केन्द्रीय संस्करण
रातोपाटी टिप्पणी

पदक–सम्मानको महाभोज

मुलुकको नाममा बाँडिने पदक–सम्मान शासक वर्गको वपौती र खल्तीको पेवा हो ?

person explore access_timeअसोज ५, २०७६ chat_bubble_outline1

एकछिन कल्पना गरौँ एउटा विवाह भोजको । पण्डितले जुराएको साइतमा वा फेसबुक, प्रेमले जुराएको साइतमा हुने विवाहको अवसरमा केटा वा केटी दुवै पक्षमा विवाहको भोजभतेर चल्छ । सो भोजभतेरमा केटा वा केटीले बोलाएका मानिसहरु मात्र सहभागी हुँदैनन्, त्यसमा त केटाका आमा, बुबा, दिदी, बहिनी, दाजु भाइ सबैले अलग अलग बोलाएका मानिसहरु, जसमध्ये अधिकांशले त विवाह हुन गइरहेका जोडीलाई पनि राम्ररी चिन्दैनन्, समेत सहभागी हुन्छन् । उनीहरुको सहभागिताको एउटै मात्र आधार के हुन्छ भने उनीहरु विवाह गरिरहेका व्यक्तिका नाताकुटुम्बका हुन सक्छन् वा नाता कुटुम्बका व्यक्तिसँग चिनजानको आधारमा मात्रै पनि बोलाइएका हुन सक्छन् ।

त्यस्ता विवाह भोजहरुलाई पनि माथ दिने गरी हरेक वर्ष संविधान दिवसको साइत पारेर मुलुकमा एउटा महाभोज चल्छ– पदक–सम्मान वितरणको । पदक–सम्मान वितरणको लागि नाम ठेगिएका व्यक्तिहरुलाई किन त्यो दिइयो वा दिइन्छ भन्ने कुरामा खासै न्यायोचित आधार वा मापदण्डहरु पूरा गरिएका हुँदैनन् । उनीहरुलाई फगत यसकारण पदक–सम्मान वितरणको त्यस्ता भतेरमा सामेल गराइएका हुन्छन् कि त्यो महाभोज आयोजना गर्न राज्यले खटाएका व्यक्तिहरु वा सत्ताका वरिपरि घुम्ने वर्गहरुसँग तिनको ‘गोरुको दाम्लोसम्म बेचेको’ साइनो हुने गर्छ । पदक पाउने व्यक्तिले के कति कारणले पदक–सम्मान पाए वा के कति योगदानका कारण उनीहरु त्यसका लागि हकदार भए भन्ने कुरा राज्यले आफूलाई कर तिर्ने जनतालाई पारदर्शी ढंगले बताइबस्नु जरुरी नै ठान्दैन । अरु त अरु सम्भवतः पदक पाउने व्यक्तिहरुलाई आफूले के कति कारणले पदक दिइयो भन्ने कुरा  पनि राम्ररी थाहा हुँदैन होला । 

******

वर्षेनी हुने र चल्दै आएको पदक वितरणको गणतान्त्रिक महाभोजको आयोजना कुनै नयाँ नौलो सृष्टि होइन, यो त हामीले हिजो निरंकुश र जनविरोधी ठानेको पञ्चायतकालीन, राजतन्त्रकालीन शासनसत्तामा पनि चल्ने र चल्दै आएको कुरा हो । यस अर्थमा पदक वितरणको यो महाभोजको आयोजना पञ्चायतकालीन, राजतन्त्रकालीन परम्पराकै निरन्तरता पनि हो ।

******

वर्षेनी हुने र चल्दै आएको पदक वितरणको गणतान्त्रिक महाभोजको आयोजना कुनै नयाँ नौलो सृष्टि होइन, यो त हामीले हिजो निरंकुश र जनविरोधी ठानेको पञ्चायतकालीन, राजतन्त्रकालीन शासनसत्तामा पनि चल्ने र चल्दै आएको कुरा हो । यस अर्थमा पदक वितरणको यो महाभोजको आयोजना पञ्चायतकालीन, राजतन्त्रकालीन परम्पराकै निरन्तरता पनि हो । पञ्चायतकालमा, राजतन्त्रकालीन समयमा पनि यसरी नै पदकको महाभोज चल्थ्यो । शासनसत्ताको वरिपरि घुम्ने, तिनको सेवाखातिरदारीमा महारथ हासिल गर्ने र शासक वर्गको हुक्के, चम्चे, अर्दली, चाकरी, चुक्ली र चाप्लुसी गर्न जान्नेहरु सबै कुनै न कुनै पदकका हकदार बन्ने गर्थे । अरु त कुरै छोडौं, जतिसुकै जड्याहा, फटाहा, लुच्चा वा नालायक किन नहोउन्, शासक वर्गको परिवारमा जन्मेकै आधारमा पनि कतिपय व्यक्तिहरु स्वतः उच्च पदकका हकदार हुने गर्थे । शासकका छोराछोरी, नातानातिनी वा नाता कुटुम्ब भएकै आधारमा उनीहरु राज्यबाट दिइने उच्च पदक–सम्मानका हकदार कहलाइन्थे र त्यसले विभूषित गरिन्थे ।

उन्नत राज्य व्यवस्था भनिएका लोकतन्त्र, गणतन्त्रमा हुनुपर्ने र गर्नैपर्ने कुरा भनेको राजतन्त्रकालीन त्यो कुपरम्पराको दाहसंस्कार हो । शासक वा सत्ताको भजनमण्डली र तिनीसँग गोरुको दाम्लो बेचेकासम्महरुलाई समेत जथाभावी पदकसम्मान वितरण गरिने प्रथा प्रचलनको निर्मम हत्या गरिनु पथ्र्यो र त्यसको सट्टामा साँच्चै नै योगदान गरेकाहरुलाई मात्र पदक–सम्मानको हकदार मानिने नयाँ परम्पराको थालनी गरिनुपथ्र्यो । पदक वा सम्मान भनेको मुलुक र जनताका लागि विशिष्ट योगदान पुर्याएका व्यक्तिहरुलाई दिइने कुरा हो भन्ने तथ्यलाई वास्तविक रुपमै व्यवहारमा स्थापित गरिनुपथ्र्यो । तर त्यसो हुन सकेको छैन । उन्नत अनि देश र जनताको पक्षमा भनिएको नयाँ राज्य व्यवस्थाको स्थापना हुने तर तिनका सञ्चालकहरु चाहिँ शिरदेखि पाउसम्मै पुरानै राज्यव्यवस्थाका शैली र संस्कारमा चुर्लुम्म डुबेर त्यसैलाई निरन्तरता दिनमै रमाउने, आनन्द महसूस गर्ने विडम्बनाकारी स्थिति यथावत कायमै छ । त्यसैको परिणति हिजो राजतन्त्रकालीन समयमा राजाका छोराछोरी, नातानातिनीहरु अनि परिवारका सदस्यहरुले जस्तै गरी अहिले पनि शासनसत्तामा रहेका वा शासनसत्ताका दावेदार ठानिएकाहरुको छोराछोरी, भाइभतिजाहरुलाई समेत विभिन्न नाममा पदक दिइने लज्जाजनक कर्मले निरन्तरता पाइनैरह्यो, पाइनैरहेको छ ।

******

जसको लाठी उसैको भैंसी भनेजस्तै पदक–सिफारिश समितिमा बसेकै व्यक्तिले पदक–सम्मान थाप्नुको अर्थ के हो ? एउटा पत्रकारले पत्रकारिता गर्दा, उद्योगपतिले उद्योगधन्दा चलाउँदा वा एउटा कलाकर्मी, इन्जिनियर वा डाक्टरले आफ्नो पेशागत धर्म निर्वाह गरिरहँदा त्यसले मुलुकको लागि के विशिष्ट योगदान पुर्याइरहेको हुन्छ ? के आफ्ना पेशागत कर्म गर्नु नै पदक सम्मानको हकदार वा दावेदार हुनु हो ?

******

सको लाठी उसैको भैंसी भनेजस्तै पदक–सिफारिश समितिमा बसेकै व्यक्तिले पदक–सम्मान थाप्नुको अर्थ के हो ? एउटा पत्रकारले पत्रकारिता गर्दा, उद्योगपतिले उद्योगधन्दा चलाउँदा वा एउटा कलाकर्मी, इन्जिनियर वा डाक्टरले आफ्नो पेशागत धर्म निर्वाह गरिरहँदा त्यसले मुलुकको लागि के विशिष्ट योगदान पुर्याइरहेको हुन्छ ? के आफ्ना पेशागत कर्म गर्नु नै पदक सम्मानको हकदार वा दावेदार हुनु हो ? अन्यथा, आफ्ना पेशागत कर्म निर्वाह गर्दा गर्दै मुलुक र जनताका लागि विशिष्ट योगदान पुर्याएका व्यक्तिहरुलाई मात्रै राज्यले बाँड्ने पदक–सम्मानका लागि योग्य ठहरिनुपर्ने होइन र ? राज्यकोषबाट पानी जस्तै बगाइने सम्पत्तिको दोहन गर्दै एउटा शासकको उपचारमा संलग्न हुने देशी–विदेशी चिकित्सकहरु पदक सम्मानका लागि योग्य ठहराइनुको मापदण्ड के हो ? तिनको पेशागत कर्मलाई निर्वाह गर्दै सःशुल्क फगत एउटा शासकको उपचार गर्नु नै पदक सम्मानको हकदार हुनु हो भने मुलुकभित्रै आफ्ना कर्तव्य निर्वाह गर्ने क्रममा दुरदराजमा अत्यन्तै कम तलबमा, कठीन परिस्थितिमा र कतिपय अवस्थामा त आफैंले रगत दिँदै र आफूले नै रकम खर्च गरेर देशवासीका उपचारमा अहोरात्र खटिरहेका चिकित्सकहरु त झन् त्यो भन्दा पनि ठूलो पदक र सम्मानको हकदार हुनुपर्ने होइन र ? उपचारको अवसर नपाएर छट्पटिरहेका तथा मृत्युलाई कुरिरहेका निमुखा गरिब जनताका छोराछोरीहरुको जीवन रक्षामा खट्ने चिकित्सकहरु नै साँचो अर्थमा पदकका हकदार हुनुपर्ने होइन र ?

यो त एउटा उदाहरण मात्र हो  । यस्ता उदाहरणहरु पदकका नामावली खोतल्दै जाँदा मनग्गे भेटिन्छन् । कानूनी व्यवस्थाका नाममा गरिने कुर्तकहरुले जथाभावी बाँडिने यस्ता पदक–सम्मान वितरणको ‘कालो कर्म’लाई सेतो कर्ममा बदल्न सक्दैन भन्ने बुद्धि शासकवर्गहरुमा पलाउनु जरुरी छ ।

मुलुकको नाममा बाँडिने पदकसम्मानहरु भनेको के शासक वर्गको खल्तीको पेवा हो ? के यो भनेको तिनका वपौती हो ? राज्यलाई कर तिर्ने प्रत्येक नागरिकले अब यो प्रश्न उठाउने बेला आएको छ । त्यसका साथसाथै पदक पाउनेहरुले पनि पदक पाएको गर्वमा रम्नुभन्दा साँच्चैकै न्यायोचित आधारमा पाएको अवस्थामा बाहेक, राज्यसत्तामा भएकाहरुसँगको आफ्नो ‘गोरुको दाम्लो बेचेसम्म’को साइनोको आधारमा पाएको पदकले दिने न्यानो र आफ्नै तिघ्रामा सुसु गर्दा प्राप्त हुने न्यानोका बीचमा के अन्तर छ भन्ने कुराको महसूस गर्नु र त्यसबारेमा सोचविचार गर्नु जरुरी छ । अन्यथा, न्यायोचित आधार र मापदण्डबिना बाँडिने यस्ता पदक सम्मानहरुले राष्ट्रको सम्मानलाई त उहिल्यै टुकुचामा बगाइसकेकै हो, त्यसले पदक थाप्ने व्यक्तिकै इज्जत सम्मानमा पनि नमेटिने कालो दाग लगाइदिन सक्छ है भन्ने कुराको पनि हेक्का राख्नु जरुरी छ ।

कमेन्ट

  1. Sept. 22, 2019, 7:25 p.m. madan karki
    Aringal oyirelan.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...