बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि विकास बैङ्क रकम चोरी प्रकरण : बैङ्क म्यानेजरकै आइडी प्रयोग गरी रकम ट्रान्सफर

ह्याकिङ होइन चोरी, ग्राहकको पैसा सुरक्षित : बैङ्क
बुधबार, ०८ असोज २०७६, १० : १७
बुधबार, ०८ असोज २०७६

काठमाडौँ । कृषि विकास बैङ्कको कोर बैंकिङ सिस्टम प्रयोग गरेर ४ करोड रकम चोरी गर्दैगर्दा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । रकम चोरी प्रकरणमा ७ जनाको प्रत्यक्ष संलग्नता रहेकोसमेत पुष्टी भएको छ ।

सोमबार र मङ्गलबार बैङ्कबाट अस्वभाविकरुपमा ट्रान्ज्याक्सन भएको पाइएपछि बैङ्कले तत्कालै प्रहरीलाई खबर गरेको थियो । त्यसलगत्तै खटेको प्रहरीले पैसा निकाल्दै गर्दा दुई जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि नियन्त्रणमा लिएकाको नाम भने गोप्य राखिएको छ ।

कृषि विकास बैङ्क श्रोतका अनुसार बैङ्कको लहान शाखाबाट विभिन्न ७ जना व्यक्तिको नाममा रकम ट्रान्सफर गरिएको थियो । ७ जना व्यक्तिका नाममा करिब ४ करोड रुपैयाँ ट्रान्सफर गरिएको हो । जसमध्ये डेढ करोडभन्दा बढी रुपैयाँ उनीहरुले निकालिसकेका थिए भने बाँकी रकम निकाल्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

यसरी गरियो ट्रान्सफर

कृषि विकास बैङ्क लाहान शाखाका म्यानेजरको युजर नेम र पासवर्ड प्रयोग गरी त्यही कम्प्युटर वा अन्य कुनै कम्प्युटरबाट करिब ४ करोड रकम ट्रान्सफर गरिएको छ । सो रकम विभिन्न ७ जना व्यक्तिका नाममा ट्रान्सफर गरिएको थियो, जसमध्ये २ जना व्यक्ति रकम निकाल्दै गर्दा पक्राउ परेका थिए । अर्का एकजना व्यक्तिलाई पनि नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले बताएको छ ।


आन्तरिक खाताबाट रकम चोरी

लहान शाखाका म्यानेजरको युजरनेम र पासवर्ड प्रयोग गरी त्यही सिस्टमबाट रकम ट्रान्सफर भएको पाइएको छ । म्यानेजर आन्तरिक तालिमका लागि काठमाडौँमै रहेकोबेला उनको एकाउट प्रयोग गरिएको छ । त्यसकारण अन्य कुनै कर्मचारी वा बैङ्क म्यानेजरकै संलग्नता रहेको हुनसक्ने भन्दै उनलाईसमेत नियन्त्रणमा लिइएको प्रहरीले दाबी गरेको छ । रकम चोरी गर्दा बैङ्कमा भएको नाफामध्ये केही रकम ती खाताहरुमा ट्रान्सफर गरिएको छ । असार मसान्तसम्मको नाफाको हिसाबकिताब रुजु भइसकेकाले ती रकम नचलाइएको बताइएको छ । साउन र भदौ महिनाको नाफाबाट डेबिट (बैङ्कबाट निकालिएको रकम) गरेर उक्त रकम ट्रान्सफर गरिएको छ । अर्को अडिट नभएको अवस्थामा बैङ्कको नाफा चोरी गरिएको हो ।

सिस्टम ह्याक होइन, रकम चोरी

कृषि विकास बैङ्कको बैङ्किङ सिस्टम ह्याक भएको नभई मिलेमतोमा रकम चोरी भएको बैङ्क श्रोतले दाबी गरेको छ । बैङ्कको कोर बैंकिङ सिस्टम प्रयोग गरी त्यहाँ रहेको नाफा रकम विभिन्न व्यक्तिको खातामा ट्रान्सफर गरिएको हो । बैङ्क कर्मचारीकै मिलेमतोमा उक्त रकम ट्रान्सफर भएको हुनसक्ने प्रबल सम्भावना रहेको प्रहरीले बताएको छ । सफ्टवेयर वा सिस्टम ह्याक भएको नभई कर्मचारीकै युजरनेम र पासवर्ड प्रयोग गरी रकम ट्रान्सफर गरिएकाले यो ह्याक नभई चोरी भएको बैङ्कले बताएको छ ।

ग्राहकको रकम सुरक्षित

कृषि विकास बैङ्कमा भएको रकम चोरीमा ग्राहकको पैसा चोरी नभएको बैङ्कले जनाएको छ । ग्राहकको रकम रहने सिस्टम प्रयोग नगरिएको र बैङ्ककै नाफा नोक्सानको खाताबाट नाफा रकम अरुको खातामा पठाइएको हो । यसकारण ग्राहकले कुनै चिन्ता लिनु नपर्ने प्रहरी र बैङ्क स्रोतको दाबी गरेको छ ।

रकम ट्रान्सफर भइ करीब २ करोड रकम निकालिसकेको अवस्थामा २ जना व्यक्ति पक्राउ परेपछि मंगलबार राती ११ बजे पक्राउ परेका व्यक्ति, बैङ्कका म्यानेजर, प्रहरीसहितको टोली लाहान पुगिसकेको छ । अहिले यस विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

बैङ्किङ सिस्टम बुझेको व्यक्तिको संलग्नता

कृषि विकास बैङ्कको यो चोरी प्रकरणमा बैकिङ सिस्टम नै बुझेको व्यक्तिको संलग्नता रहेको प्रहरी र बैङ्कको दाबी छ । कोर बैङ्किङ सिस्टम प्रयोग गरी नाफाको रकम ट्रान्सफर गर्नुले बैङ्किङ सिस्टम बुझेको व्यक्तिले हत्तपत पत्ता नलाग्ने गरी चलाखीपूर्ण ढङ्गले रकम ट्रान्सफर गरेको देखिन्छ । त्यसकारण यो चोरीमा बैङ्क कर्मचारीको कुनै न कुनै संलग्नता रहेको बैङ्क र प्रहरीको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप