शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ संकल्पसहित विकासको मार्गमा सरकार : प्रधानमन्त्री ओली

आइतबार, ०५ असोज २०७६, २२ : ३३
आइतबार, ०५ असोज २०७६

काठमाडौं– प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सरकार नयाँ संकल्पका साथ अघि बढेको बताएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको आइतबार बसेको ४६ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको तीव्र गतिको चरणमा देश प्रवेश गरिसकेकाले सबै पक्ष रचनात्मक ढंगले अघि बढ्न निर्देशन दिए । 

राजनीतिक संरक्षणका बलमा निर्माणसम्बन्धी ठेक्का दिने परिपाटी विगतमा रहेको र त्यस्ता कमजोरीले देश पछि परेको भएपनि अब त्यस्तो परिस्थिति नरहने प्रधानमन्त्री ओलीले प्रष्ट पारे । समयमा काम सम्पन्न नगर्ने ठकेदारलाई अब मौका नदिइने प्रधानमन्त्रीको भनाई छ । अन्तिम मौका पनि गुमाउने निर्माण व्यावसायीसँग कडाइ गर्दै ठेक्का तोड्ने मात्र होइन, त्यस्तालाई दण्डित गर्ने र क्षतिपूर्ति भराएर भविष्यमा समेत अयोग्य ठहरिने गरी कालो सूचि वा डार्क लिस्टमा राख्नुपर्ने उनले बताए । ‘त्यस्ता ठेकेदारका कारण देश कति समय पछाडि प¥यो ? बाटोघाटोको अभावमा सामाजिक जागरण र आमजनताको सुविधाको विषय कति पछि प¥यो ?’ बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरे । 

प्रधानमन्त्री ओलीले अब ठेकेदारहरुलाई राजनीतिक संरक्षण दिएर जोगाउने अवस्थाको अन्त्य हुने बताए । उनले सरकार जनताका आकाँक्षा पुरा गर्ने दिशामा अघि बढिरहेको बताउँदै भने, ‘जनताले हाम्रो पार्टीलाई ठूलो अपेक्षाका साथ बहुमत दिएका छन्, यो सरकार जनताको आकांक्षा पूरा गर्नैपर्ने विशेष अवस्थामा अगाडि बढिरहेको छ ।’ जनता आफैं तत्पर नभए देश बन्दैन भन्ने कुरा जनतालाई नै बताएर समृद्धितर्फ अघि बढ्न प्रेरित गर्नुपर्ने बताउँदै ओलीले आम जनताबीच जागरणको लहर सृजना गर्नुपर्नेमा जोड दिए । ‘हामीले पपुलिस्ट काम होइन, दीगो विकासका काम गर्नुपर्दछ । हामीले आमजनताका बीच जागरणको लहर श्रृजना गर्नुपर्दछ,’ उनको भनाई थियो । 

हिंसा फैलाउन खोज्ने र गाउँ गाउँमा गएका विकासको बजेट लुट्ने विप्लव नामको समूह विकासको बाधक भएको भन्दै प्रधानमन्त्री ओलीले वातावरणको विनाश नहुने गरी विकासका गतिविधि अघि बढाउनुपर्नेमा  जोड दिए । 

उक्त अवसरमा प्रधानमन्त्री र योजना अयोगका उपाध्यक्ष डा.पुष्प कँडेल, राष्ट्रिय पुननिमार्ण प्राधिकरणका प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवाली एवम् लगानी वोर्डका प्रमूख कार्यकारी अधिकृत महाप्रसाद लामिछानेबीच कार्य सम्पादन सम्झौता पनि सम्पन्न भएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप