बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध जोडेपछि नेकपालाई के फाइदा होला ?

मङ्गलबार, ०७ असोज २०७६, १८ : १७
मङ्गलबार, ०७ असोज २०७६

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध विस्तारका विषयमा सम्झौतापत्रमा हस्तक्षर भएको छ । दुई पार्टी एकतापछि नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच औपचारिक रुपमा भाइचारा सम्बन्ध विकास गर्ने गरी लिखित सम्झौता भएको पहिलोपटक हो । तत्कालीन एमाले र माओवादीसँग चिनियाँ कम्युनिष्ट पार्टीको भिन्दाभिन्दै सम्बन्ध थियो ।

६ बुँदे सम्झौतापत्रमा उच्चस्तरीय भ्रमण, कार्यकर्ता तहको अध्ययन भ्रमण बृद्धि, पार्टी–पार्टी अनुभव आधारित सहयोग आदान–प्रदान, युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान–प्रदान, जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि र विचार सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालनजस्ता विषय छन् । 

यद्यपि पार्टी एकतापछि दुवै देशका कम्युनिष्ट पार्टीका नेताहरुका भ्रमण आदानप्रदान भैरहेका छन् । गएको डेढ बर्षमा नेकपाका धेरै नेता–कार्यकर्ताले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमण गरेका छन् । र, यस्तो भ्रमण गर्नेमा शीर्ष नेता पनि छन् । अहिले पनि नेकपाका २९ जना मेयर–उपमेयर चीनको अध्ययन भ्रमणमा छन् ।पछिल्लोपटक शीर्ष तहमा पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले चार दिने चीन भ्रमण गरेका थिए । 

यस्तो सम्झौताले नेकपालाई के फाइदा हुन्छ ? नेकपाका एक स्थायी समिति सदस्य भन्छन्, ‘पार्टी एकतापछि पहिलो पटक औपचारिक रुपमा भाईचारा सम्बन्ध विकसित भएको छ । यसले भ्रमण बढाउने छ र एक अर्काका पार्टीका अनुभव साट्न मद्धत पुर्राउनेछ ।’

अर्का एक नेताको प्रतिक्रिया छ, ‘यो औपचारिकता मात्र हो । सम्झौता भयो भन्दैमा सवै बदलिन्छ भन्ने होइन । पहिलाजस्तै दुई पार्टीवीचको सम्बन्ध रहन्छ । यसले केही मात्रामा विश्वास चाहिँ बढाउँछ ।’ सम्झौतापत्रमा हस्ताक्षर पछि चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख साङ ताओ उत्साही थिए ।

स्रोतका अनुसार ताओलेदुई पार्टी र दुई देशवीचको सम्बन्धवारे चारवटा विषयमा बोलेका थिए । सम्झौता पत्रमा हस्ताक्षर हुँदा त्यहीँ रहेका नेकपाका एक नेताका अनुसार ताओले नेपालले तिव्वतबारे लिएको नीतिको प्रंशसा गरेका थिए ।

चिनियाँ नेता ताओको भनाई उद्धृत गर्दै नेकपाका ती नेताले भने, ‘हाम्रो सम्बन्ध छिमेकीको रुपमा थप प्रगाढ हुन्छ । तपाईंहरुले तिब्बतकोबारेमा जुन अडान राख्नुभएको छ, त्यसको हामी प्रसंशा गर्छौँ । र, तपाईंहरुको सार्वभौमसत्ताको पक्षमा पनि हामी छौं  । विकास साभेदारीमा हामी तपाईंहरुसँगै रहन्छौँ । तपाईंहरुसँग कमरेडी सम्बन्ध पनि कायम राख्न चाहन्छौं  ।’ 

सोही अवसरमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालले चीनको विकास र समृद्धिबाट सबै उत्साहित भएको बताएका थिए । उनले चीनको विकासबाट नेपाल पनि लाभान्वित हुन चाहेको पनि बताएका थिए । 

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त आयोजनामा दुईदिने विचारधारात्मक प्रशिक्षणको दोस्रो दिन भाईचारा सम्बन्ध विस्तार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उद्घाटन सत्रमा पुगेका नेकपाका अध्यक्षद्धयले चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रशंशा गरेका थिए ।

सम्झौतापत्रमा हस्ताक्षर हुँदा पनि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति थियो । तर, नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीवीचको निकटतालाई विपक्षी दल कांग्रेसले शंकाको दृष्टिले हेरेको छ ।  काँग्रेसले त नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भाृत संस्थाजस्तो भएको भनेर टिप्पणी गरेको छ । 

यो पनि पढ्नुहोसः 

के नेकपा उत्तरतिर ढल्केकै हो ?

यस्ता छन् नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको ६ बुँदे समझदारी

प्रचण्ड र चिनियाँ विदेश विभाग प्रमुख ताओबीच भेटवार्ता​

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच सम्झौतामा हस्ताक्षर

सुखसुविधामा लागे कम्युनिष्टको शासन गर्ने बैधता समाप्त हुन्छ : अध्यक्ष प्रचण्ड (मन्तव्यको पूर्णपाठसहित)

नेपाल–चीनबीचको सम्बन्ध हिमाल झैं उच्च र अटल छ : प्रधानमन्त्री ओली


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप