बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महँगी नियन्त्रण गर्न सरकार असफल

पुँजी पलायन हुनसक्ने विज्ञको चेतावनी
आइतबार, १२ असोज २०७६, १५ : ३८
आइतबार, १२ असोज २०७६

सरकारले महँगीलाई नियन्त्रणमा राख्ने बताइरहँदा चालु आर्थिक वर्षको पहिलो महिनाको महँगीले नै सरकारलाई सो दाबीलाई चुनौति दिएको छ । महंँगीकै कारण  स्थिति निकै खतरनाक हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

सरकारले चालु आर्थिक वर्ष (२०७६/०७७) मा महँगीलाई साढे ६ प्रतिशतभन्दा माथि जान नदिने लक्ष्य लिएको छ तर चालु आ.व.को पहिलो महिनामै झण्डै सात प्रतिशतले महँगी बढेको  छ । साउन महिनामा ६.९५ प्रतिशतले महँगी बढेको राष्ट्र बैङ्कको प्रतिवेदनमा छ । जबकी गत वर्षको साउनमा यस्तो महँगी ४.१९ प्रतिशत मात्र थियो ।

अर्थविद् डा. केशव आचार्य पहिलो महिनाको महँगीले सरकारका लागि चुनौती सृजना गरेको बताउँछन् । चालु आर्थिक वर्षको शुरुदेखि नै सरकारले ढुवानी सेवामा लगाएको मूल्य अभिवृद्धि कर, ढुवानीमा अनलाइन प्रविष्ठ गर्ने (भिसिटिएस) जस्ता विषयको कार्यान्वयनले महँगीमा थप चाप परेको आचार्यको भनाइ छ  ।

उनी भन्छन्, ‘हरेक प्रकारको सिन्डिकेट तोड्ने सरकारले भनेपनि कार्टेलिङ र विचौलिया झन्—झन् मौलाउँदै गयो । यातायातको सिन्डिकेट अझै हटेको छैन । तरकारीमा विचौलिया तोडिएन । बरु सरकारभन्दा हरेक आर्थिक क्रियाकलापमा विचौलिया शक्ति दह्रो भएर आएको छ ।’

तर, यता पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्री पहिलो महिनाको महँगीले पूरै वर्षलाई मूल्याङ्कन गर्न नमिल्ने बताउँछन् । यद्यपि, गत वर्षभन्दा अहिले झण्डै दोब्बर महँगी बढेको भने उनी स्विकार्छन् ।

वर्षाको समयले भारतबाट तरकारी आयातमा असहज हुने र नाकामा विषादी परिक्षण जस्ता कुराले महँगी बढ्न गएको उनको तर्क छ । कतिपय अवस्थामा हल्लाले पनि महँगी बढाउन सहयोग गरेको क्षेत्रीको भनाइ छ ।

उनले भने, ‘इरानमा अमेरीकाले हमला गर्दैछ भनेर तेल र ग्यास लुकाउन थालियो, सहुलियत दरमा आउने चिनी केही ढिला गरी आयो । यसले पनि महँगी बढ्यो ।’

बढ्दो महँगीले पुँजी पलायनको खतरा

छिमेकी देश भारतमा भन्दा नेपालमा मुद्रा स्फिती बढी हुँदा नेपालको पुँजी पलायन हुने खतरा रहेको आचार्यको तर्क छ  । भारतको भन्दा बढी महँगी नेपालमा हुनुपर्ने कुनै कारण नभएको बताउँदै उनले भने, ‘हाम्रोमा अधिकांश समान भारतबाट आयात हुन्छ त्यसकारण त्यहाँभन्दा यहाँ महँगीको दरमा धेरै फरक हुनुपर्ने कारण छैन ।

उनका अनुसार महँगी बढ्दै जाँदा नेपाली बैङ्कको पैसा झिकेर अन्तै लगानी गर्ने सम्भावना रहन्छ । औसतमा बैङ्कहरुले अहिले ३/४ प्रतिशत ब्याजदरमा निक्षेप राखिरहेका छन् । महँगीनै सात प्रतिशत नजिक हुँदा आम सर्वसाधारणको निक्षेप अवमूल्यन हुनेछ  । ‘एक वर्ष राखेको पैसा ब्याज थपिएर आउनुपर्नेमा उल्टो घटेर आयो भने कसले नेपाली बैङ्कमा पैसा राख्छ ?,’ भन्दै आचार्यले प्रश्न गरे ।

पछिल्लो समय भारतीय अर्थतन्त्रमा निकै चाप परेको खबरहरु आइरहेका छन् । धेरै वर्षपछि भारतको आर्थिक बृद्धिदर पाँच प्रतिशतमा झरेको छ । रिजर्भ बैङ्कको नाफाबाट बैङ्कहरुलाई पुँजीकरण गर्ने कुरा आइरहेको आचार्यले भने ।

पूर्व गर्भनर क्षेत्री भने विनिमयदर र अन्तर्राष्ट्रिय अर्थव्यवस्था सहज हुँदा नेपाली अर्थतन्त्रमा आत्तिनुपर्ने अवस्था नआउने तर महँगी नियन्त्रणमा सरकार अहिलेदेखि नै लाग्नुपर्ने तर्क गर्छन्् ।

चाडवाडले महँगी झन बढायो

आर्थिक वर्षको शुरुवातीमै महँगीले झड्का दिएको छ । त्यसमा पनि दसैँतिहारमा सामानहरुको अत्यधिक माग र सो अनुसारको आपूर्ति नभएको बहानामा व्यवसायीहरुले २–३ सय प्रतिशतसम्म महँगी बढाउने गरेका छन् । कतिपय अवस्थामा उपभोक्ता आफैपनि मूल्यमा सचेत नहुँदा महँगी गर्नेहरु सक्रिय हुने गरेको विज्ञहरुको भनाइ छ ।

उसो त आफू महँगीमा परेको भन्ने गुनासो एकदमै कम गर्ने उपभोक्ताको बानीले आफूलाई पनि अनुगमनमा असहज भइरहेको वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप