बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी भन्छ – दसैँमा ढुक्क भएर घर जानुहोस्

काठमाडौँमा प्रहरीको यस्तो छ दसैँतिहार सुरक्षा योजना
सोमबार, ०६ असोज २०७६, १० : २९
सोमबार, ०६ असोज २०७६

काठमाडौँ । प्रहरीले चाडबाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले विशेषगरी दसैँ, तिहार र छठपर्वमा शान्ति सुरक्षालाई सुदृढ बनाउन विशेष सुरक्षा योजना सार्वजनिक गरेको बताएको छ ।

रातोपाटीसँगको कुराकानीमा परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले चाडवाडलाई लक्षित गरेर काठमाडौँको सुरक्षा व्यवस्थालाई मजबुत बनाएको बताए ।

सुरक्षा निकायको उच्च समन्वयवाट सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारवाही र शीघ्र सेवा, सहज पहुँचको व्यवस्था मिलाई आम जनसमुदायमा भरपर्दो सुरक्षा वातावरण निर्माण गर्ने परिकल्पना रहेको एसएसपी सुवेदीले बताए ।

‘काठमाडौँभित्र हुने हत्या, अपहरण, ठगी, चोरी, महिला हिंसालगायत घटनालाई घट्न नदिन तीन हजारभन्दा बढी प्रहरीलाई परिचालन गर्न लागेका छौँ,’ एसएसपी सुवेदीले भने ।

उनले व्यक्ति तथा सम्पत्तिको सुरक्षा, आर्थिक कारोवार, बैंक तथा वित्तीय संस्थामा हुने चोरी लुटपाट, टिकटमा हुने ठगी बढ्न सक्ने हुनाले पैदल गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती, मोटर गस्ती सञ्चालन गर्न लागेको जानकारी दिए ।

बैंक तथा वित्तीय क्षेत्र, यातायात सञ्चालन हुने क्षेत्र, व्यापारिक कारोवार हुने क्षेत्र, होटल रेष्टुराँ, नाकालगायतका क्षेत्रमा विशेष गस्ती खटाइएको समेत उनले बताए ।

कलङ्की, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ बसपार्क, गोङ्गबु, गौशाला, चाबहिल, कोटेश्वर र हल्चोक टिकट काउण्टरमा समेत प्रहरी खटाउन लागिएको परिसरले जनाएको छ ।

चाडपर्वमा यदि कसैले होहल्ला गरेमा, शंकास्पद सामान ओसारपसार गरेमा, मदिरा सेवन गरी सवारी चलाएमा, जुवा तास खेलेको भेटाएमा, कालोबजारी भइरहेको, दुर्घटना भएको वा नशाको प्रभावमा हिँडिरहेको व्यक्ति देखेमा नेपाल प्रहरीको कन्ट्रोल १०० वा काठमाडौँ, भक्तपुर वा ललितपुर प्रहरीका प्रमुखलाई तत्काल खबर गर्न आग्रह पनि गरेको छ ।

एम्बुस टीम तैनाथ

प्रहरीले चाडपर्वका समयमा लुटपाट र डकैती गरेर भाग्ने आपराधिक व्यक्ति तथा समूहलाई पक्राउ गर्न ३० ठाउँमा कुकुरसहितको ‘धराप टोली’ (एम्बुस टीम) तैनाथ गरेको छ ।

चोरी÷डकैती तथा लुटपाटका घटनापछि अभियुक्त फरार हुन नदिन डीएसपी र इन्सपेक्टरको कमान्डमा ३० टोलीलाई नाकाबन्दी र सर्च एन्ड अपरेसनमा परिचालन गरिएको छ ।

दसैँ, तिहार, छठ, नेपाल सम्वत लगायत चाडपर्वमा वित्तीय अपराधमा संलग्न गिरोह सक्रिय हुने भन्दै महानगरीय प्रहरीले त्यसलाई नियन्त्रण गर्न काठमाडौँका ३० ठाउँमा ‘एम्बुस टोली’ खटाइएको छ ।

रातोपाटीसँगको कुराकानीमा एसएसपी सुवेदीे वित्तीय अपराध नियन्त्रणका लागि सादा पोशाक, गस्ती र कुकुरसहितको एम्बुस टोली तैनाथ गरिएको जानकारी दिए ।

घर छोडेर जाँदा खबर गर्न प्रहरीको आग्रह

चाडबाडको समयमा लामो समय घर छाडेर जाने उपत्यकाबासीलाई घर छाड्नुअघि प्रहरीलाई जानकारी दिन सुरक्षा निकायले अनुरोध गरेको छ ।

उपत्यकाका तीनैवटा प्रहरी कार्यालयले जनतालाई आफूसँग बहुमूल्य सामग्री भए, त्यसबारे पनि नजिकैको प्रहरी कार्यालयलाई जानकारी दिन अनुरोध गरेको छ ।

काठमाडौँ परिसरले सार्वजनिक गरेको चाडबाड लक्षित सुरक्षा योजनाअनुसार प्रहरीले कुनै पनि घटना भए तत्काल प्रहरी र छिमेकीलाई समेत जानकारी दिन आग्रह गरेको छ ।

‘हामीले चाडबाड लक्षित सुरक्षाअन्तर्गत बैङ्क वित्तीय संस्था, सपिङ मल धेरै भीडभाड हुने क्षेत्रमा बढी सुरक्षाकर्मी परिचालन गरेका छौं,’ एसएसपी सुवेदीको भनाई थियो ।

ड्युटीको प्रकार

एरिया विभाजन – १४

पैदल गस्ती टोली – ६०

पिकेटिङ स्थान – ६७ अस्थाई पिकेट, ५७ स्थाई

साइकल गस्ती – ३५

मोटरसाइकल गस्ती – ८३

मोबाइल गस्ती टोली – ४६ सीआरभी, मोबाइल ४८

सूचना संकलन टोली (सादा पोसाक) – ७०

सर्च एण्ड अपरेसन – ३०

एम्बुस र निगरानी – ३०

हतियारसहित मोटरसाइकल गस्ती – ५३

नाकाबन्दी – २५ टोली सिप्रअको कमाण्डमा कुनै घटना भएमा तत्काल परिचालन गर्ने ।

काठमाडौँ भित्रिने नाकाहरु कुकुरसहितको चेकजाँच – ७

कार्डन अपरेशन – ३०

यी क्षेत्र हुन् प्रहरीले ड्युटी गर्ने

परिसरले सार्वजनिक गरेको योजनामा सर्वसाधारणको घर, सम्पत्ति रहेको स्थान, विशिष्ट व्यक्ति, महत्त्वपूर्ण प्रतिष्ठानहरु, मठ मन्दिर, गुम्बा रहेको स्थानहरुमा प्रहरीको सक्रियता बढ््नेछ ।

वित्तीय संस्था तथा आर्थिक कारोबार बढि हुने स्थानहरुमा (सादा पोसाक) मा प्रहरी परिचालन गरिने समेत एसएसपी सुवेदीको भनाइ थियो । यस्तै यातायात सञ्चालन हुने स्थानहरुमा पनि प्रहरी तैनाथ हुनेछन् ।

काठमाडौँ प्रवेश गर्ने नाकाहरु, होटल, गेष्ट हाउस तथा रेष्टुरेन्ट र अपराधिक गतिवित्रि हुने स्थान र भीआईपीको मुभेन्ट हुने स्थानहरुमा पनि प्रहरी परिचालन हुनेछन् ।

अपराधसँग सूचना भएमा यी कुराहरुमा ध्यान दिनुहोस्

१. आफ्नो घरमा डेरा गरेको व्यक्ती तथा घरमा काम गर्ने व्यक्तीको नाम, थर र वतन फोटोसहितको स्थायी ठेगाना लिई राख्नुहोस् ।

२. रातको समयमा आफ्नो घर, टोलमा हो–हल्ला गरी हिँड्ने तथा शंकास्पद व्यक्तिहरुको गतिविधी देखेमा तुरुन्त प्रहरीलाई खवर गर्नुहोस ।

३. जुवा, तास, ढुकुटी खेल्ने खेलाउनेहरुको जानकारी प्रहरीलाई दिनुहोस ।

४. टोल छिमेकमा नौलो असमान्य व्यक्तिहरु बारम्बार देखिएमा निगरानी राखी सोधपुछ गर्ने बानी बसाल्नुहोस ।

५. सार्वजनिक स्थानमा धुमपान, मद्यपान गर्ने कार्यलाई निरुत्साहीत गरौं ।

६. लागुऔषध, नशालु पदार्थ सेवन तथा बेचविखन गर्ने कोही व्यक्ति भएमा तुरुन्त प्रहरीलाई खवर गर्नुहोस् ।

७. जीवन अमूल्य छ, मादक पदार्थ सेवन गरेर कहिल्यै सवारी साधन नचलाऔँ ।

८. छतमा चढेर यात्रा नगरौँ, सडकको दाँया, बाँया जथाभावी पार्किङ नगरौँ, ट्राफिक नियमको सधैँ पालना गरौँ ।

९. अपरीचित व्यक्तीले दिएको कुनै पनि खानेकुराको सेवन नगर्नुहोस् र आफ्नो बालबच्चालाई पनि सेवन गर्नुहुन्न भनेर सिकाउनुहोस् तथा अपरीचित व्यक्तीलाई झट्ट विश्वास नगर्नुहोस् ।

१०. रातको समयमा कोही कसैले ढोका ढक्ढकाएमा नचिनिकन ढोका नखोल्नुहोस् ।

११. आफ्नो घर, टोल, छिमेकमा वत्तीको व्यवस्था मिलाइदिनु भई सम्भव भएसम्म आपतकालिन साइरन राख्नुहोस् ।

१२. बैङ्क तथा वित्तीय संस्थामा रकमको कारोबार गर्न जाँदा तथा ठूलो नगद कारोवार गर्न जाँदा सुरक्षित तवरले विश्वासिलो मानिसलाई साथमा लिई जानुहोस साथै कुनै संकास्पद गतिविधी खतरा लागेमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस् ।

१३. चोरी, डकैती, लुटपाट, डाका र गुण्डागर्दी गर्ने व्यक्तीको सुचना प्राप्त हुनासाथ गोप्य रुपमा प्रहरीलाई खवर गर्नुहोस् ।

१४. सार्वजनिक स्थानमा हिँड्डुल गर्दा बढि मात्रामा सुनको गरगहना प्रयोग नगर्नुहोस् र साथमा बढी नगद पनि नबोक्नुहोस् ।

१५. धम्कीपूर्ण फोन आएमा रेकर्ड गर्न मिल्नेसम्म रेकर्ड गरी फोन नम्बरसहित प्रहरीलाई खबर गर्नुहोस् ।

१६. कालो बजारी, अवैध मदिरा बिक्री वितरण, चन्दा आतंक, अपहरण, फिरौती र देह व्यापार गर्ने व्यक्ती टोल छिमेकमा भएमा तुरुन्त प्रहरीलाई खवर गर्नुहोस ।

१७. रातिको समयमा घरको गेट, ढोकाको चुकुल, कव्जा राम्रोसँग बन्द गरी ताल्चा लगाएर मात्र सुत्ने गर्नुहोस् ।

१८. लामो समयकोलागी घर बाहिर जाँदै हुनुहुन्छ भने विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गराउनुहोस् ।

१९. दिनको समयमा तपाईंको घर डेरा खाली हुने अवस्थामा हुन्छ भने कृपया नजिकको प्रहरी वा तपाईंको जिम्मेवारी प्रहरी यूनिटलाई खवर गर्नुहोस् । बहुमूल्य सामानहरु घरमा नराख्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप