना प्रमुख विनेशकुमार मुनाकर्मीले हालसम्म ४७ प्रतिशत काम सम्पन्न भएको जानकारी गराए । उनले तोकिएको मितिभन्दा छ महीना अघि नै काम सम्पन्न गर्ने गरी कार्य भइरहेको बताए ।

सन् २०२१ जुलाई १० सम्म निर्माण सक्ने अन्तिम मिति रहे पनि सन् २०२० को डिसेम्बर सम्ममा सम्पूर्ण काम सक्ने गरी काम गरिरहेको मुनाकर्मीको भनाइ थियो ।

 विमानस्थलको रनवे, ट्याक्सी वे, एप्रोन र ब्लास्ट प्याडको काम सम्पन्न भएको छ । विमानस्थलको ८५ प्रतिशत अर्थवोर्क(कटिङ र फिलिङ) सकिएको, आठ स्लाव तथा कल्र्भट र सिँचाइ च्यानलको ९५ प्रतिशत काम सकिएको बताइएको छ । 

टर्मिनल भवन, ह्याङ्गर, एटिसी कम्प्लेक्स भवन, एटिसी कन्ट्रोल टावर र विमानस्थल प्रवेशद्धारको काम भइरहेको मुनाकर्मीले बताए ।

विमानस्थलको चक्रपथ निर्माणका लागि आवश्यक ५९ रोपनी जमीन तथा ३४ घरटहरा अधिग्रहणको काम भइरहेको छ भने ९५ प्रतिशत मुआब्जा वितरणको काम सकिएको छ । 

कूल रु २२ अर्ब लागतमा निर्माण हुने विमानस्थलमा हालसम्म रु आठ अर्ब ५० करोड खर्च भएको छ । विमानस्थल निर्माणका लागि सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र सिएएमसी इञ्जिनियरीङ कम्पनीबीच सम्झौता भएको हो । सन् २०१७ जुलाई ११ देखि निर्माण कार्य शुरु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप