शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन युरोप उपसंयोजक उम्मेदवार तिमल्सिनाद्वारा ९ बुँदे घोषणापत्र सार्वजनिक

सोमबार, १३ असोज २०७६, १५ : २२
सोमबार, १३ असोज २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप उपसंयोजक पदका उम्मेदवार कृष्ण प्रसाद तिमल्सिनाले आफ्नो ९ बुँदे चुनावी प्रतिवद्धतापत्र (घोषणापत्र) सार्वजनिक गरेका छन् । 

आइतबार लण्डनमा पत्रकार सम्मेलन गरेर तिमल्सिनाले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । 

आफ्नो चुनावी प्रतिवद्धतामा तिमल्सिनाले युरोप क्षेत्रमा रहेका नेपाली समुदायका लागि विशेष राहतको कार्यक्रम स्वरुप बेलायतको राजधानी लण्डनमा एक विषेश च्यारिटी कार्यक्रमको आयोजना गरी  आपतकालीन राहत कोष स्थापनाको लागि पहिलो पहलकदमी लिने प्रतिवद्धता जनाएका छन् । 

यस्तै गैरआवासीय नेपाली संघले उठाउँदै आएका महत्त्वपूर्ण मुद्दाहरुलाई कार्यान्वन गर्न लागिपर्ने, संघको क्षेत्रीय बैठकहरुलाई अझ व्यवस्थित गर्ने,  खर्च विवरणलाई पारदर्शी बनाउने, युरोपमा हुर्किएका दोस्रो पुस्ता तथा युवाहरुको लागि नेपाली भाषा तथा संस्कृति सिकाउने र युरोप क्षेत्रमा नेपालको पर्यटन प्रवद्र्धन गर्न हरेक राष्ट्रिय समितिसँग समन्वयन गरी विशेष कार्यक्रम सञ्चालन  पनि उनले प्रतिवद्धता जनाएका छन् । 

सन् २००७ देखि एनआरएनमा आवद्ध तिमल्सिना एनआरएन केन्द्रीय सदस्य (२०१५–०१७) र नेपालमा लगानी प्रवद्र्धन, नीति तथा पोलिसी, मानवीय तथा परोपकारी कार्यदलका सदस्य समेत हुन् ।

बेलायत निवासी तिमल्सिना गैरआवासीय नेपाली संघ, युकेको सल्लाहकार (सन् २०१७), गैरआवासीय नेपाली संघ, युकेको अध्यक्षका प्रत्यासी (सन् २०१७–१९), गैरआवासीय नेपाली संघ, युकेका उपाध्यक्ष (सन् २०१३–१५), गैरआवासीय नेपाली संघ, युकेको कार्यसमिति सदस्य (सन् २०११–०१३) समेत रहिसकेका छन् । 

बेलायतमा समाजसेवी छवी बनाएका उनी सेफ एसोसियसन युकेका संस्थापक अध्यक्ष समेत हुन् । उनको यूके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ । 

आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय महासचिव डा बद्री केसी, केन्द्रीय सदस्य रामशरण सिम्खडा तथा एनआरएनका अरु अभियन्ताहरुको सहभागिता रहेको थियो । 
 

९ बुँदे प्रतिबद्धतापत्र
१. युरोप क्षेत्रमा रहेका नेपाली समुदायका लागि विशेष राहतको कार्यक्रम स्वरुप बेलायतको राजधानी लण्डनमा एक विषेश च्यारिटी कार्यक्रमको आयोजना गरी  आपतकालीन राहत कोष स्थापनाको लागि पहिलो पहलकदमी मैले गर्ने छु । 

२. गैरआवासीय नेपाली संघले उठाउँदै आएका महत्त्वपूर्ण मुद्दाहरु, नेपालमा सामूहिक लगानी कोष,  नागरिकताको निरन्तरता, भूपुगोर्खा लगायतका मुद्धाहरुलाई आगामी नयाँ कार्यसमितिको सहयोग सहकार्यमा  कार्यान्वन गर्न लागिपर्नेछु ।  

३. संघको क्षेत्रीय बैठकहरुलाई अझ व्यवस्थित गर्न आयोजक राष्ट्रबीच प्रतिस्पर्धी बनाइ प्रष्ट कार्ययोजना सहितको प्रपोजलका आधारमा आयोजक राष्ट्रको चयन गरिने छ ।

४. गैरआवासीय नेपाली संघका क्षेत्रीय बैठकमा भएको खर्च विवरणलाई पारदर्शी बनाइने छ ।

५. हाल युरोप क्षेत्रमा निस्क्रिय संघ तथा राष्ट्रिय समितिलाई निर्वाचित भएको ३ महिनाभित्र सक्रिय बनाउन पहल गर्नेछु ।

६. युरोपस्थित नेपाली समुदायमा हुर्किँदो दोस्रो पुस्ता तथा युवाहरुको लागि नेपाली भाषा तथा संस्कृति सिकाउने र युरोप क्षेत्रमा नेपालको पर्यटन प्रवद्र्धन गर्न हरेक राष्ट्रिय समितिसँग समन्वयन गरी विशेष कार्यक्रम सञ्चालन  गर्नेछु ।

७. युरोपियन युनियन लगायत यहाँका संघ संस्था तथा व्यवसायीलाई नेपालमा सहयोग तथा लगानी गर्न प्रेरित गर्न आवश्यक पहल गर्नेछु । 

८. युरोपमा रहेका राष्ट्रिय समन्वय परिषद्लाई थप सक्रिय बनाउन तथा अझ संस्थागत बनाउँदै सबैको एनआरएनए भन्ने भावनालाई जागृत गराउन लागिपर्नेछु ।

९ युरोपमा बसेका नेपालीहरुको साझा समस्याहरु पहिचान गरी त्यसको निराकरणमा केन्द्रसँगको समन्वयमा आवश्यक पहल गर्नेछु ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप