शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देवघाटमा वृद्धग्राम बनाइने

आइतबार, ०५ असोज २०७६, १९ : २४
आइतबार, ०५ असोज २०७६

चितवन – देवघाट क्षेत्र विकास समितिले सञ्चालन गर्दै आएको वृद्धाश्रमलाई वृद्धग्रामको रुपमा अगाडि बढाउने तयारी भएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलकाअनुसार वृद्धाश्रमलाई वृद्धग्राम बनाउनका लागि नवलपुरको गैँडाकोट नगरपालिका, तनहूँको देवघाट गाउँपालिका, चितवनको भरतपुर महानगरपालिका तथा तीनवटै जिल्लाका प्रतिनिधिसभा सदस्य सकारात्मक देखिएका छन् ।

अध्यक्ष पौडेलले वृद्धाश्रम सुन्दर, सफा र रमणीय हुनुपर्छ भनेर काम अगाडि बढाइएको बताए । देवघाट क्षेत्रमा अनाथ व्यक्ति मात्रै बस्ने ठाउँ नभएको उल्लेख गर्दै उनले देवघाटलाई जीवनको उत्तराद्र्ध समयमा आनन्दको जीवन बिताउने ठाउँका रुपमा विकास गरिने बताए ।

देवघाटको समग्र विकासका लागि गण्डकी प्रदेश सरकार र ३ नम्बर प्रदेश सरकारसमेत सकारात्मक रहेका उनको भनाइ छ ।

गैँडाकोटका नगरप्रमुख छत्रराज पौडेलले देवघाटको धार्मिक र ऐतिहासिक महत्वको बारेमा प्रचार गर्न सकेको अवस्थामा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन हुने बताए ।

भ्रमण वर्ष २०२० लाई सफल पार्नसमेत देवघाटको धार्मिक महत्वका बारेमा अन्तर्राष्ट्रियस्तरमा जानकारी गराउनुपर्नेमा उनको जोड थियो । समग्र देवघाट क्षेत्रको विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

चितवन क्षेत्र नम्बर २ का सांसद एवं कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले देवघाटको गुरुयोजनाअनुसार काम अगाडि बढाउन केन्द्रीय तहमा छलफल चलाइएको बताए । 

आगामी १० वर्षभित्रमा गुरुयोजना पूरा गर्ने गरी आर्थिक स्रोत जुटाउनका लागि तीनै जिल्लाका स्थानीय सरकार, दुवै प्रदेश सरकार र केन्द्र सरकारसँग पहल गरिने उनको भनाइ छ ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरेनबाबु घिमिरेले देवघाटमा सरकारीसहित तीन ठूला वृद्धाश्रम रहेका बताए ।

त्यस्तै जीवनको उत्तराद्र्धमा देवघाटमा एक हजार पाँच सय भन्दा बढीले कल्पवास बस्ने गरेका घिमिरेको भनाइ छ । सो क्षेत्रमा सरकारी तवरबाट समेत ५० कल्पवास कुटी निर्माण भइरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप