केन्द्रीय संस्करण
पोसाक चर्चा

यस्तो पहिरन रुचाउँछन् नेतादेखि अभिनेतासम्म

person explore access_timeअसोज ११, २०७६ chat_bubble_outline0

पहिलो पटक तपाईं कुनै व्यक्ति देख्दै हुनुहुन्छ भने बाहिरी आवरणबाट उसको व्यक्तित्व पाउनुहुन्छ । तर बाहिरी आवरण सजाउने मामलामा सबैसँग पहिरन सेन्स नहुन पनि सक्छ । सार्वजनिक पहिचान बनाएका व्यक्तिहरूका हकमा भने पहिरन सेन्सले विशेष अर्थ राख्छ । किनभने सर्वसाधारणको चासो उनीहरूको विभिन्न क्रियाकलापसँगै पहिरनमा पनि रहने गर्छ । समाजमा अग्रस्थानमा रहेका नेतादेखि चलचित्रका अभिनेतासम्म के कस्ता पहिरन प्रयोग गर्ने गर्छन् ? उनीहरुकै शब्दमाः

लोकेन्द्रबहादुर चन्द (पूर्वप्रधानमन्त्री) 


विशेषतः दौरासुरुवाल र कोट लगाउँछु । यो पहिलेदेखिको बानी हो । खैरो रङको दौरासुरुवाल लगाउन मन पराउँछु । दौरासुरुवालसँगै भादगाउँले टोपी र ढाकाटोपी लगाउने गरेको छु । 

किरणकुमार श्रेष्ठ (राष्ट्रिय वाणिज्य बैङ्कका सीईओ)


सर्ट, पाइन्ट र कोट नै मनपर्ने पोसाक हो । फर्मल कार्यक्रम जानुपर्दा यसमा टाई पनि थप्छु । ह्वाइट, कालो र नीलो मेरा मनपर्ने पहिरनको रङ हुन् । पोसाक धेरै रेडिमेड नै किन्छु ।  ब्रान्डेडभन्दा पनि मन परेको पोसाक किन्न गरेको छु । पोसाकमा वार्षिक खर्च ३० हजार जति हुन्छ ।

चित्रबहादुर केसी (अध्यक्ष राष्ट्रिय जनमोर्चा) 


पोसाकमा मलाई धेरै रुचि छैन । शरीर ढाक्न पाए पुग्छ ।  सफारी, कमिज सुरुवाल, लबेदा सुरुवाल, कोटपाइन्ट लगायत सबै प्रकारको पोसाक लगाउँछु । मनपर्ने कलरको यही हो भन्ने छैन । ब्रान्ड रोज्ने बानी कहिल्यै भएन । सिलाएको, रेडिमेड सबै प्रकारको पहिरन लगाउँछु ।

पुरुषोत्तम दाहाल (वरिष्ठ पत्रकार) 


पहिरनमा मनपर्ने नपर्ने भन्ने छैन । पाइन्ट र सर्ट सधैँ लगाउँछु । दौरा सुरुवाल र कोट पाइन्ट कहिले कहिले मात्र लगाउँछु । पहिला पहिला राजाको अन्तरवार्ता लिँदा, राज्यकीय भ्रमणमा जाँदा दौरा सुरुवाल, कोट लगाउँथे । कालो र सेतो सर्ट पाइन्ट मेरो मनपर्ने रङ । भादगाउँले कालो टोपी मेरो शिरमा कहिल्यै छुट्दैन । यो मेरो मनपर्ने पहिचान पनि हो ।
मेरो २०४४ मा मेरो विवाह भएको हो । त्यो समयपछि मैले पहिरन किनेको छैन । सधैँ श्रीमतीले किनिदिन्छिन् । 

डिना उपाध्याय (पूर्वमन्त्री तथा नेता नेपाली काँग्रेस) 


मनपर्ने पोसाक सारी र कुर्था सुरुवाल नै हो । विशेष कार्यक्रममा सारी प्रयोग गर्छु । अन्य समय कुर्था सुरुवाल नै ठीक लाग्छ । मनपर्ने रङ ग्रिन र पिङ्क हो । ब्रान्ड कन्सेस छैन । मनपरेको र राम्रो लागेको किन्छु । कहिलेकाहीँ सिलाएर पनि लगाउनु, कहिले रेडिमेड पनि किन्छु । पहिरनमा वार्षिक १०, १२ हजार भएपुग्छ ।

रमेश बुढाथोकीको (चलचित्र निर्देशक) 


क्याजुअल, त्यो पनि लुज खालका पहिरन मनपर्छ । सर्ट, पाइन्ट र टिसर्ट नै बढी प्रयोग गर्छु । पहिले ट्र्याकसुट पनि मनपथ्र्यो । अचेल कम मनपर्छ । विशेष समारोह, कार्यक्रम पर्दा त्यसको ओझन हेरे कोट पाइन्ट र दौरा सुरुवाल लगाउँछु ।
लाइटपिङ्क मेरो फेबरेट कलर हो । तर प्रयोग पनि सेतो र लाइटपिङ्क नै गर्छु । पहिले पहिरनमा धेरै खर्च हुन्थ्यो । अहिले साथीभाइले पनि दिन्छन् । त्यसको अलवा वर्षमा ४०, ५० हजार मात्र खर्च छ । 

डा. तारानाथ शर्मा (साहित्यकार) 


मनपर्ने पोसाक दौरासुरुवाल नै हो । पहिले पहिले दौरासुरुवाल  र टोपी सधैँ प्रयोग गर्थें । दौरासुरुवाल सबै प्रकारको लगाउँछु । म सानैदेखि अङग्रेजी स्कुलमा पढेको मानिस । त्यसैले सट पाइन्ट पनि लगाउँथे । वर्षमा २, ३ जोर लुगा सिलाए पुग्छ । यस हिसाबले भन्नुपर्दा वर्षमा १०, १२ हजार पोसाकमा खर्च छ । 

मदनकृष्ण श्रेष्ठ (वरिष्ठ कलाकार)


पोसाकमा सौखिन छैन । राम्रो लगाउन मनपर्छ । अधिकांश समय पाइन्ट, सर्ट नै लगाउँछु । महत्त्वपूर्ण कार्यक्रम तथा विशेष अवसरमा दौरा सुरुवाल र कोटपाइन्ट लगाउँछु । यो सजिलो पहिरन पनि हो । धेरै छिरबिरे, बुट्टा भएको रङ्गीचङ्गीभन्दा पनि साधारण पहिरन मनपर्छ । निलो, उज्यालो खालको पहिरन धेरै मनपर्छ । पहिरन ब्रान्डेड भए पनि साधारण भए पनि त्यसले शरीर नै ढाक्ने हो । ब्रान्डेडको नाममा बढी पैसा तिर्ने काम मात्र हो ।

विश्वराज पोखरेल (डीआईजी नेपाल प्रहरी) 


मैले प्रायः प्रयोग गर्ने पोसाक टिर्सट, जिन्स पाइन्ट र कोट पाइन्ट नै हो । सेतो र पहँेलो कलरको पहिरन राम्रो लाग्छ । पहिले म ढाका टोपीको सौखिन थिएँ । पछिल्लो समय टोपी आवश्यकता हेरेर लगाउने गरेको छु । ब्रान्डेडभन्दा पनि सुपथमूल्यमा ब्रान्डेडसँग मिल्दो किसिमको पोसाक किन्छु । म ब्रान्डेड लुगा लगाउँदिनँ ।

अभिषेक प्रताप शाह (सांसद नेपाली काँग्रेस) 


तराईमा रहँदा गर्मी धेरै हुने भएकाले कुर्ता र पाइजामा लगाउँछु । काठमाडौँमा सर्ट, पाइन्ट र कोट लगाउन मनपर्छ । विशेष अवसरमा राजपुत पोसाक पनि लगाउँछु । कालो, खैरो र औपचारिक कलर नै मनपर्छ ।
शिरमा ढाका टोपी लगाउन मनपर्छ । विदेश जाने बेलामा अनिवार्य रूपमा ढाकाको टोपी लैजाने गरेको छु । नेपालमा पनि कहिलेकाहीँ विदेशीसँग भेट्नुपर्यो भने ढाकाको टोपी लगाउँछु । म पोसाक सिलाएर पनि लगाउँछु । रेडिमेड पनि किन्छु । 

विष्णुदत्त पौडेल (डाक्टर) 


मनपर्ने पोसाक राष्ट्रिय पोसाक दौरा सुरुवाल हो । तर दैनिक जीवनका लागि सर्ट, पाइन्ट नै बढी प्रयोग हुन्छ । गर्मी महिनामा घरमा बस्दा हाप पाइन्ट र टिसर्ट पनि लगाउँछु । निलो, हरियो अलिकति चहकिलो कलरको पहिरन मनपर्छ । मेरा लागि पहिरन श्रीमतीले किन्ने गरेकी छन् । उनले ल्याइदिएको मैले लगाउने हो । उनले रेडिमेड किन्ने गरेकी छन् । कहिलेकाहीँ ब्रान्डेड पनि किन्छु । 
 

मेघा चौधरी (निर्देशक नर्भिक अस्पताल) 


लगाउँदा सहज हुने कपडा मनपर्छ । ‘सेमिफर्मल’ कपडा नै लगाउँदै आएकी छु । सेतो र कालो रङको कपडा रोजाइमा पर्छन् । कपडा ‘रेडिमेड’ नै हुन्छन् । कपडाको ब्राण्डबारे ‘कन्सियस’ छैन । 

डा. मिनेन्द्र रिजाल (पूर्वमन्त्री तथा सांसद) 


सजिलो लाग्ने सबैथरीका कपडा लगाउँछु । आफ्नो निर्वाचन क्षेत्र जाँदा गर्मीमा कुर्तासुरुवाल लगाउँछु । मन्त्री हुँदा मात्रै होइन, संसद् जाँदा सधैँ दौरासुरुवालमै हुन्छु । अनौपचारिक कपडा लगाउन त्यत्तिकै सजिलो लाग्छ । नीलो रङका कपडा रोजाइमा पर्छन् । प्रायः ‘रेडिमेड’ कपडा लगाउँछु । सुट र दौरासुरुवाल चाहिँ सिलाउनै परो । चित्तबुझ्दो टेलरिङ नभएकाले ‘रेडिमेड’ कपडा नै लगाउँदै आएको छु । पश्चिमाखाले कपडा ‘रेडिमेड’ नै हुन्छन् । कुर्तासुरुवालमा कुर्ता ‘रेडिमेड’ र सुरुवालको कपडा किनेर सिलाउने गरेको छु । 

सीपी मैनाली (नेता) 


सामान्यतः ‘क्याजुयल’ पोसाक लगाउँछु । औपचारिक कार्यक्रममा जाँदा दौरासुरुवाल लगाउने गरेको छु । रेडिमेड र कपडा किनेर सिलाउने दुवै गर्छु । कपडा सिलाउँदा श्रेष्ठ टेलरिङ पुग्छु । आफूसँग कपडा हुँदा ब्रान्डेडभन्दा सामान्य टेलरिङमा सिलाउन सहज हुन्छ । १०–१५ वर्षयता ढाकाटोपी लगाउँदै आएको छु । भादगाउँले टोपी पनि लगाउँछु । सालिन्दा २० देखि २५ हजार रुपैयाँसम्मको पोसाक खरिद गर्छु ।

विष्णु रिजाल (नेकपा केन्द्रीय सदस्य) 


विशेषतः सर्ट–पाइन्ट लगाउँछु । ‘रेडिमेड’ मात्रै होइन, कपडा किनेर पनि सिलाउँछु । ‘रेडिमेड’ कपडा लगाउन सहज लाग्छ । सालिन्दा एकपटक कपडा किन्छु । कपडा सिलाउँदा काठमाडौँको त्रिपुरेश्वरमा रहेको वल्र्ड ट्रेड सेन्टर पुग्छु । पहिले श्रेष्ठ टेलरिङ जान्थेँ । कपडाको ब्रान्डबारे अनभिज्ञ छु । 

दयाहाङ राई (अभिनेता)  


आफूलाई जे सजिलो लाग्छ, त्यही लगाउँछु । जिन्स पाइन्ट र टिसर्ट लगाउन सजिलो लाग्छ । कपडामा वार्षिक खर्च यति नै हुन्छ भनेर हिसाब–किताब राखेको छैन । मान्छेको काम, सोच परिवर्तन हुँदै गएपछि कपडाको रङ पनि फरक फरक मन पर्दै जाँदोरहेछ । प्रायः रेडिमेड कपडा लगाउँछु । कपडाको ब्रान्डबारे त्यति जानकार छुइनँ । हिजोआज पनि क्याप लगाउँछु । 

पुष्पा भुसाल (सांसद) 


अनौपचारिक पोसाक मन पर्छ । लङ टिसर्ट, प्यारलर पाइन्ट मन परे पनि कुर्तासुरुवाल र सारी लगाउँछु । राजनीति गर्ने भएकाले व्यक्तित्वमा ध्यान दिनुपर्छ । सुन्दर देखिन पोसाकमा खर्च गर्नैपर्छ । पोसाकमा मासिक पाँच हजारजति खर्च हुन्छ । कालो, हरियो र सेतो रङका पोसाक रोजाइमा पर्छन् । रेडिमेडभन्दा धेरैजसो कपडा किनेरै सिलाउँछु । 

सुनील बहादुर थापा (पूर्वमन्त्री) 


धेरैजसो दौरासुरुवाल लगाउँछु । त्यसबाहेक सर्टपाइन्ट लगाउँछु । पोसाकमा त्यति धेरै खर्च हुँदैन । तीन चार जोर दौरासुरुवाल, ६ र ७ वटा पाइन्ट र टिसर्ट भएपछि काफी हुन्छ । संयुक्त राष्ट्रसङ्घमा काम गर्दा जिन्स पाइन्ट, सर्ट, बुट, टिसर्ट लगाएको थिएँ । ‘पिङ्क’, ‘लाइट ग्रिन’ र ‘ब्ल्याक कलर’को पोसाक मन पर्छ । प्रायः कपडा किनेर सिलाउँछु । जे लगाउँदा सजिलो लाग्छ, त्यही लगाउँछु । 

बद्री न्यौपाने (पूर्वमन्त्री) 


नेपाली राष्ट्रिय पोसाक मेरो सबैभन्दा मनपर्ने पहिरन हो । म मन्त्री हुँदा दौरा, सुरुवाल, कोट र ढाकाको टोपी कहिल्यै छुटाउदिन थिए । अहिले पनि लगाउन मनपर्छ । कहिलेकाहीँ छिटो घरबाट निस्किनुपर्ने भएकोले दौरा, सुरुवाल झन्झटिलो लाग्छ । त्यो समय लगाउँदिनँ । तर नेपाली टोपी भने मैले कहिल्यै छोडेको छैन । मेरो मान्यता राष्ट्रिय पहिचान बोकेको पोसाक लगाउनुपर्छ भन्ने हो । भएसम्म सबै नभए टोपी भए पनि । टोपीको अलवा कोट, पाइन्टमा सजिएर हिँड्न मलाई मनपर्छ । पोसाकमा ब्रान्डेडभन्दा पनि सुहाउने पहिरन रोज्छु । 

वैकुण्ठ मानन्धर (धावक) 


सामान्य पोसाक लगाउँछु । ट्र्याकसुट, सर्ट, पाइन्ट र विशेष समारोहमा दौरासुरुवाल पनि लगाउँछु । आफन्त, शुभचिन्तकले पोसाक उपहार दिन्छन् । त्योबाहेक एक हजार पाँच रुपैयाँको पोसाकले वर्ष दिन धान्छ । सेतो र रातो रङको पोसाक मन पर्छ । धेरैजसो कपडा किनेरै सिलाउने गरेको छु । तर, जुत्तामा धेरै खर्च हुन्छ । नौदेखि १२ सयको एक जोर छाला जुत्ताले वर्ष दिन धान्छ भने दौडन पाँचदेखि ६ हजार सम्मको स्पोर्टस् सुज लगाउँछु । त्यसले वर्ष दिन धान्छ । 

हिमालय शमशेर राणा (नेपालकै पहिलो गभर्नर) 


नेपाल सरकारको सेवामा रहँदा दौरासुरुवाल नै लगाएँ । ‘यूएन सर्भिस’बाट फर्केपछि ‘सोसल फङ्सन’मा जाँदा दौरासुरुवाल नै लगाउँछु । त्यसबाहेक सर्टपाइन्ट नै लगाउन सजिलो लाग्छ । पुरानै लुगा भएकाले पोसाकमा त्यति खर्च हुँदैन । २०, २५ वर्ष पुराना कोट पनि छन् । दसैँमा लुगा हाल्ने हो । त्यो पनि नहालेको जुग भइसक्यो ।
बम्बईमा पढेकाले सेतो पाइन्ट, सेतै कमिज मन पथ्र्यो । नेपालमा हुर्केकाले उलन ज्याकेट मन पर्छ । मलाई रेडिमेड कपडा नमिल्ने भएकाले कपडा किनेरै सिलाउनुपर्छ ।

धीरज राई ( गायक) 


जिन्सको ड्रेसअप गर्न शौखिन छु । कलरफुल कपडामा स्पोर्ट खालका जुत्ता लगाएर हिँड्न मनपर्छ । रातो र सेतो रङको कपडा रोजाइमा पर्छन् ।
वर्षिक ५० हजार जति पोसाकमा खर्च छ । धेरै कपडा कपडा ‘रेडिमेड’ नै रोज्छु । कपडाको ब्रान्ड बारे ‘कन्सियस’ छैन । ह्याट मेरो पहिचान हो । क्याप र ह्याट प्रायः छुट्दैनन् ।

शैलेन्द्र सिम्खडा (कलाकार)

मनपर्ने पोसाक टिसर्ट र पाइन्ट नै हो । यी हल्का र सजिलो पनि लाग्छ । क्याप, टोपी लगाउने मेरो बानी छैन । पोसाकमा मनपर्ने कलर कालोमा हरियो मिक्स भएको हो । पहिरनमा ब्रान्ड कन्सेस छैन । आफू राम्रो देखिनु पर्यो । लगाउँदा सुहाउनु पर्यो । त्यति भए पुग्छ । वार्षिक ५०, ६० हजार पोसाकमा खर्च हुन्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...