बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

समृद्धिको साझा लक्ष्य कोर्दै नेपाल र चीन

सोमबार, ०६ असोज २०७६, २३ : ३३
सोमबार, ०६ असोज २०७६

काठमाडौं– नेपाल र छिमेकी चीनका दुई सत्तारुढ कम्युनिष्ट पार्टीले पहिलोपटक संयुक्तरुपमा विचारधारात्मक प्रशिक्षण आयोजना गरी समृद्धिको साझा आधार पहिल्याउने पहल थालनी गरेका छन् ।
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओलगायतका नेताहरुको उपस्थितिमा आज शुरु भएको विचारधारात्मक प्रशिक्षण त्यसैको सङ्केत हो ।

नेता, कार्यकर्ता र सञ्चारकर्मीको खचाखच उपस्थिति देखिएको प्रशिक्षणको शुभारम्भका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छिमकी चीनको समृद्धिको शैली दिगो, नमूना र अनुशरणयोग्य रहेको बताए । नेपाली मौलिकताको समृद्धिका लागि दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुग्नुपर्ने उनको भनाइ थियो । 

नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले पहिलोपटक आयोजना गरेको विचारधारात्मक छलफल कार्यक्रम नयाँ थालनी भएको उल्लेख गर्दै उनले नेपालले राजनीतिक आन्दोलन र परिवर्तनको चरण पार गरी उपलब्धिलाई संस्थागत गर्न अधिकारसम्पन्न नयाँ संविधानको कार्यान्वयन र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु वर्तमान कार्यभार भएको स्पष्ट पारे ।

दुई दिने प्रशिक्षण कार्यक्रम ‘सि जिनफिङ विचाधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा र दुई पार्टीबीचको विचारधारात्मक छलफलमा केन्द्रित हुनेछ । दुई पार्टीबीचको यस प्रकारको मौलिक प्रशिक्षण र छलफल भएको यो पहिलो अवसर हो । चीनका राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनफिङको आसन्न नेपाल भ्रमणको सम्मुखमा यो कार्यक्रम आयोजना गरिएको छ । 

कार्यक्रममा सम्बोधन गर्न र चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका लागि आएको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख (मन्त्री) साङ ताओ नेतृत्वको १४ सदस्यीय चिनियाँ टोली हाल काठमाडौँमा छ । चीनमा जनवादी गणतन्त्र स्थापनाको सात दशक पुगेको छ भने नेपालका कम्युनिष्ट पार्टी स्थापनाको सात दशक पुगेको छ ।

“क्रान्ति गरेपनि कम्युनिष्टहरुले विकासको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरालाई चीनले खण्डन गरेको छ । चिनियाँ समाजको रुपान्तरण आजको समाजको महत्वपूर्ण उपलब्धि हो । त्यसलाई अनुशरण गर्न सकिन्छ ।” प्रधानमन्त्री ओलीले भने, “चिनियाँ विशेषताको समाजवादलाई अझ व्यापक प्रगतिशील बनाउने काम हाल चिनियाँ नेतृत्वले गरेको छ । यसको श्रेय राष्ट्रपति सीलाई जान्छ । उहाँको विचार विश्व व्यवस्थाको समयानुकूल छ । यो चीनको आफ्नै मौलिक जग, वुद्धि र पसिना तथा व्यापकतामा विकास भएको हो ।”

आपसी सहकार्य र विचारको आदानप्रदानमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने,“आक्रामकरुपमा बढिरहेको विश्व पूँजीवादले युवा पुस्तामा व्यक्तिवादी प्रवृत्ति हाबी भएको सन्दर्भमा कम्युनिष्ट पार्टीको विचार, माक्र्सवादको दर्शन र निष्ठालाई निरन्तर प्रशिक्षित गरिहनुपर्छ । माक्र्सवादलाई हरेक देशले सिर्जनात्मकरुपमा प्रयोग गर्नुपर्छ । नेपालमा अहिले हामी एकीकृत कम्युनिष्ट पार्टीको प्रतिस्पर्धात्मक चरित्रको जनताको जनवादलाई अभ्यास गरिरहेका छौँ । दुई पार्टीबीचको संयुक्त प्रशिक्षण नयाँ अभ्यासको थालनी सावित भएको छ ।”

चीनका राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङको दृढता र विचारमा आधारित सन् २०५० सम्ममा चीनले देखेको नयाँ शैलीको समाजवादको लक्ष्यको सफलता र आसन्न जनवादी गणतन्त्र चीनको ७० औँ दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहो¥याए । उनले चीन न्यायोचित विश्व व्यवस्था, सामाजिक सहअस्तित्व र उज्यालो भविष्यतर्फ यात्रा तय गरेर चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनमा महासचिव जिनफिङले अघि सारेको अवधारणा पारित गरी कार्यान्वयनमा ल्याउनुले सो मुलुकले समृद्धिको नयाँ यात्रा शुरु गरेको स्पष्ट देख्न सकिएको जनाए । 

प्रधानमन्त्री ओलीले आफूहरुले हासिल गरेका अनुभव, चुनौती र अनुभवको आदानप्रदान हुनु आवश्यक रहेको भन्दै नेकपा पार्टी एकतापछि प्रतिस्पर्धामा आधारित जनताको बहुदलीय जनवादको विचार अङ्गीकार गरिएको र कम्युनिष्ट पार्टीले कैयौँ मुलुकका क्रान्ति गरी सामाजिक रुपान्तरणको अगुवाइ गरेको अवस्थामा त्यसका लागि कम्युनिष्ट पार्टी एकताबद्ध र अनुशासित हुनैपर्ने जनाए ।

प्रधानमन्त्रीकै भनाइमा मिल्दो मन्तव्य व्यक्त गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको मत जित्न सक्षम हुनेलाई नेतृत्व सुम्पने र अनुशासन कायम गर्न जरुरी भएकामा जोड दिए । उनले भने,“दुई देशबीच सदियौँदेखि रहेको ऐतिहासिक सम्बन्धको जगमा नयाँ सम्बन्धको आधारशीला खडा गर्न प्रशिक्षण फलदायी हुनेछ ।”

उनले आन्तरिक मामिलामा अहस्तक्षेप र सहयोगात्मक सहकार्य नै सम्बन्धको कडी भएको उल्लेख गर्दै एक चीनप्रति नेपाल व्यवहारिकरुपमै प्रतिबद्ध रहेको र नेकपाको विदेश नीतिमा सो विषय स्पष्ट उल्लेख गरिएको जनाए । चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’बाट नेपालले कृषि, उद्योग र सामाजिक क्षेत्रको विकासका पूँजी र प्रविधि भित्र्याउन लाभ लिन सक्ने उनको भनाइ थियो । 

उप्रधानमन्त्री एवं नेकपाका स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले चिनियाँ विशेषतासहितको समाजवादको ढाँचाले विश्वमा प्राज्ञिक वहस सिर्जना गरेको सन्दर्भमा नेपाल र चीनका कम्युनिष्ट पार्टीबीचको विचारधारात्मक छलफलले आपसी सम्बन्धलाई थप विकसित गर्ने बताए । उनले दुई पार्टीबीच स्कुल विभाग र प्रशिक्षण कार्यक्रमहरुमा तल्लो तहसम्म निरन्तर अनुभव आदानप्रदानको परिपाटी बसाल्नु पर्नेमा जोड दिए ।

आजै नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टीका नेता ताओले प्रधानमन्त्री ओलीसँग दिउँसो भेटवार्ता गरी नेपाली ढाँचाको समृद्धिलाई आफूहरुले आधारभूतरुपमै सघाउने विश्वास व्यक्त गरेका  थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप