शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस नेता सिटौलाद्वारा डा.शर्मालाई सम्मान

मङ्गलबार, ०७ असोज २०७६, ११ : १२
मङ्गलबार, ०७ असोज २०७६

झापा । स्वास्थ्य र शिक्षा क्षेत्रबाट समाजमा योगदान पुर्याएको भन्दै नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई झापामा सम्मान गरिएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ ले बिर्तामोड–१० स्थित सैनिक बजारमा आयोजना गरेको कार्यक्रममा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले डा.शर्मालाई सम्मान गरेका हुन् । 

कार्यक्रममा नेता सिटौलाले दोसल्ला र माला लगाएर सम्मानपत्र प्रदान गरी डा.शर्मालाई सम्मानित गरे । सम्मान कार्यक्रममा नेता सिटौलाले समाजसेवाका क्षेत्रमा डा.शर्माले पुर्याएको योगदानको प्रशंसा गर्दै डा.शर्मा अव सांसद बन्ने पक्का रहेको ठोकुवासमेत गरेका छन् । ‘सुनिल शर्माले छोटो समयमै ठुलो प्रगति गरेर सफल व्यक्तिको उदाहरण प्रस्तुत गर्नु भएको छ ।’ नेता सिटौलाले भने ‘अव उहाँले चुनाव जितेर सांसद बन्ने पक्का छ, सांसद बनेपछि र पार्टी सरकारमा गएपछि अरु के–के बन्ने हो उहाँकै हातमा छ ।’ उनले कांग्रेसको सरकार बन्दा डा.शर्माले मन्त्री पाउँने संकेत पनि गरे । 

सुनिल शर्मा र आफ्नो सम्बन्ध बाबु–छोराको जस्तै रहेको भन्दै उनले डा.शर्माको प्रगतिमा सवैले गर्व गर्नुपर्ने धारणा राखे । सो अवसरमा डा.शर्माले सम्मानका कारण आफुलाई अझ बढी सामाजिक काममा अघि बढ्ने हौसला मिलेको बताउँदै झापामा अर्को एम्बुलेन्स निःशुल्क प्रदान गर्ने घोषणासमेत गरेका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका डा.शर्माले यसअघि मोरङको पथरीशनिश्चरे, ईटहरा र पाँचथरमा पनि एम्बुलेन्स प्रदान गरेका छन् ।


उनले गरिब, बिपन्न तथा असहाय हजारौं बिरामीलाई निःशुल्क उपचार गरेर ज्यान बचाउँनुका साथै बिपन्न परिवारका सयौं बिद्यार्थीलाई निःशुल्क चिकित्सा शिक्षा पढाउँदै आएका छन् । समाजसेवामा सक्रिय डा.सर्माले समाजमा पुर्याएको योगदानका कारण बिभिन्न क्षेत्रबाट सम्मान पाउँने क्रम बढ्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप