शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जम्मु–कश्मीर विवादबारे काठमाडौँमा मन्थन : के भन्छन् आरएसएसका नेता ?

शनिबार, ११ असोज २०७६, १३ : ४५
शनिबार, ११ असोज २०७६

काठमाडौँ । भारत सरकारले आफ्नो संविधानको धारा ३७० खारेज गरेर जम्मु–कश्मीरलाई केन्द्र शासित राज्य बनाएपछि भारत–पाकिस्तानबीच विवाद झन् गहिरिएको छ ।

भारतले पाकिस्तानबाट पोषित आतङ्कवादी गतिविधिका कारण जम्मु–कश्मीरको अहिलेको अवस्था आएको र अहिले पनि पाकिस्तानले सो गतिविधि जारी राखेको दावी गरेको छ ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) निकट राष्ट्रिय स्वयम् सेवक संघ (आरएसएस) ले प्रस्तुत गरेको एक तथ्याङ्क अनुसार भारतीय सुरक्षाकर्मीको कारवाहीमा परेर हालसम्म २५ हजार ७ सय १५ आतङ्कवादी मारिसकेका छन् । त्यसमध्ये ८० प्रतिशत पाकिस्तानी मूलका रहेका छन् । आरएसएसका अखिल भारतीय प्रचार प्रमुख अरुण कुमारले काठमाडौँमा आयोजित कार्यक्रममा एक तथ्याङ्क प्रस्तुत गर्दै भने, ‘पाकिस्तानले अहिलेसम्म भारतमा पठाएको हतियार जम्मा गर्ने हो भने त्यसबाट सेनाको १० वटा बटालियनहरु निर्माण हुनसक्छन् । पाकिस्तानले यति ठूलो संख्यामा हतियार र विस्फोटक पदार्थ किन पठायो ? यहिँबाट उसको नियत बुझ्न सकिन्छ ।’

कुमार अनुसार सन् १९८९ देखि हालसम्म भारतले पाकिस्तानी आतङ्कवादीबाट एलएमजी, रकेट लन्चर, एके–४७ जस्ता ७० हजारभन्दा बढी अत्याधुनिक हातहतियार बरामद गरेको भने दुई लाख ५० हजार विस्फोटक उपकरण, १० लाख राउण्डभन्दा बढी गोलाबारुद बरामद गरेको छ । त्यस्तै, सन् २००४ देखि २०१८ सम्ममा आठ हजार ९४७ केजी बारुद र सात हजार ८७१ केजी आरडिएक्स बारमद गरेको छ । उनी भन्छन्, ‘पुरै भारतमा विध्वंश मच्चाउन यो सामाग्री पर्याप्त छ ।’

आतङ्कवादी हमलाका कारण हालसम्म ५ हजार ३३६ भारतीय सुरक्षाकर्मी मारिएका छन् भने पछिल्लो २५ वर्षमा जम्मु कश्मीरमा ४५ हजार २९८ जनाले ज्यान गुमाइसकेको उनले तथ्याङ्क प्रस्तुत गरे । सो क्षेत्रमा पाकिस्तानले विगत ३० वर्षदेखि आतङ्कवादी गतिविधि गरिरहेको उनले दावी गरे ।

पाकिस्तानको आतङ्कवादी गतिविधि भारतमा मात्र नभएर विश्वमै फैलिएको दावी गर्दै अरुण कुमारले भने, ‘विश्वमा कतैपनि आतङ्कवादी हमला भयो भने पाकिस्तानको नाम जोडिएरै आउँछ, त्यसैले अब विश्वले नै पकिस्तानलाई सोध्ने बेला आएको छ कि यो के भइरहेको छ ?’ 

गत साउन २० गते भारत सरकारले जम्मु–कश्मीरलाई संविधानमा दिएको विशेष दर्जा खारेज गर्दै छुट्टै राज्य नभइ केन्द्र शासित राज्य भएको घोषणा गरेको थियो । तर, त्यसबारेको विवाद अझै समाधान भएको छैन । कश्मीरको अवस्था अझै पनि सामान्य नभएको विभिन्न मिडिया रिपोर्टहरुले देखाएको छ । उता, पाकिस्तानले निरन्तररुपमा भारतको उक्त कदमको त्यसको विरोध गर्दै आइरहेको छ । हरेक अन्तर्राष्ट्रिय मञ्चमा पाकिस्तान जोडदार रुपमा उक्त विषयलाई उठान अहिले पनि गरिरहेको छ ।

तर, कुमारले भने जम्मु–कश्मीर भारतको हो भन्ने कुरा संविधानमै व्यवस्था रहेको तर त्यसको बारेमा धेरैको गलत बुझाइ रहेको बताए । ‘भारतको लागि मुख्य समस्या पाकिस्तान हो । पाकिस्तानले नै त्यस क्षेत्रमा लगातार आतङ्कवादलाई बढावा दिएको छ । अब अन्तर्राष्ट्रिय समुदायले पाकिस्तानसँग सवाल गर्नुपर्छ – पाकिस्तानद्वारा समर्थित आतङ्कवादी हमलामा मारिएका जम्मु–कश्मीरका निर्दोष जनताको दोष के थियो ?’

सरकारको पछिल्लो कदमपछि पनि पाकिस्तानले त्यहाँ आतङ्कवादी गतिविधि गर्न नछाडेको उनले दावी गरे । पाकिस्तानले अहिले सामाजिक सञ्जालमार्फत् पनि जनतामा क्रास फैलाउने काम गरेको कुमारले आरोप लगाए । ‘उनीहरुले आतकंवाद, अलगाववाद, कट्टरवादको क्रास देखइरहेका हुन्छन्,’ कुमारले भने, ‘पाकिस्तानीहरु अहिले २४ घण्टा अनलाइनमा सक्रिय छन् । अनलाइन र समाजिक सञ्जालमार्फत जनतलाई भ्रमित गर्ने काम गरिरहेका छन् ।’ पाकिस्तानले ट्वीटरमार्फत मात्र प्रत्येक दिन एक करोड व्यक्तिलाई गलत सन्देश पुर्याइरहेको उनले दावी गरे ।

पाकिस्तानीले सामाजिक सञ्जालमार्फत प्रत्येक महिना एकहजार पोस्टर, दुई सय भन्दा बढी भिडियो, २५ वटा विभिन्न नयाँ लेख जनतामा पुर्याएर भ्रम सृजना गरेको भन्दै आपत्ति जनाए । सामाजिक सञ्जालको सञ्चालन पाकिस्तान, तुर्की, अरब, युके र युएसबाट भइरहेको अध्ययन देखाएको उनले बताए । उनले भने, ‘दैनिक रुपमा नयाँ–नयाँ अनलाइन पोर्टलहरु आउने, फेसबुक पेज बन्ने भइरहेको छ ।’

आरएसएसलाई भारतीय जनता पार्टीको प्रमुख निर्णायक संगठन भनिन्छ । हिन्दु धर्मको प्रचार गर्ने आरएसएसले बोल्ने कुनै पनि कुरा भाजपाको लागि आधिकारीक लाइन मानिन्छ । अरुण कुमारले १५ वर्षसम्म जम्मु कश्मीरमा रहेर काम गरेका थिए । जम्मु कश्मीरको अवस्थाबारे जानकार भएका कारण नेपालको नीति अनुसन्धान प्रतिष्ठान नेपाल र नेशनल ल कलेजले संयुक्त रुपमा आयोजनाको भारतीय संविधानको धारा ३७० : अवधारणा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रममा उनलाई प्रमुख वक्ताकोरुपमा आमन्त्रित गरिएको थियो ।

कार्यक्रमकमा नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले पनि आफ्नो धारणा राखेका थिए । उनले सीमापार (पाकिस्तान) बाट आतंकवाद अत्याधिक भएको कारण भारतले धारा ३७० खारेज गर्ने निर्णय लिएको र त्यसले त्यस क्षेत्रमा भएको समस्यालाई समाधान गर्न मद्दत गरेको बताए ।

जम्मु कश्मीर भारतको अभिन्न अंग रहेको बताउँदै उनले पाकिस्तानले आतङ्कवादी गतिविधिबाट आधिपत्य जमाउन खोजिरहेको दावी गरे । उनले भने, ‘सीमापारबाट सृजित आतङ्कवादबाट कश्मीरका जनता पीडित छन् ।’

कार्यक्रममा नेशनल ल कलेजका कार्यकारी निर्देशक डा. रामकृष्ण तिमिल्सिना, नीति अनुसन्धान प्रतिष्ठानका निर्देशक डा. दीपककुमार अधिकारी लगायतले धारणा राखेका थिए ।

कार्यक्रममा भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्याय, राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव, समाजवादी पार्टीका सांसद सरिता गिरी, सो पार्टी उपाध्यक्ष हिसिला यमी प्रतिनिधिसभा सदस्य ह्रदयश त्रिपाठी, राजपा नेपालका महासचिवहरु चन्दा चौधरी, प्रदेश सांसद मनिष सुमन, नेकपाका नेता रामेश्वर राय यादव, भरत साह, रामकुमार शर्मा, विष्णु रिजाल लगायत पूर्व राजदूतहरुको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप