शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस नेताहरुको प्रश्न: नेकपा चिनियाँ कम्युनिस्ट पार्टीको भ्रातृसंगठन हो ?

सोमबार, ०६ असोज २०७६, १५ : ४२
सोमबार, ०६ असोज २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरुले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई चिनियाँ कम्युनिस्ट पार्टीको भ्रातृ संगठनको संज्ञा दिएका छन् । नेकपा स्कुल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकर्तालाई ‘सी जिनपिङ पथ’ बारे प्रशिक्षण दिइने कुरामा काँग्रेस नेताहरुले यस्तो संज्ञा दिएका हुन् ।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित ‘काण्डै काण्ड’ पुस्तक विमोचनमा काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण र केन्द्रीय सदस्य एनपी साउदले नेकपा चिनियाँ कम्युनिस्ट पार्टीको भ्रातृ तथा भगेनी संगठन जस्तो देखिएको बताएका हुन् । 

नेकपाले एकीकरणपछि पहिलोपटक सञ्चालन गर्न लागेको स्कुल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकर्तालाई ‘सी जिनपिङ पथ’ बारे प्रशिक्षण दिँदैछ । सोमबारबाट काठमाडौैंमा सुरु हुने प्रशिक्षणमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले सम्मेलन उद्घाटन गर्दैछन् । 

जसमा चिनियाँ कम्युनिस्ट पार्टीको संगठनात्मक प्रणाली, पार्टी अनुशासन, वैचारिक राजनीतिक कार्यपत्र प्रस्तुत हुनेछ ।  यसले राष्ट्रको स्वभिमानमाथि पनि प्रश्न उठेको पूर्व रक्षामन्त्री समेत रहेका खाँणले बताए । प्रमुख सचेतक खाँणले भने, ‘यो वास्तवमा सबै नेपालीका लागि आपत्तिजनक विषय हो । कुनै पार्टी र देशसँग मैत्रीपूर्ण सम्बन्ध हुनसक्छ । तर, त्यो मुलुकमा जस्तो खालको शासन व्यवस्था छ, हुबुह त्यस्तै खालको शासन व्यवस्था ल्याउन खोज्नु अलोकतान्त्रिक र राष्ट्रघाती विषय हो । नेपाल कम्युनिस्ट पार्टी अहिले जुन ढंगले अगाडि बढेको छ, त्यो नेपालको राष्ट्रियताका लागि गम्भिर चिन्ताको विषय हो ।’

यस्तै केन्द्रीय सदस्य एनपी साउदले भने, ‘प्रधानमन्त्री केपी ओलीको विदेश नीति मोदी (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी) भारतीय जनता पार्टीमुखी हुन्छ । चीनबाट कोही आए चिनियाँ कम्युनिस्ट पार्टीमुखी हुन्छ । यस्तो विदेश नीतिले मुलुकलाई कहाँ पुर्याउँछ ?’नेता साउदले चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक नीति नेपालले स्वीकार गर्न नसक्ने बताए । 

‘फेरि चिनियाँ कम्युनिस्ट पार्टीले चीनको आर्थिक, राजनीतिक नीतिबारे नेकपाले कार्यकर्तालाई प्रशिक्षण दिँदैछ । यो त चिनियाँ कम्युनिस्ट पार्टीको भ्रातृ तथा भगेनी संगठन जस्तो देखियो । एकदलीय कम्युनिस्ट शासन व्यवस्थामा शासन गरेको चिनयाँ कम्युनिस्ट पार्टीको राजनीतिक नीति नेपालका लागि स्वीकार्य हुँदैन ।’

चिनियाँ राष्ट्रपतिलाई केन्द्रमा राखेर नेकपाले गर्ने खोजेको अभ्यासले नेपालको स्वतन्त्र विदेश नीति र भोलीको शान्तिका लागि कम्युनिस्टहरुबाट चुनौती आउने अवस्था देखिएको बताए ।  ‘चीनको कम्युनिस्ट पार्टीका प्रमुख तथा राष्ट्रपतिलाई आफ्नो विचारको केन्द्रमा राख्ने गरी जसरी नेकपाले अभ्यास गर्दैछ, यसले नेपालको राष्ट्रिय अस्तित्व, नेपालको स्वतन्त्र विदेश नीति र नेपालको भोलिको शान्तिलाई पनि कुनै न कुनै रुपमा कम्युनिस्टहरुबाट चुनौती आउने अवस्था देखिएको छ,’ उनको भनाई थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप