बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भुटानसँग नेपालको लज्जास्पद हार

आइतबार, ०५ असोज २०७६, २१ : ४२
आइतबार, ०५ असोज २०७६

काठमाडौं – तेस्रो साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधिमा ह्याट्रिक गर्ने सपना पालेको नेपालले भुटानसँग लज्जास्पद हार खेपेको छ । 

हल्चोक स्थित शसस्त्र प्रहरी बलको मैदानमा आइतबार भएको समूहको दोस्रो खेलमा भुटानसँग ३–० गोलले पराजित भएपछि नेपालको सेमिफाइनल यात्रनै धरापमा परेको छ । खेलभर नेपाललाई कडा टक्कर दिएको भुटानले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो ।

खेलको ३७ औं मिनेटमा भुटानका यशी दोर्जीले नेपालको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै गोल गरे । त्यसपछि भुटानले ८६औं मिनेटमा पेनाल्टी मार्फत दोस्रो गोल थपेको थियो ।

डिबक्स भित्र नेपालका विशाल बस्नेतले भुटानका केल्जाङ जिग्मीलाई  लडाएपछि भुटानले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई जिग्मी आफैले सदुपयोग गरे । 
त्यसपछि ९० औं मिनेटमा कर्मा सोनामले डिबक्स बाहिरबाट उत्कृष्ट सोलो गोल गर्दै भुटानलाई सहज जित दिलाए । हारसँगै नेपालको सेमिफाइनल सम्भावना कमजोर बनेको छ । नेपाल अघिल्लो दुई संस्कराणको विजेता टोली हो ।

समूह ‘ए’मा रहेको नेपाल पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरीमा रोकिएको थियो । पहिलो जितसँगै भुटानले तीन अंक बनाएको छ । माल्दिभ्स र नेपालको समान एक एक अंक छ । भुटान सेमिफाइनलमा प्रवेश गरेको छ ।

अब समूहको अन्तिम खेलमा भुटानले माल्दिभ्सलाई फराकिलो गोल अन्तरले हराए मात्र नेपाल अघिल्लो चरणमा पुग्नेछ । समूह ‘बी’मा बंगलादेश, भारत र श्रीलंका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप