बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गरिमा जातको वर्णशङ्कर धानमा अब लाग्ने भए बाला

बुधबार, ०८ असोज २०७६, २० : २६
बुधबार, ०८ असोज २०७६

चितवन – जिल्लामा लगाइएको आयातीत गरिमा जातको वर्णशङ्कर धानमा बाला लाग्ने प्राविधिकले जनाएका छन् । बीउ खरीद गर्दा भनिएको समयमा धानमा बाला नलागेपछि कृषकले सरोकारवालाको ध्यानाकर्षण गराएका थिए ।

यससँगै राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका धान संयोजक वरिष्ठ वैज्ञानिक डा रामवरण यादव नेतृत्वको प्राविधिक समूह जिल्ला आएको थियो । सो समूहले जिल्लाका विभिन्न स्थानमा कृषकको खेतमा गएर धानको निरीक्षण गरेको थियो । यादवका अनुसार धान बाला बन्ने अवस्थामा रहेको छ । उनले भने, “धानको बाला बन्ने अवस्था ‘प्रिमोडीया’ चरण शुरु भएको छ ।” झण्डै २० देखि २५ दिनमा बाला देख्न सकिने उनले बताए । 

धान पाक्न अझै दुई महीना लाग्ने यादवको भनाइ छ । वर्णशङ्कर गरिमा जात १३५ दिनमा पाक्ने भए पनि अहिलेको अवस्था हेर्दा धान पाक्न १६० दिन हाराहारी लाग्ने उनले बताए । 

यादवले यो धान घोल खेतमा लगाउनुपर्ने भन्दै पानी लगाउन र किरा लाग्न दिनबाट रोक्न सकेमा उत्पादन नघट्ने उहाँको भनाइ छ । यद्यपि धेरै धान सुक्खा ठाउँमा देखिएको उनले बताए ।

तापक्रम घट्दै गएको भए पनि दिनमा २० डिग्रीभन्दा कम नभएमा कुनै समस्या नहुने उनको भनाइ थियो । प्राविधिक टोलीले एक÷दुई दिनमा कृषि सचिवलाई प्रतिवेदन बुझाउने उनले जानकारी दिए ।   

यसैबीच सो धानको नेपालमा दर्ता हुँदा ल्याइएको बीउ र पछि बिक्री गरिएको बीउ एकै हो वा होइन भन्ने विषयमा प्राविधिक परीक्षण (डिएनए फिङ्गर प्रिन्टिङ) का लागि बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन पठाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

धानको बीउ नेपालमा आयात गर्ने कम्पनी सनराइज एग्रिकल्चर रिसर्च सेन्टर दाङका प्रमुख देवानजङ्ग चौधरीलाई पनि जिल्लामा बोलाइएको थियो । 

ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार जिल्ला प्रशासन कार्यालयमा छलफलपछि चौधरी बोलाइएको समयमा आउने गरी जानुभएको छ । धान उत्पादन गर्ने भारतीय कम्पनीका प्रतिनिधि पनि आउने जनाइएको छ ।

ज्ञान केन्द्रका प्रमुख ढकालका अनुसार इच्छाकामना गाउँपालिका बाहेक जिल्लाभरमा सो धानमा बाला लाग्न नसकेपछि वैज्ञानिकसहितको प्राविधिक टोलीले यहाँको धानको निरीक्षण गरेको हो । जिल्लामा करीब एक ३०० बिघामा यो धान लगाइएको अनुमान छ । जसबाट पाँच हजार हाराहारी कृषक प्रभावित भएका छन् । 
 
गरिमा जातको यो धान विसं २०७२ मा सूचिकृत भएको हो । गरिमा भारतीय उत्पादन हो । यसको जातीय गुणअनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल खेलिसक्नुपर्छ । तर त्यसो हुन नसकेपछि कृषक अन्योलमा परेका छन् । 

जिल्लामा गरिमा, गोरखनाथ, युएस ३१२ जातका आयातीत वर्णशङ्कर र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावामन्सुली धान बढी क्षेत्रफलमा कृषकले लगाउने गरेका छन् । 

यसैबीच पूर्वी चितवनका किसानले प्रदेश नं ३ का मुख्य मन्त्री डोरमणि पौडेललाई धानमा देखिएको समस्याका विषयमा आज जानकारी गरएका छन् । कृषकले मुख्यमन्त्री पौडेल यहाँ आएका अवसरमा धान नपसाउने समस्या देखिएको भन्दै यस विषयमा छानबिन गर्न माग गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप